ताला लागेको लोमन्थाङ

बसाइँसराइको चलनचल्तीको ट्रेन्डले सबैभन्दा नराम्रोसँग लोमन्थाङजस्ता हिमाली बस्तीलाई प्रभावित गरेको छ। त्यसमा पनि आन्तरिकभन्दा बाह्य बसाइँसराइको प्रचलनमा बढी जोडिएको छ लोमन्थाङ।

उपल्लो मुस्ताङ– हिमालपारिको जिल्ला मुस्ताङभित्रको विशेष आकर्षणको बस्ती हो— लोमन्थाङ। जिल्लाको प्रशासनिक सदरमुकाम जोमसोम भए पनि अधिकांश पर्यटक र पदयात्रुका लागि लोमन्थाङ जीवनमा एकपटक पुग्नैपर्ने ‘रहस्यमयी स्थान’का रूपमा चिनिएको छ।

इतिहासका पुस्तकमा पढिँदै आएको मुस्ताङी राजाको दरबार लोमन्थाङको प्रमुख आकर्षण अझै छँदै छ। मुलुकमा गणतन्त्र आएपछि राजा–दरबारको अस्तित्व नरहे पनि मुस्ताङी राजदरबार भने ‘मिथ’का रूपमा बाँचेकै छ। हाल एकजना कुरुवा र एउटा भोटे कुकुरको निगरानीमा रहेको दरबारभित्र प्रवेश गर्नै पनि विशेष पहल गर्नुपर्ने हुन्छ।

एउटै पर्खालभित्र घेरिएर बसेको लोमन्थाङमा साविकका लोमन्थाङ, छोसेर र छोन्हुप गाउँ मिसिएर लोमन्थाङ गाउँपालिका बनेको हो, जसको जनसंख्या दुई हजार मात्रै छ। लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार, लोमन्थाङ मुख्य बस्तीभित्र एउटै पर्खालमा घेरिएर १८६ जति घरपरिवारको बसोबास छ जहाँ यतिखेर १०० भन्दा बढी घरमा ताला लागेको छ। 

“लोमन्थाङको छोराछोरी पुस्ता सबै विदेश गइसके, बाआमा पनि पोखरा वा काठमाडौँतिर बस्न थालेका छन्,” अध्यक्ष गुरुङ भन्छन्, “तिजी पर्व (तेन्जी), यातुर्ङ (घोडा दौड) आदिका आसपासमा भने हरेक वर्ष लोमन्थाङमा भीडभाड बढ्छ नै, सबैका घरमा ताला त्यही बेला भने खुल्ने गरेका छन्।”

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने लोमन्थाङको कला, सम्पदा र बौद्ध परम्परा आधारित प्राचीन सभ्यताको संरक्षण—संवर्द्धन गर्नमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि भरमग्दुर पहल गर्दै आएको छ। कोषका सदस्यसचिव डा. नरेश सुवेदीका अनुसार, बसाइँसराइको चलनचल्तीको ट्रेन्डले सबैभन्दा नराम्रोसँग लोमन्थाङ जस्ता हिमाली बस्तीलाई प्रभावित गरेको छ। त्यसमा पनि आन्तरिकभन्दा बाह्य बसाइँसराइको प्रचलनमा लोमन्थाङ बढी जोडिएको छ।

सदरमुकाम जोमसोमबाट लोमन्थाङ हुँदै कोराला नाका पुग्न ११९ किलोमिटर लामो दुई लेनको राजमार्ग अहिले सञ्चालनमा छ। लोमन्थाङमा बिजुली, पानी, स्वास्थ्य, शिक्षाको अवसर पनि तुलनात्मक रूपमा राम्रो छ।

संरक्षण कोषको पहलका कारण स्थानीय धर्म–संस्कृति, परम्परा, गुम्बा/छोर्तेन संरक्षण, जैविक विविधता संरक्षण, पर्यटकीय क्षेत्र पहिचान तथा संरक्षण, मानव–वन्यजन्तु सहअस्तित्व, हरियाली प्रवर्द्धनमा ग्रिन हाउस निर्माण, बासस्थान व्यवस्थापन आदि जस्ता प्रभावकारी कार्यक्रम सञ्चालनमा रहे पनि स्थानीय जनसंख्याको घट्दो क्रम भने लोमन्थाङमा उत्तिकै चिन्ताजनक देखिन्छ। 

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत लोमन्थाङ कार्यालयका प्रमुख उमेश पौडेलका अनुसार दुई सातापछि शुरू हुने तिजी पर्वका कारण लोमन्थाङका ताला लागेका घर पनि अब खुल्न थालेका छन्। “यहाँ प्रकृति, वातावरण र सम्पदा सबैकुरा छ,” पौडेल भन्छन्, “तर, मानवबस्ती भने पातलिँदो छ। यो भूगोलको संरक्षण र संवद्र्धनको सरोकारसँगै मानवबस्तीको स्थायी बसोबास तथा सबलीकरणमा पनि अब केही सोच विचार पुर्‍याउनु जरुरी भएको छ।”