च्याम्पियन्स लिग: बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा

मंगलबार इन्टरले आफ्नो मैदानमा ४-३ को जितका साथ समग्रमा ७-६ को नतिजासँगै फाइनल यात्रा पक्का गरेको हो।

काठमाडौँ– इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। 

सेमिफाइनलमा क्याटलान क्लब बार्सिलोनालाई हराउँदै इन्टर उपाधिनजिक पुगेको हो। इन्टरले समग्रमा बार्सालाई ७-६ ले पराजित गर्‍यो। 

मंगलबार राति इन्टरको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली ४-३ को जित दर्ता गर्न सफल भयो। इन्टरको जितमा लौटारो मार्टिनेज, हाकान चाल्हानोग्लु, फ्रान्सेस्को अचेर्बी र फ्रातेसीले गोल गरे। बार्सिलोनाका एरिक गार्सिया, डानी ओल्मो र राफिन्हाले गोल गरेका थिए। 

यी दुई टोलीबीचको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो। बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पीएसपी खेल्नेछन्। फाइनल ३१ मेमा हुनेछ।