उकालै उकालोको मात्रा, आमा याङ्ग्रीको यात्रा

हिमालको चोटीमा सेतो कम, कालो रङ बढी भएजस्तो लाग्थ्यो। यद्यपि, दृश्य अद्भुत, मनमोहक थियो, हेरेर नअघाउने सुन्दरता। हावाको मन्द सिरेटो हाम्रो ज्यानमा आनन्ददायक स्पर्श गर्दै बहेली खेलिरहेको थियो।

अफिसियल जिन्दगी साह्रै एकोहोरो र नियमित भयो एकाध दिनको भए पनि ‘ट्रेक’ जाऊँ भन्ने भगवती म्याडमको प्रस्तावमा उत्साहित हुँदै ‘जाउँजाउँ’, छोटो यात्राका लागि ‘आमा याङ्ग्री गज्जब हुन्छ’ भनी सुझाउने समूहका एक साथी कार्यक्रम तय भइसकेपछि ‘ला मेरो त घरायसी कारणले नमिल्ने भयो’ भनेर पन्छिए। सोधीखोजी गर्दा अरू पनि तयार नभएपछि नवीनाजीले मलाई हेर्दै चिन्ता व्यक्त गर्नुभयो, ‘हजुर एक्लै हुनुभयो नि!’

मैले ‘हजुरहरूसँगै भएपछि म कसरी एक्लै हुन्छु?’ भनी माहौल सहज बनाएँ। ‘के गरौँ, के गरौँ’ भन्ने मनोभावबाट मुक्त भई दीपाजीसमेत ‘आक्क्, जे भए नि जाने हो अब त’ भनी प्रतिबद्ध भएपछि हामी रोकिएनौँ। सल्लाह मिल्यो, संयोग मिल्यो वा समयको जुर मिल्यो! भोलिपल्ट बिहानै यात्रा प्रारम्भ गर्ने निश्चित भयो। हामी अर्थात् भगवती म्याडम, नवीनाजी, दीपाजी र म। कहाँ? त्यहीँ –आमा याङ्ग्री, सिन्धुपाल्चोक जिल्ला, हेलम्बु क्षेत्र। 

जम्माजम्मी चार दिन हुन आउने सरकारी बिदाको संयोगलाई हामीले खेर फालेनौँ। माघ १६ गते बिहानै ६:३० बजे चाबहिल केएल टावरअगाडि पासाङल्हामु पार्कमा भेला भयौँ। त्यहीँबाट तार्किध्याङसम्मका लागि बस छुट्थ्यो, जुन पैदलयात्राको प्रारम्भबिन्दु हो। संयोगवश: हामीले टुरिस्ट बस भेट्यौँ, भलै बस्नुपर्ने अगाडि हुटमा थियो। बस्नु नि के भन्नु, टुसुक्क अडिने मात्र। यद्यपि, रोमाञ्चक यात्राको पूर्वआभाषले होला हामीलाई त्यसको खासै गुनासो रहेन।

करिब ८ बजे यात्रा प्रारम्भ भयो। साँखु पुग्ने बाटो त्यति राम्रो बनिसकेको रहेछ, थाहै थिएन। बस साँखुलाई पछाडि पारेर उकालो लाग्यो, उत्तिखेर आइपुग्यो जहरसिंह पौवा। सँगै आइपुग्यो खुल्ला आकाश। अलिक तलसम्म बाक्लो कुहिरोको प्रतिबन्ध तोड्न संघर्ष गरिरहेको थियो। उकालो भन्नु त त्यति नै रहेछ, त्यसपछि त बस ओह्रालैओह्रालो गुड्यो, करिब–करिब मेलम्चीसम्मै। मेलम्चीमा हामीले चिया खाजा खाइवरी बसअगाडि बढ्दा १०:३० भइसकेको थियो।

खाजाले ज्यानमा पूर्ति भरेछ क्यार साथीहरू अन्ताक्षरी थाले। हाँस्दै, गाउँदै, रमाउँदै मेलम्ची खोलाको किनारैकिनार अगाडि बढ्दै जाँदा एकैछिनमा आइपुग्यो, क्यिुवल बगर, जो खाना खाने ठाउँ रहेछ। अघि भर्खर मेलम्ची बजारमा पेटभर खाजा खाएकाले हामीले खाना नखाने निधो गर्‍यौँ। बरु क्यामरा बोकेर बसबाट ओर्लियौँ र तस्वीरका लागि उपयुक्त ‘लोकेसन हन्ट’ गर्न थालौँ। नयाँ ठाउँ, यसै पनि सबै कुरा राम्रो लाग्ने भइगयो। त्यहीँमाथि बग्दै गरेको कञ्चन मेलम्चीखोला, बगर, बगरमा छरपस्ट सफेद ढुंगा, अनि त्यही बगरलाई किनार पारेर हलक्क ठडिएका अजङ पहाडको पृष्ठभूमिमा पाएपछि अरू के चाहियो?

