बाल्यकालमै बीजारोपण गरिएको विभेदको आयतन बढ्दो उमेरसँगै फराकिलो हुँदै जान्छ। फलस्वरूप, आमामाथि हुने विभेद हामीलाई विभेदझैँ लाग्दैन। सकेसम्म त्यसलाई ‘ग्लोरिफाई’ गर्नतर्फ लागि पर्छौं।
कक्षा सातमा पढ्दै थिएँ। सामाजिक शिक्षा पढाउने सरले मलाई उभिन लगाएर प्रश्न सोधे। उक्त सरले सोध्ने प्रश्न निकै रोचक हुन्थे। उनले मलाई सोधेको प्रश्न थियो, ‘तिमीले हालसम्म पृथ्वीको कति फन्को मारिसक्यौ?’, प्रश्नले खोजेको जवाफबारे मैले सजिलै मेसो पाइसकेँ। उनीसँग ‘आइ कनट्याक्ट’ मिलाउँदै जवाफ दिएँ, “सर, मैले सूर्यको पन्ध्रौँ फन्को मारिसके। अब १६औँ फन्कोमा प्रवेश गर्दै छु।” त्यो दिन मेरो १६औँ जन्मदिन थियो।
यो लेख मेरो १६औँ जन्मदिनको सम्झना या सन्दर्भमा लेखेको भने होइन। न ती सामाजिक पढाउने सरले सोध्ने रोचक प्रश्नहरूबारे नै हो यो लेख। यो लेख आज २०औँ फन्को मारिसक्दा पनि पितृसत्तामा लिप्त मेरो समाजलाई कसरी म आफै सघाइरहेछु भन्ने विषयमा छ। मैले वर्षौंदेखि जगेर्ना गर्दै आएको पितृसत्ताको मौन स्वीकृति हो यो लेख। यो लेख मेरो आत्मालोचना हो।
मसँग धेरै मिल्ने साथीहरू सङ्ख्यामा थोरै छन्। यद्यपि, भएभरको मित्रताले जीवन रमाइलो गरी धानिएकै छ। एक साँझ ती थोरैमध्ये एक साथीसँग गफगाफमा लिप्त थिएँ। गफको भाषिक माध्यम ‘मैथिली’ थियो। गफको केन्द्रीय विषय भने मेरी आमा थिइन्। मैले साथीलाई मेरी आमाबारे सबै कुरा बेली विस्तार लगाउँदै थिए। बेली बिस्तारको क्रम नसकिँदै उनले मलाई रोकी हालिन्। र, मतर्फ आफ्नो एउटा प्रश्न तेर्साइन। प्रश्न थियो, ‘तिमीले आफ्नी आमालाई ‘आँहा नभनी ‘तु’ किन भन्छौ?’ मैथिलीमा तपाईँलाई ‘आँहा’ र तँलाई ‘तु’ भनिन्छ।
झटारोझैँ लाग्यो उनको प्रश्न। उनले खोजेको उचित जवाफ मसँग थिएन। एक क्षण सोचमग्न भएँ। साँच्चै मैले जीवनभर आफ्नी आमालाई ‘तु’ भनेरै सम्बोधन गर्दै आएको छु। विद्यालयको नैतिक शिक्षामा अब्बल हुने म व्यावहारिक शिक्षामा भने साह्रै कमजोर रहेछु। आमालाई पनि उच्च आदरको सम्बोधन गरिनुपर्छ भन्ने मलाई कसैले सिकाएनछ, आमा समेतले सिकाउनु भएनछ। बुबालाई भने ‘आँहा’ बाहेकको अन्य सम्बोधन गर्ने आँट कहिल्यै आएन।
