कोही किन शिक्षक बन्न चाहन्न?

वक्ताहरूले सरकारी नीतिका कारण शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।

पोखरा– नेपाल लिटेरचर फेस्टिभलअन्तर्गत तेस्रो दिनको पहिलो सेसन ‘दुर्गमका सर–मिस’मा उभ्याइएको थियो, स्वयंसेवक शिक्षक मोइन उद्दीन, गुञ्जन मिस (लुइँटेल) र मिङ्मा तेन्जिङ केसी। सेसनको सहजीकरण पत्रकार राजेन्द्र दाहालले गरेका थिए।

शिक्षकको चर्को खाँचो खट्किरहेको अवस्थामा पछिल्लो पुस्ताको प्राथमिकतामा किन शिक्षण पेसा परिरहेको छैन? देशका विभिन्न भूगोलमा शिक्षण गरेर अनुभव प्राप्त गरेका स्वयंसेवक शिक्षकलाई प्रश्न थियो।

वक्ताहरूले सरकारी शिक्षकमा स्थायी नियुक्ति पाएपछि कम मिहिनेत गर्ने परिपाटी रहेको र नयाँ पुस्तामा अनुभवको कमी रहेको बताएका छन्। उनीहरूले सरकारी नीतिका कारण पनि शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।

वक्ता मोइनले सरकारी शिक्षकमा स्थायी नियुक्ति पाएपछि कम मिहिनेत गर्ने परिपाटी बस्ने सुनाए। “हामी केही न केही गर्नुपर्छ भनेर लागि रहेका छौँ। म रेडियो प्रस्तोता पनि भएँ,” उनले भने, “शिक्षकले समाज बुझेको हुनुपर्छ। म यस्तो टिचर बन्न चाहन्थे। जुन मैले मिस गरेँ।”

सरकारी विद्यालयमा शिक्षकले गरेको व्यवहारले मन दुख्ने धादिङमा शिक्षण गरिरहेका मोइनको भनाइ छ। सरकारी शिक्षकलाई आफूभन्दा जान्ने कोही पनि छैन भन्ने सोच भएको बताए। “ज्ञान होला तर विद्यार्थीलाई कसरी सिकाउने भन्ने देखिएन। गीत जसलाई पनि गाउन आउँछ। तर, राम्रो गाउन साधना हुनुपर्‍यो। पेसासँग माया बस्नु पर्‍यो”, उनले भने।

वक्ता मोइनले डोल्पामा शिक्षण गर्न जाँदा २-३ हप्ता आएर त्यसपछि शिक्षक नै नआएको बताए। डोल्पामा ७ महिना मात्रै शिक्षण हुने उनले बताए।

पाँच वर्ष अध्यापन गर्दा विद्यार्थीलाई सपना देख्न सिकाएको मोइनको भनाइ थियो। मोइनले करिअर एक्सपोजर टिप्समार्फत काठमाडौँका ५० संस्थामा डुलाएर विद्यार्थीलाई भविष्य देख्न सिकाएको बताए। “पढाउनुका साथै समाज पनि सिक्ने मौका पाएँ,” उनले भने।

यसबीचमा शिक्षण पेसा बृहत् चिज हो भन्ने लागेको उनले सुनाए। “मलाई प्रेम भयो। सबै मिल्दै गएमा जीवनै यसमा समर्पित गर्छु। मनबाट लागि रहेको छु,” उनले भने।

गुञ्जनले सरकारी शिक्षक नै भेट्न नपाएको सुनाइन्। "चार महिनाका लागि एक जना आउनु भएको थियो। पढाउनभन्दा अन्तै बढी रुचि राख्ने”, उनले भनिन्, “सायद, उहाँमा पढाउन रुचि थिएन। सरकारी नीति नै राम्रो नभएर पो हो कि हामीले अनुभव गर्न पनि पाएनौँ।”

विद्यालयको अनुगमन गर्ने कर्मचारी पनि शिक्षकका नजिकका आफन्त भएकाले सदरमुकामबाटै तलब भत्ता बुझेर फर्किने गरेको उनले सुनाइन्।

सिन्धुपाल्चोकका विभिन्न भेगमा पुगेर दुई वर्ष अध्यापन गरेका मिङ्मा तेन्जिङ केसीले सिन्धुपाल्चोकको र काठमाडौँको पढाइको तह फरक पाएको मिङ्माले बताए।

काठमाडौँमा राम्रो पढ्न पाएका मिङ्माले बच्चाहरू चप्पल लगाएर आएको त्यहाँ पहिलोचोटि देखेको बताए। “कोही नाङ्गै आउने। कोही गाई-बाख्रा चराइरहेका, स्कुलै नजाने,” उनले भने।

अहिले भइरहेको शिक्षण पद्धतिबाट योग्य जनशक्ति उत्पादन गर्न शिक्षणमा लगाव भएका शिक्षक आवश्यक रहेको तीनै वक्ताको धारणा थियो। सबैको साथ सहयोग भए शिक्षण पेसा सुधारिने उनीहरूको भनाइ छ।