अमेरिकामा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु

आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ। आँधीका कारण दुवै राज्यमा गरी कम्तिमा दुई लाखभन्दा बढी जनसंख्या विद्युत्विहीन बनेको छ।

केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन्।

केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन्। क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ।

सेन्ट लुइसमा करिब एक लाख घर विद्युत् कटौतीका कारण प्रभावित भएका छन्। हावाहुरीले बढी प्रभाव पारेका स्थानमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नि नियन्त्रण विभागले जनाएको छ।