महिलाहरूको पूर्णता आमा बन्नुमा छ र आमाहरू परिवारका लागि आफ्नो इच्छाहरूको बली चढाउन पनि तयार हुन्छन् जस्ता भाष्यहरू स्थापित गरियो।
"बच्चा भएपछि त महिलाको जिन्दगी नै सकिन्छ। उनीहरू हरेक कुरामा पछि पर्छन्। त्यसै त महिलाहरू अगाडि बढ्न निकै कठिन छ, त्यही माथि बच्चा भएपछि त सोच्नै परेन। एउटा बच्चा हुर्काउँदैमा पाँच वर्ष जान्छ। करियर त सक्कियो।" आम रूपमा नयाँ पुस्ताका आमाले सामना गरिराख्ने प्रश्न हुन् यी, अझ विशेषतः गरिखाने आमाहरूको सन्दर्भमा। हिजो हाम्रा आमाहरूको सन्दर्भमा त यी प्रश्न समेत उठ्थेनन्। जे छ, त्यसलाई नै आमाहरूको भाग्य र भोग्यको विषय बनाइन्थ्यो। र, आज पनि ठाउँ सापेक्ष यसको निरन्तरता त छँदैछ।
अझ राजनीति नै गर्ने केही परिपक्व र समकालीन साथीहरूले पनि लगभग यस्तै यस्तै बुझाई राखेको पाइयो। "विवाहपछि महिलाको जिन्दगी सकियो, बच्चा भएपछि त राजनीतिमा फर्किन हम्मेहम्मे। धेरै गाह्रो छ। महिलाहरू बच्चा भएपछि नेतृत्व तहमा आउनै सक्दैनन्।" तर अचम्मको कुरा त के भने माथिका कुनै पनि प्रश्न पुरुष अर्थात् बच्चाको बाबुलाई निकै कम सोधिन्छन्। सोध्दै सोधिन्न भन्दा पनि फरक नपर्ला। अब यसमा प्रतिप्रश्न गरौँ– किन यस्तो भयो? सबै कुरामा जस्तै यसको पनि भौतिक कारण छ। एउटा त्यस्तो कारण, जसले विगत आठ हजार वर्षयता समग्र महिलालाई, तमाम आमालाई दासताको जन्जिरमा बाँधिरह्यो र आधुनिक भनिने यस युगमा पनि नयाँ र झन् जटिल रूप'मा यसले आफूलाई अपग्रेड गराइ नै राख्यो। यो जन्जिर हो पित्तृसत्ताको जन्जिर।
पहिलो कुरा त पितृसत्तात्मक सामाजिक संरचनाभित्र यस्ता प्रश्न आउनु अस्वाभाविक होइन। पितृसत्ता आफै एउटा चिन्तन पद्धति हो। महिला राजनीतिमा आउन निकै नै चुनौतीपूर्ण छ, तिनले घर भान्सा सम्हाल्ने हो, ती भावुक हुन्छन्, नेतृत्व गर्न सक्दैनन्; त्यस कारण, राजनीति महिलाहरूका लागि होइन भन्ने चिन्तन बोकेको समाज हो यो। यस्तोमा, महिलाले बच्चा जन्माएपछि आफ्नो शारीरिक र मानसिक रूपमा आएका परिवर्तनको व्यवस्थापन, परिवार र आर्थिक-राजनीतिक सन्तुलन मिलाउँदै अगाडि बढ्ने कुरा निकै सकसपूर्ण नै हुन्छ।
तर, यो सकस कसरी उत्पन्न भयो? कसले उत्पन्न गर्यो? के साँच्चिकै प्रकृतिका कारण नै यस्तो भएको हो? पक्कै होइन। शारीरिक-जैविक बनावटलाई र सामाजिक लिंग (जेन्डर) को कुरालाई एकै ठाउँमा गोलमटोल गरिदिएपछि महिलालाई प्रकृतिले नै यस्तै बनाइदिएको छ भन्ने भाष्य स्थापना गर्न पितृसत्तात्मक संरचना सफल भएको हो।
वास्तवमा शारीरिक वा जैविक बनावटको आधारमा महिलासँग स्तन, पाठेघर र योनी हुन्छ। पुरुषसँग अण्डग्रन्थी र लिंग हुन्छ। यीबाहेक शारीरिक बनोटमा लगभग धेरैजसो समानता नै भेटिन्छ। र, यो नै प्राकृतिक लिंग हो। अब कुरा गरौं जेन्डरको। यो सामाजिक परिभाषा हो। सहज ढंगले बुझ्दा महिला र पुरुष माथिको सामाजिक परिभाषा नै जेन्डर हो।