साथीको प्रश्नले मनमा विचारहरूको अन्तर्द्वन्द्व निम्त्यायो। बाहिर महिला अधिकार र लैङ्गिक समानतामा जति बोले पनि एक प्रकारको गम्भीर विभेदको जगेर्ना म आफैँले गर्दै आएको रहेछु। आफ्नै अभिभावकलाई गरिने सम्बोधनबीच विभेद गर्न मलाई कसले सिकायो होला? म सानो छँदा आमाको नाम बिगारेर बोलाउँदा त्यो विषय आमासहित सबैका निम्ति हाँसोको विषय किन बन्थ्यो? बुबाको नामसँगको यस्तो खेलबाड भने आमा समेतलाई पनि किन असह्य हुन्थ्यो? यसमा कस्तो मनोविज्ञान र संस्कृतिले काम गरिरहेको हुन्थ्यो? यस्ता प्रश्नलाई मनमनै स्पष्टीकरणको ओझेलमा पार्न पनि हर सम्भव प्रयास गरेँ।
एक मनले भन्यो, ‘आमा सबैभन्दा प्यारी हुन्छिन्।’ ‘आँहा’जस्ता गहकिला सम्बोधनले आमाको समीप पुग्न दिँदैन। अति सम्मानले त्यसको गहिराई भेट्न सकिन्न। अर्को मनले भने यसको कडा प्रतिकार गर्यो। भन्यो, ‘बुबालाई ‘आँहा’ भनिए पनि उहाँ पनि आमा जत्तिकै समीप हुनुहुन्छ, प्यारो हुनुहुन्छ। साथै आफूलाई प्यारो लाग्ने मानिसप्रति इज्जत र सम्बोधन दुवैमा स्तर उन्नति हुनु पर्ने हो। पितृसत्ताको जरो कसैगरी जमाई राख्न पनि आमाहरूलाई लक्षित गरी यी र यस्ता नारीद्वेसी धारणाहरूको निर्माण गरिएको हुनुपर्छ।’
‘सुपरम्यान’ आमाहरू
बाल्यकालमा हामीमाझ ‘सुपरम्यान’ को क्रेज थियो। मेरा सबै साथीलाई सुपरम्यान बन्नु थियो, मलाई पनि। सुपरम्यान अर्थात् जुनसुकै परिस्थितिलाई जित्न सक्ने। हामी सामान्य मानिसभन्दा कैयौँ गुणा शक्तिशाली भएको कल्पना गर्थ्यौं। ‘अब हामीले जस्तो सुपरम्यानले खाना खानुपर्दैन। भोकको चिन्तै रहँदैन।’ साथीले खुब जोसका साथ सुनायो। सुन्नासाथ मैले मेरी आमा सम्झेँ। साथीको आमा सम्झेँ। हामीभन्दा अलि पर बस्ने गायत्री काकीलाई सम्झे। अनि मनमनै यी आमाहरूलाई ‘सुपरम्यान’को उपाधि दिएँ। त्यति बेला हामीमाझ ‘सुपरउमन’को कन्सेप्ट पनि त थिएन।
आमाहरूलाई यसरी नायकिकरण गरिनु पछाडिको कारण पनि रोचक छ। त्यो के भने मैले आफ्नी आमालाई त्यतिन्जेलसम्म कहिल्यै खाना खाएको देखिनँ। आफ्नै आमालाई कहिल्यै खाना खाएको नदेख्ने मैले अरू आमाहरूलाई देख्ने कुरै भएन। लाग्थ्यो आमाहरूलाई पनि भोकले पोल्दैन, आमाहरू पनि खादै खानुहुन्न। त्यसैले त आमाहरू ‘सुपरम्यान’ हुनुहुन्छ।
एक दिन मेरो यो भ्रम आंशिक रूपले भत्कियो। मलाई ‘सुपरम्यान’को कथा सुनाउने साथीको आमा र गायत्री काकीलाई आँखै सामुन्ने सँगै खाना खाइरहेको देखेँ। लाग्यो यी काकीहरू त सुपर म्यान रहनुभएन। अब मेरी आमा मात्र मात्र सुपर म्यान बाँकी रहनुभयो। मन झनै खुसी भएर आयो। तर सो खुसी पनि भ्रमझैँ क्षणिक मात्र थियो। त्यसकै भोलिपल्ट आमाले मलाई थालमा