नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बुधबार उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार भने दोहोरो अंकको गिरावट देखिएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। अघिल्लो दिन बुधबार ६२.२५ अंकले बढेको नेप्से परिसूचकमा बिहीबार १२.०४ अंकको गिरावट देखिएको हो। योसँगै नेप्से परिसूचक २६६१.६४ अंकको विन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेर साढे ११ अर्ब नाघेको छ।

३१५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार ३१९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्से जनाएको छ। यसअघि बुधबार १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

यस दिनको कारोबारमा सबैभन्दा धेरै वित्त समूहको उपसूचक ४.३० प्रतिशतले बढेको छ। त्यस्तै,  जलविद्युत् ०.०३, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.१७ र म्युचुअल फन्डको उपसूचक ०.०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह २.०० प्रतिशत, अन्य १.८१, बैंकिङ ०.८२, विकास बैंक ०.५६. निर्जीवन बीमा ०.१७, होटल तथा पर्यटन ०.१४, लघुवित्त ०.१३ र लगानी समूह ०.०४ प्रतिशतले घटेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य ४.१५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको ७८ करोड ४५ लाख ९६ हजार ४३१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार संख्याका आधारमा प्रभु स्मार्ट फन्डको २१ लाख पाँच हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ।