यज्ञ र पशु बलीसम्बन्धी विभिन्न विधानका कारण वैदिक धार्मिक विचारधारा फलामको हलोको प्रयोगद्वारा सम्पन्न हुने कृषि अनुकूल भएन।
बुद्ध कहाँ जन्मे? उनको न्वारानको नाम के हो? उनका बाआमाको नाम के हो? उनको मामाघर कहाँ हो? उनी कुन कबिला (ट्राइब) मा जन्मिए? उनको श्रीमती र छोराको नाम के हो? उनले घर कति वर्षको उमेरमा छोडे? उनले बोधिसत्त्व कति वर्षको साधना र उमेरमा प्राप्त गरे? उनले प्राप्त ज्ञानमा के-के पर्छन्? उनले कुन मार्गको अनुसरण गरे? के-के उपदेश दिए? उनले प्राप्त गरेको ज्ञान कति वर्षसम्म प्रचार गरे? कसरी गरे? प्रचारमा कहाँ-कहाँसम्म पुगे? उनका उपदेशहरूलाई ककसले सुने र पछ्याए? कुन-कुन राजाले उनलाई सहयोग गरे? र, कहाँ गएर उनी बिते? यी सबै प्रश्नहरूको थोरबहुत उत्तर हामी सबैसँग छ।
यी हामीसँग भएका उत्तरहरूमध्ये विद्धानहरूमा खास गरी जन्म मितिलाई लिएर अलिअलि वादविवाद चलिरहे पनि अधिकांश प्रसंगमा मतैक्य र समानता देखिन्छ। त्यसैले हामीले यी प्रसंगहरूलाई सहजै ग्रहण गरिरहेका छौँ। तर, यी अधिकांश प्रसंगहरू प्रायः बौद्ध विद्धानहरूबाटै सुन्ने र पढ्ने भएको हुनाले केही धार्मिक र रहस्यात्मक विचारको छाप पनि हामीले सहजै ग्रहण गर्ने गरेका छौँ। धार्मिक विद्धानहरूबाट प्राप्त हुने सूचना र विचारमा निरपेक्ष (एब्सोलुट) कुरा ज्यादा हुन्छन्। यो कुरा केवल बुद्धको सवालमा मात्रै होइन, अन्य कुनै पनि धर्मको सवालमा उत्तिकै लागु हुन्छ।
ती सबै विचारले आफ्ना प्रतिपादकको उत्पत्ति, विकास र फैलावटलाई रहस्यात्मकता, अलौकिक, समाज निरपेक्ष र विशिष्ट उद्देश्यबाट जन्म लिएको ईश्वरीय शक्तिको रूपमा अभिव्यक्त गर्छन्। जसले गर्दा ती विचारकहरू जन्मेको, हुर्केको, उनीहरूको विचारमा पूर्ववर्तीहरूको छाप, तत्कालीन सामाजिक-आर्थिक र राजनीतिक स्थिति, भौगोलिक तथा प्राकृतिक स्थिति र उत्पादनको स्तरको प्रभावबारे जानकारी पाउन सकिन्न। फलस्वरूप: ती विचारहरूको तत्कालीन र दीर्घकालीन महत्वबारे बुझ्न सकिँदैन।
ती विचारहरूलाई अंगिकार गर्ने पन्थहरू भने तिनको सान्दर्भिकताको निरन्तर रटान लगाइ रहन्छन् भने विरोधीहरूले अस्वीकार गरिरहन्छन्। तर, सम्यक् दृष्टिबाट ती विचारहरू बुझ्ने र पर्गेल्ने काम कसैले गर्दैनन्। बौद्ध दर्शनको हकमा पनि त्यही हुने गरेको छ। बुद्ध जैविकभन्दा पनि वैचारिक रूपमा कसरी जन्मिए? किन जन्मिए? यदि उनले उक्त दर्शनको प्रतिपादन नगरेको भए अरूले त्यही विचारलाई अगाडि ल्याउने सम्भावना थियो कि थिएन? र, उनको दर्शन नै समकालीन अरू दर्शनभन्दा कसरी धेरै फैलियो र बलियो राज्य-धर्मको रूप ग्रहण गर्यो? यी प्रश्नहरूमा यहाँ संक्षिप्तमा चर्चा गरिनेछ।
