परिवर्तनको जगमा उल्लासको पर्व बनेको क्रिसमस, धार्मिक सहिष्णुताको उदाहरण बन्दै

कुनैबेला इसाई धर्मावलम्बीको मात्र चाड मानिने क्रिसमस अहिले नेपालीको साझा पर्वजस्तै बन्न थालेको छ। यसमा मुलुकको राजनीतिक परिवर्तन र भूमण्डलीकरण दुवैले काम गरेका छन्।

काठमाडौँ– स–साना चिटिक्क परेका क्रिसमस ट्री, दीपावलीमा जस्तै रङ्गीचङ्गी र झिलिमिली बत्तीले साना किराना पसलदेखि डिपार्टमेन्ट स्टोर सजिएका छन्। विद्यालयहरूमा ‘मेरी क्रिसमस’ले सिँगारिएका केक, रातो–सेतो पहिरनमा स–साना बालबालिकालाई लगाइदिने पहिरन, गिफ्टका स–साना बाकसले डिसेम्बर २५ अर्थात् ‘क्रिसमस डे’ नजिकिएको संकेत गर्छन्।

विश्वभरका इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व हो, क्रिसमस डे। विश्व शान्तिका प्रतीक मानिने यशु ख्रिस्टको जन्मदिनको अवसरमा क्रिसमस मनाउने गरिन्छ। संसारभर मनाइने यो पर्वले नेपाली समाजमा पनि केही दशकयता राम्रै स्थान बनाएको छ।

तीन–चार दशक अघिसम्म केही इसाई धर्मावलम्बीहरूले चर्चभित्र सीमित रहेर मनाउँदै आएको क्रिसमसको खास रौनक एक दशक अघिसम्म पनि पोखराको लेकसाइड, असनका लोकल बजार, ठमेल, झम्सिखेल लगायतका पर्यटकीय ‘जक्सन’मा सीमित थियो। अहिले भने क्रिसमस नेपालीको ठूलो संख्या, त्यसमा पनि युवा पुस्ताको हर्ष र उल्लासको अवसर बनेको छ।

राजनीतिक परिवर्तनले उदार बनाएको समाज
नेपालमा इसाई धर्मको इतिहास झन्डै ४०० वर्ष पुरानो भएको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सीबी गहतराज बताउँछन्।

“२०४६ साल अघिसम्म चर्चभित्रै मनाइएको क्रिसमस २०४६ पछिको राजनीतिक परिवर्तनसँगै खुल्ला रूपमा मनाउन थालियो”, गहतराजले भने, “२०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र पुनर्बहाली भयो। हामीले पनि आफ्नो पर्वलाई खुला रूपमा मनाउनुपर्छ भन्ने मतसहित यस्तो मान्यता बनायौँ।” 

राजनीतिक परिवर्तनकै झन् ठूलो स्वरूप मानिने २०६२/६३ को जनआन्दोलनको बलमा हिन्दुराज्य रहेको देशलाई धर्मनिरपेक्ष घोषणा गरियो। योसँगै, क्रिसमसलाई पनि राष्ट्रिय पर्वको मान्यतासहित सार्वजनिक बिदा दिने अभ्यास शुरू भयो।

क्रिसमसका अवसरमा तस्वीर खिचाउँदै। तस्वीर: अमित मचामसी/उकालो

“धर्मनिरपेक्ष भएसँगै नेपाल सरहदभित्रका हरेक जाति, वर्ग, लिङ्ग र धर्मको लागि देश साझा बन्यो। त्यो अवस्थामा क्रिसमसको रौनक अझ थपियो। हामीले आफ्नो पर्वलाई क्रिसमस ट्री सजाएर, सान्टा क्लस लगायतका माध्यमबाट अझ खुलेर अभिव्यक्त गर्दै मनाउन पायौँ”, गहतराज भन्छन्।

झन्डै एक दशक सार्वजनिक बिदाको रूपमा मान्यता पाएको क्रिसमसलाई २०७२ चैत १२ गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्बन्धित धर्मावलम्बीहरूको लागि मात्र बिदा दिने निर्णय गरेको थियो। त्योसँगै ख्रीस्टियन महासंघले यस्तो निर्णय धर्मनिरपेक्षताको विरुद्ध रहेको भनेर सरकारको ध्यानाकर्षण गरायो। अनि २०७३ पुस ९ गते पुनः क्रिसमसमा सबैको लागि सार्वजनिक बिदाको घोषणा गरियो। राष्ट्रिय पर्वको मान्यता पाएकाले पनि क्रिसमस इसाई धर्मावलम्बीसँग अरूको पनि साझा पर्वजस्तै बन्न पुगेको छ।

केन्द्रीय तथ्यांक विभागको २०६८ सालको आँकडा अनुसार नेपालमा प्रमुख १० धर्म  मान्नेहरू छन्। यी १० धर्मावलम्बीहरूको आफै मान्यता, तरिका र आस्था छन्। यति हुँदाहुँदै पनि उच्च धार्मिक सद्भाव कायम राख्नुपर्छ भन्ने भावना सबै धर्मावलम्बीहरूमा रहेको गहतराज बताउँछन्।