तस्वीर लिने धुनमा हामीले ख्यालै गरेका रहेनछौँ बसले अघिदेखि हर्न बजाएको। सहचालकले ‘तिम्हारूलाई यतै बस्ने मन छ क्या’ भन्दै झर्किँदै बोलाउँदा पो झसंग भयौँ। दौडिँदै आयौँ र बस चढ्यौँ। बसअगाडि बढ्यो, मेलम्ची किनारैकिनार र करिब २० मिनेटमा उकालिन थाल्यो। दिपाजीले ‘बाटो राम्रो छैन भन्थे ठीकै रहेछ है’ भनेर बोली के टुंग्याउनुभएको थियो, अगाडि तेर्सिइहाल्यो– ढुंगैढुंगा बिछ्याएको उकालो अनि साँघुरो बाटो। उकालो, साँघुरा, त्यसमाथि बसले ‘मोड’ लिन साह्रै गाह्रो मान्ने घुम्ती।

यस्तो उकालोमा बस पहिले सिधै भित्तातिर लैजाउ, अनि फेरि ब्याक गर। पछाडि हेर्दा पहाडको फेद देखिन्न। जान्न त सातो? बढ्दैन त ढुकढुकी? हुँदैन त गाला रातै? ज्यानमा बढेको रक्तसञ्चारले सबैका गाला साँच्चिकै रातै बनाएको थियो। हामी हाँस्न त हाँसेको थियौँ तर मनभरी डर भरेर। करिब डेढ घण्टाको त्यही उकालो बाटो चढेपछि आइपुग्यो ‘ककनी’। तर नुवाकोटवाला ‘ककनी’ होइन, सिन्धुपाल्चोककै।

अबचाहिँ बाटो अलिक तेर्सै होला भन्ने अपेक्षा थियो। तर के हुन्थ्यो!? थिएन। फेरि उस्तै। डराउँदै, कराउँदै करिब ३:३० बजे तार्किघ्याङ पुग्यौँ। कम्तीमा नफर्किने बेलासम्म फेरि बस चढ्नुपर्दैन भन्ने कुरा सोच्दा पनि राहतै भयो। जे भने नि आफ्नै खुट्टा भरपर्दा। बढीमा २५–३० घरधुरी भएको एउटा चटक्क परेको गाउँ रहेछ, तार्किघ्याङ।

अगाडि नै रहेछ बुद्ध लज, हाम्रो वासस्थानको जोहो। धन्य! पहिले नै बुकिङ गरेका थियौँ नत्र बासै नपाइने रहेछ। ‘पाइहालिन्छ नि!’ भनेर आउनेहरूको साँझैसम्म बिजोग थियो।

फ्रेस भएर चिया–बिस्कुट खाएपछि निस्कियौँ, गाउँ टहल्न। नजिकै रहेछ करिब निर्माण सम्पन्न हुन लागेको गुम्बा, भारत सरकारले बनाइदिएको। त्यसकै अगाडि रहेछ एउटा सानो चौर। चौरको किनारबाट पल्लो गाउँ पुग्ने बाटो। अनि बाटोको छेउ भिरालोमा सल्लाका रूख। साँझ पर्न लागेकाले होला, हुस्सु तल खोला किनारबाट मन्द बतासिँदै उकालो चढिरहेको जस्तो देखिन्थ्यो। चौरको पल्लो किनारमा केही थान चौँरी चरिरहेका देखिन्थे। वल्लो  किनारमा हामी बस्यौँ केहीबेर। केही सामूहिक र केही एकल तस्वीर खिच्यौँ अनि बसयात्राको त्रासदीको मजाक बनायौँ।