बुद्धको जन्म इशापूर्व ५६३ र मृत्यु इशापूर्व ४८३ मा भएको मान्ने धेरै विद्धान छन्। त्यसैले मूलतः यही मिति धेरै प्रचलित छ। यद्यपि, ६० वर्ष तलमाथि हुनसक्ने कुरामा धेरै विद्धानको सहमति छ। साथै, उनको जन्म तत्कालीन शाक्य गणराज्यको लुम्बिनी (आजको नेपाल) मा भयो र उनले बोधिसत्त्व बोधगया (आजको उत्तर भारत) मा प्राप्त गरे। यस क्षेत्रलाई इतिहासकारहरूले गंगाको मैदान नाम दिने गरेका छन्। शाक्य क्षेत्रीयहरूको गणराज्य थियो र यो कोसल राज्य अन्तर्गतको सानो कबिला गणराज्य थियो। शाक्यहरूको भाषा आर्य परिवारभित्रै पर्थ्यो र उनीहरू आफूलाई आर्यको रूपमा परिचय गराउन रुचाउँथे। उनीहरूको गणराज्यको मुखिया निरन्तर चुनावबाट निर्वाचित गरिन्थ्यो। साथै, त्यस चुनावमा भाग लिन योग्य सबै क्षेत्रीयहरूलाई ‘राजन्य’ भन्ने गरिन्थ्यो। यही शब्दको पछिल्लो कालको अर्थलाई लिएर बुद्धले उतिखेर ठुला राजकुमारहरूले झैं सुख सयल गरे भन्ने अनुमान गर्छौँ, तर उनी त्यस्तो सुविधा भोग गर्ने अवस्था थिएनन्। उनका बाबु केवल कबिलाको मुखिया मात्रै थिए।
बुद्ध इशापूर्व पाँचौँ शताब्दी आसपास जन्मेका हुनाले हामीले बुद्धको विचारको विकासको सामाजिक-आर्थिक आधार खोज्न इशापूर्व पाँचौँ शताब्दी पूर्वको गंगाको सामाजिक-आर्थिक परिस्थितिमा जानु उपर्युक्त हुन्छ। प्राचीन भारतीय इतिहासमा राम्रो दक्खल भएका भारतीय इतिहासकार प्रो. रामशरण शर्माका अनुसार इशापूर्व पहिलो सहस्राब्दीको प्रारम्भिक कालमा आर्यहरूको एउटा ठुलो समूह पन्जाब, हरियाणा हुँदै गंगाको मैदानमा आबाद हुन आइपुगिसकेको थियो। त्यो समूह मूलतः पशुचारी थियो र त्यससँग घुमन्तेे पशुपालक कबिलासँग हुने विभिन्न प्रकारका अनुष्ठान, विधि विधान थिए, जसमा यज्ञ प्रमुख थियो।
यज्ञ केवल अनुष्ठान मात्रै नभई भारतीय उपमहाद्वीपमा पछिल्लो पटक आएको आर्य समूहको जीवनपद्धति नै थियो। त्यसैले यज्ञलाई उनीहरू विशेष महत्त्व दिन्थे र त्यसका विभिन्न स्वरूपहरू अस्तित्वमा थिए। यद्यपि, आज पनि यज्ञका विभिन्न स्वरूपहरू ब्राह्मण र क्षेत्रीहरूमा अस्तित्वमा छन्, जीवन पद्धतिको रूपमा नभई केवल अनुष्ठानिक रूपमा। यज्ञको मुख्य केन्द्र पशुबली हो। हुन त केही वैदिक साहित्यमा नर बलिको पनि यदाकदा उल्लेख भेटिन्छ र यहाँ कुरा गरिरहेको काल अवधिमा पशु बलीमा आधारित यज्ञको अस्तित्व नै व्यापक प्रचलनमा थियो। उनीहरूको मुख्य जीवनचर्या घुमन्ते पशुपालनमा बितेको थियो।