पितृसत्तात्मक चिन्तन प्रणालीबाट निर्देशित सामाजिक परिभाषाले सन्तानोत्पादन र हेरचाहको जिम्मेवारी महिलाको मात्रै निजी विषयझैं गरी उनीहरूको काँधमा थोपरिदिएपछि स्वाभाविक रूपमा महिला एक्लैलाई सबै कुरा सन्तुलनमा लैजान र व्यवस्थापन गर्न त सकस हुने नै भो।
मातृशोषण र पुँजीवाद
आदिम युगमा महिलाको श्रम र मातृत्वलाई उच्च सम्मान दिइन्थ्यो। महिलासँगै पुरुष पनि आर्थिक-सामाजिक रूपमा स्वतन्त्र थिए। सम्बन्धहरू एक अर्काको स्वतन्त्रता र सम्मानमा आधारित थिए। प्रेममा जोडिने र प्रेम नरहेको अवस्थामा छुट्टिने अधिकारको प्रयोग हुन्थ्यो। महिला पुरुष दुवैको सहकार्यमा समाज चल्थ्यो र समाज महिलाहरूको विशेष भूमिकाको आधारमा मातृ प्रधान पनि थियो। सामूहिक रूपमा गर्भावस्था र सुत्केरी अवस्थामा पुरुषहरूले पनि आफ्नो भूमिका निर्वाह गर्थे र आमाहरूको सन्तान जन्माउने र हुर्काउने विषयलाई पनि विशेष भूमिकाको श्रमको रूपमा मूल्यांकन गरिन्थ्यो। समाज शोषणरहित सामाजिक सहकार्यको रूपमा चलायमान थियो।
प्रकृतिबाट उपभोग मात्रै गरेर बाँचेको आदिम समाज बिस्तारै पशुपालन र कृषि उत्पादनमा सरिक हुन थाल्यो। उत्पादक शक्ति (श्रम र औजार) को विकाससँगै उत्पादनमा पनि वृद्धि आयो र उत्पादनले उपभोगसँगै सञ्चितिको पनि माग गर्यो। त्यो सञ्चित सम्पत्ति कसको हुने भन्ने अन्तर्विरोधबाट निजी सम्पत्तिको उत्पत्ति भयो। यसरी निजी सम्पत्तिको विकास र त्यसमा आधारित परिवारको संस्थागत स्वरूप र पितृसत्तात्मक संरचनाको उदयसँगै महिलाको श्रम शोषण तीव्र बन्यो, महिलालाई घरभित्र र घर वरपर सीमित गरियो। उनीहरूको सामाजिक स्थान घट्दै गयो र सन्तानको विषयलाई उनीहरूमा मात्र केन्द्रीकृत गरियो।
सन्तान हेरचाहको विषयलाई महिलाको मात्रै जिम्मेवारीमा सीमित गरेपछि उनीहरूलाई त्यागको मूर्तिको रूपमा उभ्याउँदै तिनको एउटा छवि निर्माण गरियो, जसले आमाहरूलाई महानताको पगरी गुथ्दै निरन्तर दासताको जीवन बाँच्न बाध्य बनायो। सँगै, आमाहरू परिवारका लागि आफ्नो इच्छाहरूको बली चढाउन पनि तयार हुन्छन्, महिलाहरूको पूर्णता आमा बन्नुमा छजस्ता भाष्यहरू स्थापित गरियो। त्यसमाथि, थप धार्मिक र अनुलङ्घनीय नैतिक सीमा रेखा बनाएर महिलाहरू र आमाहरूको शोषणलाई थप मजबुत बनाउने काम भयो। यो सामन्तवादी युगको कुरा थियो।
