'कोभिड–१९ को जोखिम बढ्न सक्छ, सजग रहनू'

छिमेकी देश भारत र चीनमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दै छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्।

काठमाडौँ– नेपाल सरकारका दुई मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपालमा कोभिड– १९ को असर बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै सचेत रहन आग्रह गरेका छन्। गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै छिमेकी देश भारत र चीनमा कोभिड-१९ को संक्रमण बढ्दै गएकोले नेपालमा पनि त्यस्तो असर देखिन सक्नेतर्फ सचेत गराएका हुन्।

गृह मन्त्रालयले छिमेकी राष्ट्रलगायत केही देशहरूमा संक्रमणका नयाँ स्वरूप (भेरिअन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ।

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।

सार्वजनिक स्थलमा मास्क लगाउन आग्रह
त्यस्तै, स्वास्थ्य मन्त्रालयले सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन र भौतिक दूरीसमेत कायम गर्न अनुरोध गरेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा. सञ्जयकुमार ठाकुर जारी गरेको विज्ञप्तिमा छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरिअन्ट बीएफ–७ को संक्रमण बढ्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

स्यानिटाइजरको प्रयोग गर्न, नियमित रूपमा साबुन-पानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न र कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ। नेपालमा बीएफ–७ भेरिअन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।