इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया

सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ।

इन्डोनेसियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले सन् २०२६ देखि इन्धनमा पाँच प्रतिशत बायोइथानोल (ई५) मिश्रणलाई अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयअन्तर्गत नयाँ तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा संरक्षण विभागकी सम्माननीय महा–निर्देशक एनीय लिस्टियानी डेवीज्युले उक्त रणनीतिक योजना सार्वजनिक गरेकी हुन्। 

बायोइथानोल एक प्रकारको जैविक इन्धन हो। यसलाई प्रायः इन्धनको रूपमा पेट्रोलसँग मिसाएर प्रयोग गरिन्छ, जसले सवारीसाधन चलाउन सहयोग पुर्‍याउँछ। उनका अनुसार बायोइथानोलले वातावरणमा हुने दूषित ग्यासको मात्रा घटाउने, स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने र आयातित इन्धनको भरपर्दोपन घटाउने काम गर्छ। यस इन्धनको प्रयोगले किसानलाई बजार उपलब्ध गराउँछ र देशको ऊर्जा आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास गरिएको छ।

“यो योजना क्रमिक रूपमा लागू गरिनेछ, जसको प्रारम्भ जाभा टापुबाट हुनेछ। हाल देशमा १३ वटा चिनी र सहायक उद्योग भए पनि तीमध्ये केवल तीनवटाले मात्र इन्धन गुणस्तर अनुरूपको इथानोल उत्पादन गरिरहेका छन्,” उनले भनिन्। 

हाल तीनवटा उद्योगहरूले वार्षिक ६० हजार किलोलिटर इन्धन–स्तरीय इथानोल उत्पादन गर्न सक्ने क्षमता राख्ने महा–निर्देशक डेवीज्युको भनाइ छ। सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ। यस आवश्यकतालाई पूरा गर्न उखु, कसावा तथा काँचो गुलियो पदार्थ (जस्तै: पाम सुगर) बाट इथानोल उत्पादनलाई प्रवर्द्धन गर्ने सरकारको रणनीति रहेको छ।

यो पहल इन्डोनेसियाको जीवाश्म इन्धनमा निर्भरता घटाउने तथा हरित ऊर्जा प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यसँग सम्बन्धित रहेको छ। (रासस/सिन्ह्वा)