सामन्तवाद भन्दा प्रगतिशील आर्थिक-सामाजिक प्रणालीको रूपमा उदाएको पुँजीवादले पनि यही शोषणलाई थप निरन्तरता दियो, पहिलाभन्दा झनै भयानक तर छद्म रूपले। सामन्तवादले निर्माण गरेको भाष्य भजाउँदै पुँजीवादले पनि महिलाहरूको नि:शुल्क श्रमको भरपुर उपयोग गर्यो। नाफाको लागि उदाएको पुँजीवादले नाफाको लागि सबै हद पार गर्यो, महिलाको मालकरण गर्यो। घरभित्र थुनिएका महिलालाई बाहिरी दुनियाँमा ल्याउने काम त उसले गर्यो, तर उल्टै दोहोरो चर्को श्रम शोषणमा कज्यायो। घरमा बच्चा हुर्काउने, परिवार हेर्ने, सबै घरायसी कामको बोझसँगै श्रम बजारमा पनि महिलालाई दौडायो पुँजीवादले। श्रम बजारका लागि चाहिने थप जनशक्ति (सन्तानोत्पादन र हेरचाह) निर्माणमा एकोहोरो जिम्मेवारी लिन लगाइएकै थियो, तिनै महिला अब श्रम बजार चहार्नुपर्ने अवस्था आइपर्यो।
पहिलो त, श्रम बजारमै पनि आमाहरूको अतिरिक्त श्रम (पुँजीवादले गर्ने श्रमिकहरूको अतिरिक्त श्रम शोषण नै पुँजीपतिहरूको नाफाको स्रोत हो) को शोषण हुन्थ्यो। दोस्रो, घरभित्र गरिने घरायसी काम र सन्तान/श्रमशक्ति (रिप्रडक्टिभ लेबर, जसविना पुँजीवाद चल्न सक्दैन) को उत्पादनलाई नि:शुल्क श्रमको रूपमा भरपुर उपयोग गर्यो। यति मात्र कहाँ हो र? जुन श्रम बजारमा लोग्ने मान्छेहरू (पुरुषहरू) सरिक हुन्थे, त्यसको सम्पूर्ण चाँजोपाँजो पनि घरायसी र पारिवारिक रूपमा स्वास्नी मान्छेहरूले लिएपछि मात्र सम्भव हुन्थ्यो/हुने गरेको छ। यसरी पुँजीवादले महिला र आमाको दोहोरो/तेहोरो श्रम शोषण गर्ने गरेको बारे हामी स्पष्ट हुन सक्छौँ। यो त आर्थिक शोषणको मात्र कुरा भयो। सामाजिक, सांस्कृतिक र राजनीतिक तवरले पनि महिलामाथिको उत्पीडन निरन्तर कायमै रह्यो। सामन्तवादमा भन्दा रूपमा केही फरक तर सारमा झन् भयानक खालको तरिकाले यसरी महिलामाथि उत्पीडन जारी रह्यो।
सिल्भिया फेडेरिची आफ्नो पुस्तक कालिबान एन्ड विच (२००४) मा उल्लेख गर्छिन् कि प्रारम्भिक पूँजीवादी संक्रमणको समयमा महिलामाथि मातृत्वको नाममा नियन्त्रण कसिएको थियो। बच्चा जन्माउने शरीर भएका नाताले महिला निःशुल्क श्रमिक बनाइए, जसले मजदुर वर्ग पुनरुत्पादन गर्यो– तर यसको कुनै मूल्यांकन गरिएन।
त्यस्तै, महिलाको दोहोरो शोषण कसरी हुन्छ भन्ने विषयलाई जोड दिँदै मार्क्सवादी लेखक लिज भोगलले मार्क्सिजम् एन्ड द अप्रेसन अफ् उमन, १९८३ मा आफ्नो तर्क अगाडि सार्छिन्, "महिलाको श्रम घरभित्र भए पनि त्यो पुँजीवादको लागि अत्यावश्यक छ, किनकि यसले श्रमिक वर्गको पुनर्निर्माण गर्छ। तर यो श्रम अदृश्य बनाइन्छ, जसले महिलाको दोहोरो शोषण गर्छ। पहिलो, लिंगको आधारमा दोस्रो, श्रमको मूल्य नआएर।
समाजवादी चिन्तक कार्ल मार्क्सले कुनै पनि समाजको प्रगति त्यहाँको महिलाको स्वतन्त्रताको स्थिति हेरेर थाहा हुन्छ भने। अब हामी सहजै अनुमान लगाउन सक्छौँ कि हाम्रो समाज कहाँ छ र त्यसमा महिलाहरूको स्थान कहाँ?