फेरि भोलि उकालो चढ्ने बाटोको प्रस्थानबिन्दु खोज्दै हामी गाउँको माथिल्लो भागसम्म उकालियौँ र त्यहाँबाट दायाँ तेर्सो बाटो हिँड्दै निस्कियौँ गाउँको पल्लो किनार। त्यहाँ एउटा बनाउन खोजिएको तर खासै रेखदेख नभएको पनि पार्क रहेछ। हामी त्यहीँ सुस्तायौँ, धेरै बेरसम्म। ‘जिन्दगी के हो?’ भन्ने अहं दार्शनिक प्रश्नमा आफ्नो आफ्नो किस्ताको भोगाइको आवरणमा विचार आदानप्रदान भए, त्यसपछि ‘प्रेम के हो?’ भन्ने उस्तै दार्शनिक प्रश्नमा विचारविमर्श।

हामी होटल फर्किँदा बाहिर चार जनाको अर्को समूहले आगो बालेर ‘दारु पार्टी’ शुरू गरिसकेको रहेछ। चिसो बढेकै थियो, हामी पनि एक छिन सेकिने विचार गर्‍यौँ र अर्को मेचमा बस्यौँ। परिचय साटासाटका क्रममा एक जनाले अलिक फरक लवजमा बोलेपछि मैले आत्मविश्वासपूर्वक सोधेँ, ‘गुल्मी कत्न हो तपाईंको गाउँ?’ अनुमान अलिक चिप्लिएर कालीगण्डकी पारि पुगेको रहेछ। वारि पाल्पाका रहेछन् उनी। उनैले घर सोधे, थर सोधे। अनि फलानालाई चिन्छौ? ढिस्कानालाई चिन्छौँ भन्दै प्रश्नमाथि प्रश्न थप्दै गए। मैले कतिलाई चिनेँ, कतिलाई चिनिनँ। चिनेकाको नाताको फेरो समात्दै जाँदा धेरै पर पुग्नै परेन। ‘भान्जा’ भन्दै उनी चिच्याउँदै आएर ग्वाम्मै अँगालो हाले। झन्डै दुवै जना मेचपछाडि लडेर उत्तानो परिएन।

चार जनामा बोल्नेचाहिँ मेरै ‘मामा’ मात्र थिए। उनका अरू साथीचाहिँ पिउने, हाँस्ने तर खासै नबोल्ने। साँझ छिप्पिँदै जाँदा, अलिक पर अर्को लजमा भाइरलवाला गीत बज्न थाल्यो, म त ढलेँ ढलेँ ढलेँ। यता नवपरिचित ‘मामा’ ढल्ने हुन् कि भन्ने चिन्ता भो।

एकछिनमा होटलका साहुले बोलाए, ‘खाना तयार भयो है’ भनेर। हामी गयौँ। भित्र डाइनिङमा तात्तातो खाना आयो। खाना खाइवरी हामी सिधै बिस्तारामा पल्टियौँ, किनकि भोलि सबेरै उठ्नु थियो।

सबेरै २ बजे नै हामी ब्युँझियौँ र उकालो चढ्ने तयारी थाल्यौँ। झोला सबै लजमै छाडेर केही थान स्याउ, कफीका पाकेट, चाउचाउ, चकलेट, बिस्कुट, चक्कु, सखर अनि तीन थर्मस तातो पानी झोलामा मिलाएर राख्यौँ। तयार भइवरी लजबाट बाहिर निस्किँदा करिब पौने ३ भइसकेको थियो। रात निक्खर कालो थियो, चिसो मुटु छेड्ने थियो। टोलमा हिजो साँझ त बिहानै उकालो चढ्ने भन्ने प्रशस्त मान्छे देखिएका थिए। अहिले हेर्दा कोही देखिँदैन। गइसके वा उठ्नै बाँकी हुन्, हामीले भेउ पाएनौँ। अञ्जानलाई खोज्न जाने कुरा पनि भएन। गए पनि कहाँ जानु? बासको अत्तोपत्तो भए पो! गएनौँ। जताततै चकमन्न थियो। डर सबैको मनमा थियो होला तर ‘मलाई त डर लाग्यो’ भनेर कसैले पनि भनेन।