पस्केर खान दिनुभयो। अचम्म त तब लाग्यो, जब मेरी आमा पनि मसँगै खान बस्नुभयो। आमाले खाँदै गरेको दृश्य मैले टुलुटुलु हेरिरहेँ। अनि लाग्यो मेरी आमा पनि सुपर म्यान नभई एक सामान्य आमा मात्र हुन पुग्नुभयो। यति दिनसम्म भ्रममा बाँच्नु पछाडिको पनि अर्को एउटा कारण थियो। त्यो कारण अरू केही नभई आमाको व्यस्त दिनचर्या थियो। म बिहान विद्यालय गइसकेपछि र राती भने खाएर सुतिसकेपछि नै आमाको खाने पालो आउँथ्यो। सानै उमेरमा, जतिखेर म घरमै रहन्थेँ, त्यतिखेर आमाले खाना खाएको त मलाई यादै रहेनछ।
पितृसत्ता जोगाइराख्न पनि आमाहरूलाई ‘असाधारण’को दर्जा दिन्छौँ हामी। आफूजस्तै सामान्य देख्दैनौँ वा देख्न चाहँदैनौ आमालाई। आमाहरू आमा हुन एकपक्षीय र असमान मापदण्डहरूबाट गुज्रिनुपर्ने हुन्छ। यी मापदण्डहरू पनि पितृसत्ताका एक मात्र लाभार्थी पुरुषहरूलाई पूर्ण लाभ हुने गरी तय गरिएका हुन्छन्। फलस्वरूप, हामी आफ्नै आमाहरूलाई वर्षौंदेखि ठगी रहेका छौँ। त्यसो गरेर हामी पनि ठगिएकै छौँ। बाल्यकालदेखि नै हामी सबै पितृसत्ताबाट ठगिएका छौँ।
विद्यार्थीले पढाएको पाठ
मैले ट्युसन पढाउने एक जना सानी नानी थिइन्। उनले आफ्नो बुबालाई तपाईँ भनेर सम्बोधन गरेको कहिल्यै सुनिएन। जहिल्यै ‘तँ’ भनेरै बोल्थिन्। उनको बुवाप्रतिको यस्तो बोली मलाई अस्वाभाविक लाग्थ्यो। हुन त आफ्नी आमासँगको बोल्ने शैली पनि उही नै थियो उनको। तर उनको आमाप्रतिको त्यस्तो बोली भने मलाई कहिल्यै अस्वाभाविक लागेन। न त नौलो नै लाग्यो। उनले आफ्नी आमासँग बोल्ने शैली मझैँ जो थियो।
उनी र मबीच एउटा सानो तर गहन भिन्नता छ। उनले आफ्नो अभिभावकलाई गर्ने सम्बोधन 'निम्न स्तरको' भए पनि त्यसमा एकरूपता थियो। मैले आफ्नो अभिभावकलाई गर्ने सम्बोधन भने असमान थियो। यसो हेर्दा लाग्छ–आफूभन्दा ठुलालाई कसरी आदरपूर्ण तरिकाले सम्बोधन गर्नुपर्दछ भनेर उनलाई कसैले सिकाइदिएन। फलस्वरूप, उनले आफ्नो आमाबुबालाई गरिने सम्बोधन बिचको विभेद पनि सिकिनन्। म र मजस्ता कैयौँमा भने यस्ता विभेदको बीजारोपण बाल्यकालमै गरिन्छ।
यसरी बाल्यकालमै बीजारोपण गरिएको विभेदको आयतन बढ्दो उमेरसँगै फराकिलो हुँदै जान्छ। जस कारण अनेकौँ रूपमा हुने विभेदहरू सामान्यीकरण भई अदृश्य हुन पुग्छन्। फलस्वरूप, आमामाथि हुने विभेद हामीलाई विभेदझैँ लाग्दैन। सकेसम्म हामी यसलाई ‘ग्लोरिफाई’ गर्नतर्फ लागि पर्छौं।
विभेद सिकाउने कथाहरू