यसरी सामाजिक रूपमा महिलाहरू असुरक्षित भए। मान्छेभित्रै 'सेकेन्ड सेक्स'का रूपमा व्यवहार गर्न थालियो। शारीरिक रूपमा कमजोर र मानसिक रूपमा भावुकको रूपमा चित्रण गरियो। सांस्कृतिक रूपमा महिलालाई उपभोक्तावाद र धार्मिक रुढीवादमा फसाइयो। कृत्रिम सुन्दरताको लेपन लगाएर वस्तुकरण (मालकरण) गरियो। यसरी सामाजिक, आर्थिक र सांस्कृतिक सबै तवरले सीमान्तमा पारिएपछि राजनीतिक सक्रियताको विषय पनि ओझेलमा पर्ने नै भयो। आज पनि निर्णय गर्ने सामाजिक र सिङ्गो राजनीतिमा महिलाको उपस्थिति निकै नै कम छ। ठुलो कष्टले पुगेकाहरूको यात्रा पनि निश्चय नै अति चुनौतीपूर्ण छ।
यस सन्दर्भमा, राजनीतिक रूपमा उठाउनुपर्ने अर्को गम्भीर विषय यो पनि हो कि हिजोको राजनीतिले मातृत्व पनि राजनीतिक जीवनकै एउटा अभिन्न हिस्सा हो भन्ने कुरा कहिल्यै स्विकारेन, जसरी पुँजीवादले आमाको श्रमको मूल्यांकन गरेन। यसले तमाम आमाको गर्भावस्था र शिशु स्याहारको अवस्थालाई आनन्दमयी हुनबाट रोक्दै थप निराशा थप्ने काम गरेको छ। र, ठीक यही हीनताबोधले आमाहरूलाई आफ्नै मातृत्वको कारण राजनीतिक जीवनमा दखल पुगेको हो कि भनेर सोच्न बाध्य बनाइन्छ। समाजमा नयाँ पुस्ता जन्माउने, मानव अस्तित्व जोगाउने, तिनको स्याहार/उचित पालनपोषण गर्ने, असल शिक्षाबाट प्रशिक्षित गर्ने, भाषा-संस्कृतिको ज्ञान दिने कुरा हाम्रो सामाजिक- राजनीतिक पर्यावरणभन्दा परको विषय हो र? होइन, यी त झन् सामाजिक र राजनीतिक रूपमा पनि विशेष भूमिकाको रूपमा दर्ज हुनुपर्ने अत्यावश्यक विषय हुन्।
…
फेरि उही प्रश्नमै फर्कौं। के आमाहरूको लागि राजनीतिक सक्रियता सम्भव छ? वा नयाँ पुस्ताका आमाहरूको भविष्य उनीहरूले सोचेझैं र हिजोको आमाको भन्दा फरक सम्भव छ? शोषणै शोषणले जकडिएको आर्थिक-सामाजिक संरचना भित्रबाट साँघुरिएर सोच्दा त्यो सम्भव छैन। यही संरचनाभित्र बाँधिने गरी सम्बन्धहरूको निर्माण गरेको अवस्थामा सो सम्भव छैन। तर पितृसत्ता र सबै खाले उत्पीडनहरू नामेट पार्ने छुट्टै नयाँ आर्थिक-सामाजिक संरचनाको थालनी गर्न सक्दा त्यो सम्भव छ। सम्बन्धहरू नयाँ संरचनामा आधारित हुँदा त्यस्तो सम्भव छ।
शोषणरहित, सामुदायिक भावना र सामुदायिक स्वामित्वमा आधारित आर्थिक सामाजिक संरचनामा त्यस्तो सम्भावना हुन्छ। प्रचुर उत्पादन र समान न्यायिक वितरण आजको विज्ञान प्रविधिको विकासका कारण पनि सम्भव छ। यस्तो संरचनामा सम्बन्धहरू सम्पत्ति सम्बन्धको रूपमा नभई प्रेम र स्वतन्त्रतामा आधारित हुन्छन्। म होइन, हामी भावना मुख्य र केन्द्रमा हुन्छ। समानता, सहकार्य र सामूहिकतामा समाज सञ्चालन हुन्छ, ठीक आदिम समाजमा जस्तै। निजी सम्पत्तिको उदयसँगै अस्तित्वमा ल्याइएको पितृसत्ताको अन्त्य सामुदायिकीकरणले गर्ने निजी सम्पत्तिको अन्त्यसँगै सुरु हुन्छ।