हिँड्नुअगाडि ‘सबैले एक–एक वटा टर्च लाइट बोक्नुपर्छ है’ भन्ने सल्लाह भए पनि नवीनाजीबाहेक कसैले बोकेको रहेनछ। टर्च प्रकाशलाई पछ्याउँदै हामीले पाइलाअगाडि बढायौँ र उकालो बाटोको खुट्किला गन्न थाल्यौँ। बाटो साँघुरिँदै गएपछि दीपाजी सबैभन्दा अगाडि हुनुभयो। त्यसपछि नवीनाजी, भगवती म्याडम र म अन्तिममा। हिँड्न थालेको करिब ५ मिनेटमै हाम्रो दृश्यबाट सबैभन्दा पहिले घरहरू छेलिए, अनि करिब १० मिनेटमा त घरमा बलेका बत्तीको प्रकाश पनि छेलियो। निस्पट्ट रातमा, एउटा टर्च लाइटको सहारा हामी घना जंगल भित्र छिर्‍यौँ। बाटो त उही हो, उकालै उकालो।

हिँडेको २० –२५ मिनेट मात्र भएको थियो, भगवती म्याडमले ‘एक छिन् आराम गरौँ’ भन्नुभयो। हामी रोकियौँ। सबै कुरा स्वाभाविक नै लागिरहेको थियो तर होइन रहेछ, उहाँमा अस्वाभाविकता पैदा भइसकेको रहेछ। एक्कासि ‘हजुरहरू जानू, म फर्किन्छु’भन्दा पो हामी छाँगाबाट खसेजस्तो भयौँ। अँध्यारोमा उहाँको अनुहारको प्रत्यक्ष भाव पढ्न पनि हामीले सकेनौँ। त्यसैले सोध्यौँ, ‘के भयो म्याडम?’

‘गाह्रो’ उहाँले एक शब्दको जवाफ दिनुभयो। हामी अन्योलमा पर्‍यौँ। अहिल्यै गाह्रो भइहाल्नुपर्ने पनि खास केही कारण थिएन। लेकको संकेत हो कि भनौँ भने त्यो सम्भावनाको उचाइमा पुगेकै थिएनौँ। त्यहीँमाथि उहाँ हिमाली पदयात्रामा गइराख्ने मान्छे: मार्दी, रारादेखि लाङटाट्टसम्म। करिब १० मिनेट आराम गरेपछि म्याडमले ‘अलिक आराम भयो’ भन्नुभयो। ‘बिस्तारै हिँडौँ, जहाँसम्म सकिन्छ, त्यहाँसम्म जाउँ। नसकिए फर्कौंला’ हामीले प्रस्ताव गर्‍यौँ। उहाँ सहमत हुनुभयो। अनि यात्रा पुनः प्रारम्भ गर्‍यौँ तर गतिको रफ्तार घटाएर।

अगाडि बढ्दै थियौँ– अक्करे उकालो छिमल्दै, आधा ज्यान बराबरका खुट्किला उक्लिँदै, बढेका धड्न सम्हाल्दै, कुराका अनेक सन्दर्भ जोड्दै, उज्यालोको प्रतीक्षा गर्दै। साथीहरूबीचको आत्मीयता, आफूलाई सहज लाग्ने गति र सबैलाई प्रिय लाग्ने साझा कुराहरूमा गफिँदै हिँड्यो भने पाइला सरेको पत्तो नहुँदो रहेछ। नत्र आमा याङ्ग्रीको उकालो सजिलोचाहिँ विल्कुल होइन। अब त बेसक्याम्प आइपुग्न लाग्यो होला भन्दै, आशावादी हुँदै पाइला बढाइरहेको पनि धेरैबेर नै भइसकेको थियो। तर अहँ! आउँदैन।

समय रोकियो कि अजङ पहाडहरूले उज्यालो रोक्यो, करिब ५.३० बजेतिर मात्र हामी बेसक्याम्प पुग्यौँ। यहाँसम्म मोटरसाइकल र जिप गुडाउन मिल्ने खालको बाटो बनेको छ र धेरै मानिस त्यसै गर्छन् पनि। हामी पनि खासमा हिजो नै हिँडेर बेसक्याम्पसम्म आइपुग्ने मनसायमा थियौँ, तर बासको जोहो नहुने भएपछि तलै अडिएका थियौँ। बेसक्याम्प आइपुग्नेको अर्थ आधा उकालो पार गर्नु पनि थियो। त्यहाँबाट आमा याङ्ग्रीको चुचुरो नियाल्दा लहरै टर्चको उज्यालो देखिन्थ्यो। बेसक्याम्पमा बसेकाहरू माथि पुगिसकेछन्।

बेसक्याम्पबाट अलिक माथि पुगिसकेपछि हामी एक छिन सुस्तायौँ। कागजको कपमा एक–एक पत्ती कफी, सखर अनि तातो पानी खन्यायौँ र बिस्कुटसँग खायौँ। यसो गर्नुको दुई कारण थिए– एक भोक मेट्नु, अर्को लेक लाग्ने सम्भावनालाई कम गर्नु। खाइवरी, फोहोर एउटा पोलिथिनमा पोको पार्‍यौँ र बोकिराखेको झोलामा कोच्यौँ। अनि करिब १० मिनेट आराम पछि यात्रा पुनः प्रारम्भ गर्‍यौँ।

बिहानी झिसमिसे करिब शुरू भइसकेको थियो। अर्को पहाडको माथि, आकाशको किनार पहेँलिँदै थियो। माथि चुचुरोमा पुगिसकेकाहरू उत्साहमा चिच्याइरहेको तल मधुरो गरी सुनिन्थ्यो। यो यात्राको एउटा विशिष्ट रोमाञ्च उदाउँदो सूर्यले छर्ने सिन्दुरे रङको प्रकाश, अनि त्यही प्रकाश हिमालको हिउँमाथि पर्दा प्रतिबिम्बित हुने सुनौलो रङको दृश्यावलोकन गर्नु हो। तर हामी तलै थियौँ। ‘फुलस्केप’मा नभए पनि आंशिक दृश्यावलोकन भए नि गर्न पाइन्छ कि भन्ने आशामा दीपाजी र नवीनाजीले पाइलाको रफ्तार बढाउनुभयो।

स्थानीयले भन्न त भनेकै थिए हिजो नै माथि झन् नाक ठोक्किने उकालो छ भनेर। तर गफ लाएजति त होइन होला भन्ने लागेको थियो। किनकि यात्रामा प्रायः त्यस्तो भइरहन्छ। फलाना ठाउँ पुग्न अझै कति लाग्छ भनेर फर्किरहेकालाई सोधेँ, पहिलोले १० मिनेट भनेको यात्रा तय गरिसकेर फेरि अर्कोलाई सोध्दा ‘अझै आधा घण्टा लाग्छ’ भनिदिन्छ। तर यो उकालो साँच्चिकैको रहेछ, नाकै ठोक्किने खालको। चुचुरोतिर घाँटी ठाडो बनाएर हेर्‍यो, नजिकै भएजस्तो देखिन्छ। हिँड्यो, बाटो सरेजस्तो लाग्दैन।

बाटाभर मान्छे छन्, उकालो चढ्ने अनि ओह्रालो झर्न। तै, बिस्तारैबिस्तारै पाइला सार्दै जाँदा, करिब ८ बजेतिर बल्ल म दोस्रो बेस क्याम्प पुग्यौँ। दीपाजी र नवीनाजी धेरै अगाडि यहाँ आइपुग्नुभएको रहेछ। रमाउँदै हुनुहुन्थ्यो, त्यहाँबाट देखिने हिमाली लहरलाई हेर्दै। फोटो खिच्दै हुनुहुन्थ्यो, त्यही लहरलाई ‘ब्याक ग्राउन्ड’मा पार्दै। पुगेपछि हामी पनि उहाँहरूसँगै सामेल भयौँ। करिब २० मिनेट त्यहीँ सुस्तायौँ।

तर यात्रा अझै बाँकी थियो, अन्तिम किस्ताको। पुनः उकालो चढ्यौँ हिमाली लहरलाई दायाँ पारेर। बादलको पातलो पर्दालाई तल छाडेर। अनि आमा याङ्ग्रीको चुचुरोलाई शिरमा राखेर। हामी उकालो चढ्दै गर्दा, बिहानै चुचुरो टेकेका पदयात्री ओह्रालो झर्दै थिए। पदयात्री किसिम किसिमका थिए। कोही ‘आइपुग्न लाग्नुभयो’ भन्थे, कोही ‘बल्ल यहाँ हुनुहुन्छ, कतिबेला पुग्नुहोला’ भनेर सहानुभूति दिन्थे। कोही बाटोको अप्ठ्यारो संरचनालाई सराप्थे, कोही त्यसैको मजा लिन्थे। कोही मिनी स्पिकरमा गाना घन्काइरहेका सुनिन्थे, कोही सुनसान चुपचाप हिँडिरहेका।

