अमेरिकी पूर्वराष्ट्रपति बाइडेन प्रोस्टेट क्यान्सरबाट पीडित

८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका हुन्।

काठमाडाैँ–  अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेन उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका छन्। ८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाको बारेमा उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी प्रोस्टेट क्यान्सरको 'आक्रामक रूप'बाट पीडित भएका हुन्। यो रोग उनको हड्डीसम्म फैलिएको छ।

बाइडेनले पिसाबमा समस्या भएको गुनासो गरेपछि डाक्टरहरूले परीक्षण गर्नेक्रममा क्यान्सर भएको पत्ता लागेको हो। प्रोस्टेट नोड्युल पत्ता लागेपछि बाइडेनले धेरै मेडिकल परीक्षणहरू गराए, जुन उच्चग्रेड क्यान्सरको रूपमा पुष्टि भयो। विज्ञहरूका अनुसार यस्तो अवस्थामा हार्मोन थेरापी, केमोथेरापी र केही अवस्थामा हड्डी लक्षित उपचार प्रभावकारी साबित हुन सक्छ।

उनको स्वास्थ्य सम्बन्धमा जारी विज्ञप्तिमा भनिएको छ, "यद्यपि यो रोगको बढी आक्रामक रूप हो, यो हर्मोन संवेदनशील देखिन्छ, जसले गर्दा यसको प्रभावकारी उपचार सम्भव भएको छ।"  उनको परिवारले उपचार विधिहरूको बारेमा डाक्टरहरूसँग परामर्श गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको स्वास्थ्यको बारेमा जानकारी पाएपछि ट्रुथ सोसलमा लेखेका छन्, "मेलानिया र म जो बाइडेनको स्वास्थ्य परीक्षणको बारेमा सुनेर दुःखी छौँ।" ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

यस्तै, बाइडेनकी सहयोगी तथा उनको कार्यकालमा उपराष्ट्रपति रहेकी कमला ह्यारिसले पनि बाइडेनलाई समर्थन व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले एक्समा लेखेकी छन्, "उहाँ एक योद्धा हुनुहुन्छ र मलाई थाहा छ उहाँले यो चुनौतीको सामना उही शक्ति, दृढ संकल्प र आशावादका साथ गर्नुहुनेछ जुन सधैं उहाँको जीवन र नेतृत्वलाई परिभाषित गर्दै आएको छ। हामी उहाँको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।"