कमजोर उत्पादक शक्तिको कारण आदिम समाजमा उत्पादन सम्बन्धका आयाम त्यति विकसित थिएनन्। परिष्कृत हुँदै उत्पादक शक्ति आजको दिन सम्म निकै शक्तिशाली बन्न आइपुगेको छ। मानव समाज भौतिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र चेतनाको हिसाबले पनि निकै विकसित हुँदै छ। त्यसो हुँदा, अबको समाज समानता/समता, सहकार्य र सामूहिकतामा मात्र आधारित नभई समृद्ध पनि हुनेछ। यद्यपि, त्यहाँसम्म पुग्न मानव समाजले निकै लामो संघर्ष र संक्रमणको अवधि पार गर्नुपर्ने हुन्छ।
त्यसो भए प्रश्न आउँछ–आज के गर्ने? अहिले के गर्ने? त्यहाँसम्म पुग्ने यात्राका पाइला आजैबाट चाल्ने। नयाँ आर्थिक-सामाजिक संरचना पुरानो सत्ताको आडमा बन्न सक्दैन। यो मूलतः सत्तासँग जोडिएको प्रश्न हो। सबै उत्पीडनको अन्त्य चाहने सत्ताको निर्माण तत्कालै सम्भव छैन। तर, शोषणमूलक सत्ताको समानान्तरमा आजैदेखि उत्पीडन अन्त्य चाहने सत्ताको अभ्यासको थालनी गर्न सकिन्छ। यसको विकाससँगै एक दिन यस्तो दिन आउनेछ, जुन दिन रणनीतिक सन्तुलनको अवस्था हुनेछ। पुरानो सत्ताको ध्वंस गर्दै पूर्ण रूपमा नयाँ सत्ता स्थापित हुनेछ।
समुदाय निर्णायक हुने सत्ता हो समानान्तर सत्ता। यो एउटा यस्तो सामाजिक-आर्थिक संरचना हो, जहाँ समुदाय नै उत्पादक र समुदाय नै उपभोक्ता हुन्छ। उत्पादन, वितरण, विनिमय र उपभोग उत्पादन प्रणालीको यी चारै आयाममा समुदाय नै सञ्चालक हुन्छ। यसले पुँजीवादले थिलथिलो बनाएको मानव समाजलाई पुनर्जीवन दिनेछ।
सांस्कृतिक रूपमा यसले वैज्ञानिक र भौतिकवादी संस्कृतिको अवलम्बन गर्दै जान्छ। उत्पीडनमा आधारित सम्पूर्ण कला, साहित्य र संस्कृतिसँग प्रक्रियागत रूपमा सम्बन्ध विच्छेद गर्दै सम्मान, यथार्थपरक र समानतामा आधारित कला, साहित्य र संस्कृतिको विकास गर्छ। सबै खाले रुढीवाद र अन्धविश्वासको अन्त्य गर्दै अघि बढ्छ।
सामाजिक रूपमा सबै खाले उत्पीडन र विभेदको विरुद्धमा उभिन्छ समानान्तर सत्ता। विविधतामा एकता कायम राख्दै जाति र समुदायहरूको अधिकार र पहिचानको संरक्षण र सम्वर्द्वन गर्छ। सामूहिक हितलाई केन्द्रमा राख्दै व्यक्ति हितको संरक्षण गर्छ। समानता र स्वतन्त्रतामा आधारित सामाजिक नियमहरूको निर्माण र नियमन गर्छ।
राजनीतिक रूपमा सबैको पहुँचको सुनिश्चितता कायम गराउँछ। प्रत्यक्ष जनवादको अभ्यास हुन्छ। प्रतिनिधिले निर्णय गर्ने होइन कि सरोकारवाला आफै निर्णय गर्न पाउँछन् । संगठनको मातहत व्यक्ति र विधि र विधानको मातहत संगठन रहन्छ। उत्पीडितहरू राजनीतिमा आउने मात्रै होइन, नेतृत्व नै गर्ने गरी संरचनाको निर्माण हुन्छ।
यसमा मातृत्व र महिलाको सवाल
महिलाहरू राजनीतिमा आउनुपर्छ, सहभागी हुनुपर्छ मात्र नभनेर यसले नेतृत्वमा महिला नआई अबको आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने कुराको समानान्तर सत्ताले वकालत गर्छ। आत्मनिर्भर अर्थतन्त्रसहित सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा समानान्तर अभ्यासले महिलाहरू राजनीतिमा आउने संरचनाको निर्माण हुन्छ। सम्बन्धहरू स्वतन्त्रता, समानता र प्रेममा आधारित हुन्छ। सम्पत्ति सम्बन्धमा आधारित विवाह बन्धनमा होइन, सहकार्य, सम्मान, स्वतन्त्रता र समानतामा आधारित सह जीवनको अभ्यास हुन्छ। जहाँ महिला पुरुष दुबैलाई जोडिने र छुट्टिने अधिकार सुरक्षित हुन्छ।
मातृत्वको विषय पनि राजनीतिक विषय बन्छ। यसको विशेष भूमिकाको रूपमा मूल्याङ्कन हुन्छ। राजनीतिक संगठनले पनि यसको अभिभावकत्व ग्रहण गर्दै यसलाई अधिकतम सामुहिकीरण गराउँछ। यसले आमाहरूमा आत्मविश्वास र हौसला बढाउँछ। बाबुहरू पनि सन्तानोत्पादन र स्याहारसुसारमा अधिकतम रूपमा आफ्नो पितृत्वको दायित्व बहन गर्छन्। बाबुहरू आमाहरूको प्रसव वेदनामा पनि सँगै हुनेछन्। मातृत्व- पितृत्व दुवै राजनीतिक जीवनको हिस्सा बन्ने कुराले उनीहरूलाई राजनीतिबाट पर छौं भन्ने अनुभूति नै हुन जाँदैन। यसले बच्चामा पनि असल संस्कार र संस्कृतिको विकास गराउने परिस्थितिको निर्माण हुन्छ।
प्रसूतिजन्य केही स्वाभाविक चरण पार गर्नेबित्तिकै शिशुको आमा पुनः सांगठनिक गतिविधिमा पनि सक्रिय हुन सक्छिन्। बच्चाको शिक्षाको जिम्मा सामुदायिक शिक्षालयले र स्वास्थ्यको जिम्मा सामुदायिक स्वास्थ्य संस्थाले गर्छ। गर्भवती हुँदा र सुत्केरी अवस्थामा आमाको आर्थिक भरथेग उ कार्यरत सामुदायिक इकाई र अन्य सामुदायिक संरचनाले गर्नेछन्। यसरी आमाहरूले आफूलाई सबै आयामबाट सुरक्षित महसुस गर्न सक्नेछन् र आफू र आफ्नो भविष्यप्रति निश्चिन्त हुन सक्छन्।
सैद्धान्तिक धरातलमा कटिबद्ध बलियो संगठनकै बलमा यी सबै प्रक्रियागत रूपमा पूरा हुँदै जानेछ। यो प्रक्रियाले पुराना उत्पीडनकारी संरचना (भौतिक संरचना होइन) भत्काउँदै नयाँ संरचनाहरूको निर्माण गर्दै जानेछ। निरन्तरको यो प्रक्रियाले एउटा यस्तो परिस्थितिको निर्माण हुनेछ जहाँ पुरानो सत्ता निर्णायक रूपमा सम्पूर्ण तवरले ध्वस्त हुन्छ र हामीले चाहेको नयाँ सत्ता पूर्ण रूपमा स्थापित हुनेछ। यो मुक्तिको यात्रामा सँगसँगै अघि बढौँ। न्यायिक र समतामूलक समाज निर्माणको ऐतिहासिक साक्षी बनौँ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्। लेखक वैज्ञानिक समाजवादी पार्टीसँग सम्बद्ध छिन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