गेग्रान भरिएको उकालो अनि साँघुरो बाटो छिमलेर, करिबकरिब चुचुरो टेकिने बेलामा ढुंगा बिछ्याएर खुट्किला बनाइएको रहेछ, लालीगुराँसका बुट्यानलाई बायाँ पारेर। करिब ९:२५ बजेतिर हामीले चुचुरोमा पाइला टेक्यौँ, ‘आमा ज्योमो याङ्ग्राी’ मन्दिरको अगाडि।

छ्याङ्ग खुलेको नीलो आकाशको छानामुनि लहरै उभिएका लाङटाङ, गणेश अनि गौरीशंकर लगायतका हिमाली चुचुरा टहल्दै हामी एकछिन फेरि सुस्तायौँ। तर हिमालहरूमा हिउँ सकिँदै गएजस्तो देखिन्थ्यो। हिमालको चोटीमा सेतो कम, कालो रङ बढी भएजस्तो लाग्थ्यो। यद्यपि, दृश्य अद्भुत, मनमोहक थियो, हेरेर नअघाउने सुन्दरता। हावाको मन्द सिरेटो हाम्रो ज्यानमा आनन्ददायक स्पर्श गर्दै बहेली खेलिरहेको थियो। हाम्रो आत्मा र मस्तिष्कमा कुनै विकार थियो भने पनि त्यो पलले, त्यो वातावरणले त्यसलाई सफा गर्दै थियो। प्रकृतिले दिने जति खुशी, आत्मसन्तुष्टि र आनन्द त अरू कुन चिजले दिन सक्ला र? मलाई त अचेल यही नै सत्य लाग्छ – जिन्दगीको एक मात्र सत्य प्रकृति हो, बाँकी सब भ्रम।

हामीले करिब सवा घण्टा त्यो चुचुरोमा बितायौँ। चुचुरो लाम्चो गरी फैलिएको रहेछ, उत्तर दक्षिण दिशा गरेर। अनि त्यही लम्बाइमा बाक्लो गरी लुङता (ध्वजा) पनि टाँगिएको रहेछ। हामी त्यसको भित्रभित्रैबाट चुचुरोको अर्को किनार पुग्यौँ, जसको ठ्याक्कै पारिपट्टि सगर्व ठडिएका थिए, हिमाली चुचुराहरू। बिछ्याइएको ढुंगाहरूमाथि हामी लहरै बस्यौँ, त्यो सुन्दरतालाई प्रत्यक्ष रूपमा आफ्नै आँखाले कैद गर्‍यौँ, त्यो सुन्दरताको व्याख्या गर्‍यौँ। आत्मीयता र साथीत्वका लागि हामीले एक अर्काको प्रशंसा गर्‍यौँ। अनि करिब १०:४० बजेतिर हामीले फिर्ती यात्रा प्रारम्भ गर्‍यौँ। २ बजे तल तार्कीघ्याङबाट काठमाडौँका लागि सार्वजनिक बस छुट्ने हुँदा सकेसम्म भेट्टाउने लक्ष्यसाथ।

हामी भोकाएका थियौँ, तिर्खाएका थियौँ। चाउचाउको प्याकेट त हाम्रो झोलामा पनि थियो तर पानी सकिएकोले माथि त्यो खाने आँट गर्न सकेनौँ। बेसक्याम्प पुग्दा करिब १२ बज्न लागेको थियो। त्यहाँ एउटा सानो पसलमा हामीले चाउचाउ सुप अर्डर गर्‍यौँ अनि प्रशस्त पानी पनि पियौँ। तात्तातो चाउचाउ सुप आयो तर मलाई त्यसमा काटेको प्याज खुर्सानी हाल्नु पाए हुन्थ्यो भन्ने लोभ पलायो। मैले मागेर ल्याएँ। खुर्सानी त रहर मात्र थियो, एक टुक्रा भए पुगिहाल्ने। ठीक यही बेला नवीनाजीको दिमागमा एउटा ‘आइडिया’ फुर्‍यो–चटपटे बनाउने अनि खाने। तर कसरी? न प्याज छ, न टमाटर, न कागती। हामीले चाउचाउ सुप खाइसक्दा १२.३० भइसकेको थियो। ओह्रालो झर्नु अझै प्रशस्त बाँकी थियो, त्यसैले बस भेट्ने गरी २ बजेसम्म हामी तल पुग्न सक्दैनौँ भन्ने निष्कर्षमा पुग्यौँ। अनि नहतारिने निर्णय गर्‍यौँ।

तर नवीनाजीको दिमागबाट चटपटेको ‘ह्याङओभर’ हटिसकेको रहेनछ। खुर्सानीको जोहो त पहिल्यै भइसकेको थियो। हामीले पसलेलाई प्याज र टमाटर मागेर ल्याउन सफल भयौँ। चटपटे खाने सामग्रीको जोहो भएपछि हामी फेरि ओह्रालो झर्न थाल्यौँ। करिब एक घण्टा जति ओह्रालो झरिसकेपछि एउटा भिरालो चौरजस्तो जमिन भेटियो। नजिकै पानीको मूल पनि रहेछ। चटपटे बनाउन र खानलाई हामी त्यहीँ बस्यौँ। चाउचाउ राखेको प्लास्टिक ब्याग भुईंमा बिछ्यायौँ, त्यसैमाथि चाउचाउ हाल्यौ, अनि खुर्सानी, प्याज र मसिनो गरी टमाटर काटेर राख्यौँ। अन्तिममा, त्यो सब माथि चाउचाउकै मरमसला खन्यायौँ र प्लास्टिक उठाएर घोल्यौँ। र, चाउचाउकै पाकेटको चम्चा बनाएर पेटभर खायौँ। पहाडको शीतल हावामा, प्रकृतिको काखमा बसेर खाएको चटपटेको स्वाद अविस्मरणीय थियो।

सबै फोहोर एउटा पोलिथिनमा जम्मा गरी ब्यागमा राख्यौँ र तङ्ग्रिएको ज्यान बोकेर फेरि ओह्रालो झर्‍यौँ। त्यहाँबाट हिँडेको करिब एक घण्टामा तीन बजे तिर हामी तार्कीघ्याङ फिर्ता भयौँ। हिजो बसेको लज आजका लागि पहिले नै बुक भइसकेकोले हामीले त्यहाँ भएमध्येको राम्रो भनिएको एउटा होटलमा कोठा बुक गर्‍यौँ। तर पछि होटलको व्यवहार हामीलाई ग्राहकमैत्री लागेन। हिजो आएको बसमा नै भोलिका लागि सिट निश्चिन्त गर्‍यौँ। थकाईले हाम्रो शरीर गलिसकेको थियो। सुत्यौ, मस्त निदाइएछ।

सबेरै उठेर, तयार भइवरीकन हामी ६.३० मा छुट्ने बस भेट्टाउन ६.१५ मै बसमा पुग्यौँ। अगाडि हुटकै सिट भनेकाले त्यहीँ गएर बस्यौँ। पछि अरू मान्छेहरू पनि आउँदा पो, त्यही सिट अरूलाई पनि बेचिएको रहेछ भन्ने थाहा भयो। हामी साह्रै अन्योलमा पर्‍यौँ। अर्कोमा जाउँला भन्नलाई पनि विकल्प थिएन, कोचाकोच गरेर, अटेसमटेस भएर, आउँदाको भन्दा झन् अप्ठ्यारो गरी हामी तल क्वीवलसम्म पुग्यौँ।

खाना खाएर ठ्याक्कै सक्दा, अर्को कुनै गाउँबाट अर्को खाली बस आइपुग्यो। संयोगवश, त्यो बस धुलिखेलतिरबाट जाने रहेछ। अफिसको हाम्रो साथी करुणाजीको छोरीको पास्नीका लागि हामीलाई निम्ता थियो, बनेपामा। सहभागी हुन नपाइने भयो भन्ने चिन्ता थियो, बस त्यही बाटो जाने भएपछि ढुक्कै भयो। साँझ ४ बजेतिर हामी बनेपामा ओर्लियौँ। अफिसबाट अरू साथीहरू पनि आउँदै हुनुहुन्थ्यो। उहाँहरूसँगै सामेल भएर भोजमा सामेल भयौँ र सँगसँगै काठमाडौँ फर्कियौँ।

गाडीबाट आर्लिनै लाग्दा, नवीनाजीले हामी सबैलाई सोध्नुभयो ‘फेरि सँगै कहाँ जाने?’ तत्कालका लागि हामीसँग कुनै जवाफ थिएन।