इशापूर्व १००० देखि ८०० को बीचमा गंगाको मैदानमा फलामका धाउहरू पत्ता लागे र इशापूर्व ७०० को पछिल्लो कालमा गंगाको मैदानमा ठुलो मात्रामा फलामको प्रयोग हुन थालेको देखिन्छ। इशापूर्व १००० देखि ५०० को बीचमा गंगा मैदानको पश्चिमदेखि पूर्वतिर निरन्तर फलामका धाउहरूको उत्खनन र प्रयोगका विभिन्न पुरातात्त्विक प्रमाण भेटिएका छन्। ती पुरातात्त्विक प्रमाणहरूमा भाला, वाणको तिर, छुरी, बन्चरो, किला, छैनी, ब्लेड आदि उपकरणहरू छन्। ती पुरातात्त्विक अवशेषहरूबाट जान्न सकिन्छ कि इशापूर्व सातौँदेखि पाँचौँ शताब्दीको बीचमा फलामका उपकरणहरूको व्यापक प्रयोग र फैलावट भइसकेको थियो।
फलामबाट दैनिक जीवनमा प्रयोग हुने विभिन्न किसिमका उपकरणहरूको निर्माण हुन थालेको थियो। सायद फलामको फालो आधारित हलोको पनि प्रयोग हुन थालिसकेको थियो। यी विभिन्न उपकरणको प्रयोगबाट कृषि जीवनमा प्रवेशको लागि त्यहाँ रहेका कबिलाहरूको लागि सहज भयो। विभिन्न पुरातात्त्विक प्रमाण र साहित्यलाई आधार मान्दा फलामको प्रयोगभन्दा अगाडि कबिला समाजको मुख्य पेसा पशुपालन र सहायकमा फाट्टफुट्ट ताम्रकालीन कृषि देखिन्छ भने फलामको प्रयोगपछि मुख्य पेसा कृषि बन्दै गएको र कृषिको सहायकको रूपमा पशुपालन रहेको देखिन्छ। त्यसपछि पशुपालनले कृषिको आधारको रूपमा काम गर्न थालेको देखिन्छ। यस किसिमको संक्रमणले विभिन्न किसिमका अनुष्ठान र विचारहरूमा पनि परिवर्तन हुन थालेको उत्तरवैदिककालीन साहित्यहरूमा स्पष्ट छनक पाइन्छ। केही प्रारम्भिक पाली ग्रन्थ र ब्राह्मण तथा धर्मशास्त्रहरूमा पनि बिस्तारै खास किसिमका पशु बलीमाथि लगाइएको प्रतिबन्धले पुरानो जीवन पद्धतिमा आधारित अनुष्ठानयुक्त क्रियाकलापमा भइरहेको परिवर्तनको प्रक्रिया देख्न सकिन्छ।
फलामको प्रयोगले झाडीहरू सफा गरेर खेतीको लागि जमिन तयार गर्न सजिलो भयो। त्यसपछि कृषि उपजमा व्यापक वृद्धि भयो। त्यति मात्रै होइन, खेतीपातीसम्बन्धी नयाँ तरिका र प्रविधिबारेको ज्ञानले पनि विकास र विस्तार हुने अवसर पायो। नयाँ प्रविधि र तरिकाहरूले अतिरिक्त उत्पादनको लागि बाटो खोले। फलामको बन्चरो, फालो, छुरा तथा अन्य उपकरणहरूको प्रयोगले जंगल फडानी गर्न र ठुलो स्तरमा बस्ती बसाउन पनि सहज भयो। परिणामस्वरूप: घुमन्ते पशुचारी जीवनशैलीको स्थानमा स्थायी बसोबासयुक्त कृषक जीवनशैली विस्तार हुन थाल्यो। तर, नयाँ जीवनशैली स्थायी बसोबासयुक्त कृषिमा आधारित भएको हुनाले नयाँ सामाजिक-वैचारिक संरचनाहरूको विकास हुन थाल्यो र पुरानो सामाजिक-वैचारिक संरचनाहरूसँग टकराउन थाल्यो।