कुरो बाल्यकालकै हो। हरेक राति खाना खाइसक्ने बित्तिकै म दगुर्दै आफ्नी दादी (हजुरआमा) कहाँ पुग्थेँ। दादीले आफू गरी रहेको कामलाई एक छिन विश्राम दिनुहुन्थ्यो। समयको लाभ उठाउँदै एक एक गर्दै दिनभरका सबै कुराहरू सुनाई हाल्थे दादीलाई। क्रम त्यतिमै रोकिन्थेन। मेरो कुराहरू सक्ने बित्तिकै दादीलाई कथा सुनाउन निकै कर गर्थे। र, दादीले थरीथरीका कथाहरू सुनाउनुहुन्थ्यो पनि। गाउँमा छँदा यो लगभग मेरो दैनिक दिनचर्या हुन्थ्यो। वीरगन्ज आइसकेपश्चात् भने कथा सुनाउने कर आफ्नी आमालाई गर्थें। आमाले भने कहिलेकाहीँ मात्र कथा सुनाउनुहुन्थ्यो। उहाँसँग दादी जत्तिको रोचक कथाहरूको भण्डार जो थिएन।
यसरी आमा र दादी दुवैले सुनाउने कथाहरू प्रायः मातृत्व आधारित हुन्थे। यी कथाहरूमा कथाका माहिला पात्रहरूले भोग्नुपर्ने दुःख र गर्नुपर्ने ‘कम्प्रोमाइज’ लाई गौरव गाथाझैँ सुनाइन्थ्यो। यस्ता कथाहरूले मलाई आमाहरूलाई ’आमा’को रूपमा देख्न कहिल्यै सिकाएनन्, बरु भगवानकै अर्को स्वरूपको रूपमा देख्न सिकाए।
यसले मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव पार्यो। वर्षौंसम्म आमाहरूको अस्तित्व नै त्यागी हुनुपर्छ जस्तो लाग्थ्यो। यस्ता भाष्यले आमाहरूले भोग्नु पर्ने अन्याय, विभेद र दुःखलाई नै मातृत्वको खनिजको रूपमा स्थापित गर्छ। यसले आमाहरूलाई विभेदको पिँधमा पार्छ। आमाहरू आमा भएकै कारण सहनुपर्ने विभेदलाई यसले सामान्यीकरण गर्नुका साथै थप मलजल पनि गर्छ।
अब के त?
आमाप्रतिको सम्बोधन मात्रै फेरेर पितृसत्ताको जरो उखेल्न सकिन्छ भन्ने मेरो तर्क होइन। (संरचनात्मक र कानुनी रूपमै यसको हल खोजिनुपर्छ, त्यसमा केही पहल भएका पनि छन्) तर बाल्यकालमा दिइने पारिवारिक सिकाइको प्रणालीमा सुधार ल्याएर केही हदसम्म पितृसत्तालाई पछार्न भने सकिन्छ।
पितृसत्ताले पुरुष मात्र नभई महिला समेतलाई आफ्नो हतियारको रूपमा प्रयोग गर्छ भन्ने सत्य जगजाहेर नै छ। तर यो आंशिक सत्य मात्रै हो। यसले पुरुष वा महिला मात्रलाई आफ्नो हतियारको रूपमा प्रयोग गर्दैन। बालबालिकालाई समेत गर्छ। यसलाई पुष्टि गर्न मैले यस अघि सुनाएका मेरा अनुभवहरू उपयुक्त छन्। यसर्थ, हामीले अबको सन्ततिलाई नियाली आफैलाई प्रश्न गर्न आवश्यक छ। ‘कतै बाल्यकालको आडमा हामीले पितृसत्ताका संरक्षक त हुर्काइ रहेका छैनौँ?’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