उनी भन्छन्, “परमेश्वर सारा मानव जातिको मुक्तिको लागि जन्मनु भएको कारण यस पर्वलाई  मुक्ति, शान्ति र प्रेमको दिवसको रूपमा लिने गरिन्छ। धर्मावलम्बीहरूमाझ क्रिसमसलाई महिना दिन अघिदेखि नै विभिन्न कार्यक्रम, सभा, प्रार्थना, जुलुस तथा क्यारोल खेलेर मनाइने गरेको उनी बताउँछन्।

यद्यपि, क्रिसमसको महत्त्व र अर्थ थाहा नभएकाहरूले पनि यस पर्वलाई हर्ष, उल्लासको रूपमा मनाउन थालेका छन्। यसलाई उनी धार्मिक सहिष्णुताको अनुपम उदाहरण मान्छन्। खुसी र उत्सवको कुनै पनि मापक नहुने र जसले जसरी जुन अवस्था र तरिकाले पनि मनाउन सक्ने उनी बताउँछन्।

गहतराजको दाबीमा देशभर करिब ३० लाख इसाई धर्मावलम्बी छन्, १५ हजार बढी चर्च छन्। इसाई धर्मावलम्बी नभए पनि शहरिया युवापुस्ताले क्रिसमसलाई उल्लास साट्ने पर्वका रूपमा अँगालिसकेको देखिन्छ। शनिबार साँझदेखि गुलजार देखिएका पर्यटकीय केन्द्रहरूमा पुगेका युवायुवती र किशोर किशोरीको उत्साहमा कुनै धर्मावलम्बी विशेषको पर्वभन्दा साझा उत्सवको झल्को ज्यादा देखिन्छ। यसले पनि समाजमा सहिष्णुता बलियो बन्दै गएको देखाउँछ।

धर्मनिरपेक्षता र भूमण्डलीकरणको प्रभाव
शासकका स्वार्थहरू समय–समयमा अपवादका रूपमा प्रकट भए पनि नेपाली समाज पहिलेदेखि नै धार्मिक रूपमा सहिष्णु भनेर चिनिन्छ। छिटपुट रूपमा कहिलेकाहीँ धार्मिक सद्भावमा असर पार्ने गतिविधि देखापरे पनि तिनले समाजलाई नै विभाजनमा लैजाने काम गर्न सकेनन्। मानवशास्त्री मधुसूदन पन्त उदारवादको विस्तारले पनि विभिन्न धर्मावलम्बीका पर्व एक निश्चित धर्मावलम्बीमा मात्र सीमित नभएको बताउँछन्। भूमण्डलीकरणले पनि यसमा थप बल पुर्‍याएको पन्तको बुझाइ छ।

तस्वीर: अमित मचामसी/उकालो

उनका अनुसार, इसाई धर्मावलम्बी ‘हेप्पी दसैँ, हेप्पी तिहार’ भन्दै हिन्दुहरूका चाडपर्वको रौनकमा सामेल हुन्छन्। हिन्दु र बौद्ध धर्मावलम्बीका त चाडपर्व नै छुट्याउनु गाह्रो छ। हिन्दु धर्मावलम्बीहरू पनि इसाई र इस्लाम धर्म मान्नेहरूको चाडपर्वमा उसैगरी घुलमिल हुँदै गएका छन्।

चाडपर्वको रौनकसँग अर्को कुरा पनि जोडिएको छ। व्यक्तिको खर्च गर्ने क्षमता बढ्नु पनि यस्ता चाडपर्व साझा हुनुको अर्को बलियो पक्ष भएको मानवशास्त्री पन्तको तर्क छ। “दूरदराजका बस्ती र ग्रामीण परिवेश भन्दा शहरी क्षेत्रमा यस्ता चाडपर्वको रौनक बढ्दो छ”, पन्त भन्छन्, “खर्च गर्ने क्षमता बढेसँगै क्रिसमस लगायतका पर्वमा घुमघाम गर्ने, बाहिर खानपिन गर्ने क्रम पनि बढेको छ। यसले पनि पर्वको रौनक बढेको देखाउँछ।”

धर्मनिरपेक्षताले पनि विभिन्न समुदायका चाडपर्व विस्तारमा टेवा पुर्‍याएको उनको विश्लेषण छ। “धर्मनिरपेक्षताले हिजोका दिनमा आफ्नै चाडपर्वलाई मन खोलेर मनाउने डरलाई पनि हटाएको छ। बहुसंख्यक हुन् या अल्पसंख्यक, सबै धर्मावलम्बीहरूले आफ्ना चाडपर्व स्वतन्त्र र खुला रूपमा मनाउन पाएका छन्”, उनी भन्छन्, “गतिशील समाजमा परिवर्तनशील संस्कार र भूमण्डलीकरणले ‘कल्चरल एसिमिलेसन’ अर्थात् सांस्कृतिक अन्तरघुलन हुने प्रशस्त स्थान बनाएको हो।”

यस प्रकारको सद्भावलाई सकारात्मक मान्नुपर्ने पन्तको भनाइ छ। जति बेलासम्म कुनै पनि व्यक्ति, जातिको धार्मिक आस्थामा हस्तक्षेप र अधिकारमा प्रहार हुँदैन, त्यति बेलासम्म ‘कल्चरल एसिमिलेसन’ हुनु राम्रो भएको उनले बताए।