पुरानो सामाजिक-वैचारिक संरचनाहरू पशु बलीमा आधारित यज्ञ परम्परा थियो भने नयाँ जीवनशैलीले यज्ञमा हुने पशु बलीको सुस्त-सुस्त विरोध गर्न थालेको थियो। किनकि नयाँ कृषि प्रणाली मुख्यतः फलामको हलोमा आधारित थियो। साथै, यस किसिमको कृषिले पशुको सहायताले नै आफ्नो काम गर्न सक्थ्यो। जोत्न, मलदेखि ढुवालीलागयत धेरै कुरामा पशुको आवश्यकता पर्थ्यो। त्यसैले, नयाँ जीवनशैलीले पशु रक्षाको माग गर्थ्यो। यसरी पुरानो र नयाँ सामाजिक-वैचारिक संरचनाको बीचमा बिस्तारै दरार आउन थाल्यो। पुरानो सामाजिक-वैचारिक संरचनालाई यज्ञ गर्ने ब्राह्मणहरू र क्षेत्रीयहरूले चलाइरहेका थिए भने नयाँ जीवनशैलीले किसान र व्यापारीलाई महत्त्वपूर्ण स्थानमा ल्याइदियो। बौद्ध धर्ममा पछि गएर सबैभन्दा धेरै व्यापारी र कृषकहरू नै आकर्षित हुनको कारण पनि यही हो।
यसरी यज्ञ र पशु बलीसम्बन्धी विभिन्न विधानका कारण वैदिक धार्मिक विचारधारा फलामको हलोको प्रयोगद्वारा सम्पन्न हुने कृषि अनुकूल भएन। पहिले पशुबली सामान्य र नियमित थियो, तर हलोको प्रयोगद्वारा हुने कृषिको लागि पशुको सुरक्षा अति आवश्यक बन्यो। प्रारम्भिक पालि ग्रन्थमा गाई पालन र कृषिलाई समान रूपमा बुझिएको देखिन्छ। साथै, ती ग्रन्थमा दिइएको खेतीपातीसम्बन्धी विभिन्न प्रसंगहरूबाट पनि फलामको हलोबाट हुने कृषिको महत्त्व थाहा पाउन सकिन्छ। बुद्धका कृषिसम्बन्धी उपदेशहरूबाट तत्कालीन समयमा कृषिको महत्त्व कति बढेको थियो भन्ने थाहा हुन्छ। बुद्धद्वारा पशु बलीको बहिस्कार र पशुमाथिको अहिंसामा दिइएको जोडलाई यसै सन्दर्भमा बुझ्दा ठिक हुन्छ। नयाँ प्रकृतिको कृषिको स्वरूप र पशु बलीको बहिस्कार र अहिंसालाई जोडेर हेर्नुपर्छ।
यद्यपि, बलिविरुद्ध हल्का विरोध पछिल्लो उत्तर वैदिक ग्रन्थमा पनि पाउन सकिन्छ। बुद्ध पशु बलीबाट कुनै पनि पुण्य प्राप्त नहुने तर्क दिन्छन्। उनी हिंसा नहुने यज्ञको समर्थन गर्छन्। उनको अनुसार दान नै सबैभन्दा महान् यज्ञ हो। प्रारम्भिक पाली ग्रन्थहरूमा पशुबली विरुद्ध धेरै नै आवाज उठाएको पाइन्छ। वास्तवमा पशुधनमा नै कृषि निर्भर भएको हुनाले यस्तो हुनु स्वाभाविक थियो। केवल बुद्ध धर्मले मात्रै नभई जैन धर्मले पनि पशुबली विरुद्ध आवाज उठाएको देखिन्छ। कृषिका लागि पशुधनको सुरक्षाको आवश्यकता थियो, त्यसैले नै यसमा बन्धन लगाइएको देखिन्छ। यसै परिप्रेक्ष्यमा नै बुद्धको विचारमा अहिंसाले महत्त्वपूर्ण स्थान प्राप्त गरेको कुरालाई बुझ्न सकिन्छ।
