साहित्य महोत्सवमा बहस : कस्तो पोखरा?

नेपाल साहित्य महोत्सवको दोस्रो दिन कास्की-२ की सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य र व्यवसायी आनन्दराज मुल्मीले आगामी पोखरा कस्तो हुनुपर्छ भन्नेबारे बहस गरेका छ।

पोखरा– नेपाल साहित्य महोत्सवको दोस्रो दिनको सेसनमा कास्की-२ की नवनिर्वाचित सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य र नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलाई छलफलमा उभ्याइएको थियो।

'कस्तो पोखरा?' सेसनका सहजकर्ता अमृत सुवेदीले कार्यक्रमको शुरुआत गर्दै मेयर आचार्यलाई प्रश्न गरे– हल्लन चोक र पृथ्वी चोकमा ठूलो स्क्रिनमा विश्वकप देखाउनुभयो? त्यस्तो स्क्रिनमा पोखराको उपलब्धि कहिले हेर्ने?

मेयर आचार्यले जवाफ दिँदै निर्वाचित भएको साढे ६ महिनामा महानगरले 'बेस' बनाएको बताए। महानगरले ७० प्रतिशत समय पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, ल्यान्डफिल्ड साइट खोजीमा बिताएको उनले सुनाए।

“धेरै समय बित्यो। त्योबाहेक सुशासन प्रत्याभूत हुने सबै काम अघि बढाउने सन्दर्भमा मैले स्क्रिनमा देखाउनु पर्दैन। तपाईंको आँखाले देख्नु हुनेछ,” उनले भने।

मेयर आचार्यले फोहोर-मैला प्रशोधन केन्द्र सञ्चालन गरेर फोहोरलाई मोहोरमा बदल्ने पोखरा बनाउने निर्णय कार्यपालिकाले गरेको बताए। महानगरले अबको २-३ भित्रमा फोहोर व्यवस्थापनका लागि प्रस्ताव आह्वान गर्ने उनको भनाइ छ। वातावरणीय मूल्यांकनको काम अन्तिम चरणमा रहेको पनि उनले सुनाए।

मेयर आचार्यले पोखरा एयरपोर्ट बनिसकेपछि मुख्य शहर जान फास्ट ट्र्याक बन्ने बताए। बसपार्कको डीपीआर ३ महिनाभित्र तयार हुने उनको भनाइ छ। “यही आर्थिक वर्षभित्र नै कस्तो बसपार्क बन्छ भनेर तयार हुन्छ। २ वर्षभित्र बसपार्क तयार हुन्छ,” उनले भने, “सबै क्षेत्रका विज्ञ राखेर यातायात व्यवस्थापन समिति बनेको छ।” मेयर आचार्यले सभागृहदेखि महेन्द्र पुलमा सडक पार्किङ नै हटाउने बताए।

कास्की-२ बाट निर्वाचित सांसद विद्या भट्टराईले पर्यटन बाहेकको पोखराको परिचय बन्न नसक्ने दाबी गरिन्। पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न खोजिरहेको उनले बताइन्।

"पर्यटकका लागि आवश्यक के दिने? दक्षिणी भेगलाई परिचय दिन सक्ने, रोमाञ्चक र प्राकृतिक दृश्यलाई परिचित गराउन सडक, यातायात, शिक्षा आधारभूत सेवासँगै सम्भावना अध्ययन गर्न सक्छौँ कि भन्ने हो। एउटा राजनीतिज्ञले कल्पना नगरे देश विकास हुन सक्दैन।"

उनले महानगरीय विकासको मोडलअनुसार आधुनिक पोखरा निर्माणतर्फ अग्रसर हुनुपर्ने बताइन्। “शहरतर्फ उन्मुख आधुनिक पोखरातर्फ जाँदै छौँ। मौलिक अभ्याससहितको पोखरा, प्राकृतिक सुन्दरतालाई संरक्षण गर्न नसके परिचय नै बदलिन्छ,” उनले भने।

उनले एकीकृत विकास मोडेलमा एकैपटक सबै वडालाई कसरी नयाँपन दिने भनेर योजना बनाइरहेको बताइन्। उनले पूर्वाधार निर्माण सँगसँगै पोखरालाई कसरी सुन्दर र सम्पन्न शहर बनाउने, सुरक्षित र विकास कसरी गर्न सकिन्छ भनेर बहस शुरू गर्नुपर्ने बताइन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मीले पोखरा उन्नत शहरका रूपमा विकास होस् भन्ने निजी क्षेत्रको चाहना रहेको सुनाए। "हामी सबै नगरवासीको गुणात्मक सुधारको कल्पना गरेका छौँ", उनले भने।

पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्दा शहरलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने उनको भनाइ छ। ३ हजार मिटर रनवे नबनेसम्म पोखरालाई अन्तर्राष्ट्रियस्तरको शहरका रूपमा कल्पना गर्न  नसकिने उनको धारणा छ। विभिन्न देशका नेता नेपाल आउँदा पहिला पोखरा आउने वातावरण बनाउनुपर्ने बताए।

मुल्मीले जीवन्त र उन्नत शहर पछिको आर्थिक विकास बिर्सनु नहुने बताए। पोखरालाई आर्थिक रूपमा सुदृढ बनाउने चाहना सबैमा हुनुपर्ने उनको भनाइ छ। “निजी क्षेत्रको योगदान कसैबाट छिपेको छैन। धेरैलाई जानकारी छ। सबभन्दा पहिला नेपालको गलैँचा विदेश निर्यात गर्ने सबैभन्दा पहिला नेपालमा बनेको थियो,” उनले भने, “तिब्बती शरणार्थी पोखरा आएका थिए। उनीहरूलाई गलैँचा बुनाएर बेच्ने हामी हौँ।”