फलामका उपकरणबाट गर्न थालिएको कृषिले तुलनात्मक रूपमा ठुलो परिमाणमा अतिरिक्त उपज उपलब्ध हुन थाल्यो, जुन अधिशेष पत्थर वा तामाका उपकरणहरूको प्रयोगद्वारा गरिने कृषिबाट सम्भव थिएन। यस अधिषेश (खपत गरेर बचेको अन्न-उपज) ले त्यस क्षेत्रमा इशापूर्व ६०० तिर ठुलो मात्रामा नगरीय सभ्यता विकासको पृष्ठभूमि तयार पार्यो। यस कुरालाई विभिन्न पुरातात्त्विक अध्ययनले पुष्टि गरेका छन्। चम्पा, राजगृह, बैशाली, बनारस, कौशाम्बी, कुशीनगर, श्रीवस्ती वा सावत्थीलगायत नगरहरूको चर्चा पाली ग्रन्थहरूमा राम्रैसँग भेटिन्छ। ती नगरवासीमा अधिकांशहरू व्यापार र उद्योगमा संलग्न थिए। यी सभ्यतामा ठुलो हिस्सा दस्तकार र व्यापारीहरूले ओगटेका थिए। व्यापार र उद्योगको विकासले मुद्रा प्रयोगलाई सहज बनायो। साथै, मुद्राको प्रयोगबाट पनि उद्योगको विकास र व्यापार विस्तारमा राम्रै सहयोग पुग्यो। यहाँ उद्योग, व्यापार र मुद्राबीचको दोहोरो सम्बन्ध स्थापित भयो। जसले दुवै क्षेत्रको विकासलाई फाइदा पुर्यायो। यस किसिमको विकासले नयाँ सामाजिक सम्बन्धहरूको विकास गर्यो।
नयाँ किसिमको व्यापारलाई वैदिक ग्रन्थहरूले समर्थन गरेका छैनन्, तर प्रारम्भिक पाली ग्रन्थले यसको व्यापक समर्थन गरेको देखिन्छ। यसरी पुरानो सामाजिक संरचना र नयाँ सामाजिक संरचनाहरू बीचमा यहाँ पनि टकराब देखिन थाल्यो। बौद्ध धर्म अँगाल्ने सुरुका आम मान्छेमा व्यापारी थिए। सुरुका भिक्षुमा ठुलो संख्यामा कृषक र व्यापारी थिए। सबैभन्दा पहिला ठुला व्यापारीले नै बुद्ध तथा उनको संघलाई धेरै दान दिएका थिए। व्यापारको विकासले ऋण र सुदखोरीको प्रथा विकास भयो। धातुको सिक्काको प्रचलनसँगै सुदखोरी प्रथाको प्रारम्भ भयो। सुदखोरी प्रथा पुरानो वैदिक सामाजिक विचारधारा अनुकूल थिएन, तर नयाँ सामाजिक अवस्थामा यस प्रथालाई महत्त्व दिनुपर्ने अवस्था आइलाग्यो। पाली ग्रन्थमा ऋणी, ऋण र व्याजको बारम्बार उल्लेख पाइन्छ। बौद्ध ग्रन्थले ऋण दिने प्रथाको भर्त्सना गर्दैनन्। बरु, ऋणीलाई पनि समयमै ब्याज र सावाँ बुझाउनुपर्ने तथा साहुकारलाई ऋण लिई दिई आफ्नो व्यवसाय बढाउने कुरालाई प्रोत्साहन गर्छन्।
फलामको हतियारको प्रयोगबाट सैन्य सामाग्री र सैन्य कलामा क्रान्ति नै आयो। फलस्वरूप: पुरोहितहरूको तुलनामा योद्धाहरूको राजनीतिक महत्त्व बढाइदियो। केवल राजनीतिक मात्रै होइन, ती योद्धाले अन्य क्षेत्रमा पनि समान हैसियतको लागि आवाज उठाउन थाले। अनेक ग्रन्थमा देखिएका ब्राह्मण र क्षेत्रीहरू बीचको संघर्षका दृष्टान्तलाई यसै सन्दर्भमा हेर्न सकिन्छ। साथै, गंगाको मैदानमा रहेका अधिकांश आर्य कबिलाहरूमा क्षेत्रीयहरूको धेरै क्षेत्रमा बोलवाला बढ्न थालेको विषय पनि यसै सन्दर्भसँग जोडेर हेर्न सकिन्छ।
नियमित रूपमा हुने वैदिक यज्ञहरूले किसान र व्यापारी दुबैलाई हानी पुर्याउन थाल्यो। व्यापारीलाई आफ्नो राज्यभन्दा बाहिरका व्यापारीसँग कारोबार गर्नुपर्थ्यो। त्यसैले, बाटोमा हुने लुटपाटदेखि उनीहरूलाई सुरक्षाको खाँचो थियो। त्यसबाट सुरक्षाको पूर्ति एउटा सार्वभौम राजतन्त्रले नै गर्न सक्थ्यो। त्यही राजतन्त्रात्मक प्रशासनले नै निरन्तर हुने साना युद्ध र लुटपाटलाई समाप्त गरी ग्रामीण इलाकाको बाटोमा व्यापारीहरू सुरक्षित आफ्नो गन्तव्यमा पुर्याउन सक्थ्यो। व्यापारले किसानहरूलाई अतिरिक्त अनाजको उत्पादनको लागि नियमित प्रेरणा दिइरहन्थ्यो। अतिरिक्त उत्पादनको लागि पशु, भूमि र उपज व्यक्तिगत सम्पत्ति हुन आवश्यक थियो।
तर वैदिक परम्पराअनुसार यी सबै कुराहरू सामाजिक जीवनमा असम्भव थिए। खास गरी यज्ञमा हुने पशु बलीले गर्दा किसानमा पर्ने बोझ धेरै थियो। त्यसैले, एउटा नयाँ किसिमको विचारको आवश्यकता समाजमा महसुस हुन थालेको थियो। साथै, नवीन कृषि प्रणाली, व्यापार तथा सिक्काको प्रचलनले स्वाभाविक रूपमा धनको सञ्चयमा शासक र व्यापारी दुवै वर्गलाई समृद्ध बनाइदियो। जसले समाजमा आर्थिक असमानतालाई फराकिलो बनाउँदै लग्यो। समाजमा आर्थिक असमानताले निर्धनहरूको संङ्ख्या पनि बढायो। कबिला युगका अनुष्ठान र अभ्यासहरू पूर्ण रूपमा विलीन भइसकेका थिएनन्। त्यसैले केही मान्छेहरू दुःख र निर्धनताको कारण खोज्ने काममा लाग्न थाले।
यही अवस्थामा नै प्राचीन भारतीय विभिन्न दार्शनिक मतहरू स्पष्ट रूपमा अगाडि आएका देखिन्छन्। तीमध्ये अधिकांश विचारले वैदिक परम्पराको मख्य केन्द्र पशुबली र यज्ञलाई अस्वीकार गरेका छन्। अजित केसकम्बलीको भौतिकवादी दर्शन, पुकुध कात्यायनको वैशेषिक मत, कश्यपको सांख्य, महावीर जैनको जैन, वैदिकहरूको उपनिषद्हरू (यज्ञ आधारित तर गाईको बलिमा भने प्रतिबन्ध) र सिद्धार्थ गौतमको बौद्ध विचारहरू स्पष्ट रूपरेखा यही समयमा नयाँ दार्शनिक विचारका रूपमा देखिन्छन्।
वास्तवमा समाजमा बढी रहेको आर्थिक असमानता, वर्णाश्रम व्यवस्था र पुरानो कबिला समाजको अनुष्ठान र परम्पराको निरन्तर विलयको यात्राले दुई वटा अतिवादी जीवनशैलीलाई जन्म दिए। अधिकांश नयाँ सम्प्रदायले वैदिक कर्मकाण्ड अस्वीकार गरे। यी अस्वीकार गर्नेहरूभित्र पनि दुई धारा देखिए। एकातिर, बेलगाम व्यक्तिवादी आशक्ति, जसमा खाऊ-पिऊ र मोज गर भन्ने थियो। यस किसिमको विचारको वकालत केही भौतिकवादीले गरिरहेका थिए। अर्कोतिर, व्यक्तिवादी तर निरर्थक शारीरिक दण्डबीचको मार्ग। यसमा जैन, सांख्य र तान्त्रिक आदि थिए। यस्तो अवस्थामा बौद्ध दर्शनको विकास भएको देखिन्छ। जसले दुवै बाटोलाई अनुसरण नगरी मध्यम बाटो अँगाल्यो। त्यसै कारण पनि बौद्ध दर्शन वा धर्मलाई मध्यम मार्ग भनिन्छ।
अतः पशुचारी जीवनबाट फलामको प्रयोगसँगै कृषिमा रूपान्तरित भएको जीवनशैलीले पशुबलीको बहिस्कार र अहिंसाको विचार उत्पत्ति हुने बाटो निर्माण गरेको हो। कृषिको फैलावटबाट प्राप्त अतिरिक्त उत्पादनले उद्योग र व्यापारलाई फुल्न सहयोग गरेको हो। कृषिको फैलावटले नै निरन्तरका साना युद्ध र लुटपाट विपरीत एउटा सार्वभौम राजतन्त्रको माग गरेको हो। सार्वभौम राजतन्त्रको रूपमा मौर्य साम्राज्यको विकास भयो भने त्यसकै समतुल्यमा अति नियमबद्ध कर्मकाण्ड भएको धर्मको रूपमा बौद्ध धर्मको विकास भयो। त्यसो हुँदा, 'बुद्ध' सामाजिक-आर्थिक र राजनीतिक आधारमा जन्मिए। अनि उनले आर्य सत्य र अस्टाङ्ग मार्गको प्रतिपादन गरे। उनको दर्शन, भिक्षु संङ्घका नियमहरू, उनले सुझाएका मार्गहरूलाई माथि उल्लेखित सामाजिक-आर्थिक परिवेशका आधारमा नै बुझ्न खोजियो भने बुद्धको तात्कालिक सान्दर्भिकता र आजको उनको दार्शनिक सान्दर्भिकतालाई बढी ऐतिहासिक रूपमा बुझ्न सकिन्छ।
सन्दर्भ सामाग्री:
१. रामशरण शर्मा, प्राचीन भारतमा भौतिक प्रगति एवं सामाजिक संरचनाएँ, राजकमल प्रकाशन ।
२. धर्मानन्द कोसम्बी, भगवान् बुद्ध: जीवन र दर्शन, लोकभारती प्रकाशन।
३. के दामोदरन्, इन्डियन थटस् अ क्रिटिकल सर्भे, पिपुल्स पब्लिसिङ हाउस।
४. उमाकान्त पौड्याल, बुद्धकालीन समाज, फाइनप्रिन्ट प्रकाशन।
५. दमोदर धर्मानन्द कोसम्बी, प्राचीन भारत की संस्कृति और सभ्यता, राजकमल प्रकाशन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
