कतारमा २२ औँ संस्करणको विश्वकप सम्पन्न भइसकेको छ। विश्वकपलाई मध्यनगर गर्दै कतारले विकास निर्माणमा ठूलो लगानी गरेको छ भने फिफाले अहिलेसम्मकै धेरै मुनाफा कमाएको छ।
मध्यपूर्वी (अरबी) मुलुक कतार, जसले विश्वकपजस्तो बृहत् खेलको आयोजना गर्ने मौका पायो। विश्वकपको इतिहासमै सबैभन्दा महँगो बन्यो विश्वकप-२०२२। किनकि, कतारले संरचना निर्माणमा मात्रै २ खर्ब २० अर्ब डलर खर्च गर्यो। यो रकम सन् २०१८ मा भएको रुस विश्वकपको तुलनामा १५ गुणाले बढी भएको फिफाले जनाएको छ।
विश्वकपको मौका पारेर कतारले ठूलाठूला परियोजना र संरचनाहरूमा समेत लगानी गर्यो। कतारले विश्वकपको तयारीस्वरूप नयाँ विमानस्थल, रंगशाला, होटल, अपार्टमेन्ट, सडक, रेललगायतका भौतिक संरचनाहरू बनाएको थियो।
त्यस्तै, विश्वकपका लागि आवश्यक अत्याधुनिक ८ वटा रंगशालाको निर्माण समेत कतारले गरेको थियो। यो खर्च केबल विश्वकपकै लागि मात्रै भने थिएन, उसको पूर्वाधार र विकासको लक्ष्य अनुरूप पनि भौतिक संरचनामा प्रगति गर्ने योजनाअनुरूप नै कतारले विश्वकपमा यतिधेरै पैसा खन्याएको फोर्ब्सले उल्लेख गरेको छ।
कतारका तत्कालीन अर्थमन्त्री अलि शरीफ अल इमादीले सन् २०१७ मा विश्वकप आयोजनाबारे बोल्दै कतारले सडक, होटल, स्टेडियम र अन्य विमानस्थलको स्तरोन्नतिका लागि हरेक साता ५० करोड खर्च गर्ने योजना बनाएको फिफालाई बताएका थिए। कतारले त्यतिबेलै आफ्नो बृहत् योजनाबारे खुलाइसकेको थियो। कतारले योजनाबद्ध रूपमै विश्वकप-२०२२ भव्यतापूर्वक सम्पन्न गरेको छ।
यद्यपि पूर्वाधार निर्माण र सबलीकरणका क्रममा हजारौँ आप्रवासी श्रमिकले ज्यानको गुमाएपछि कतारको व्यापक आलोचनासमेत भयो। मानवअधिकारवादी संघसंस्थाले कतारकोविरुद्ध आवाज उठाइरहँदा विश्वकप सम्पन्न भयो। कतिपयले कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णय नै गलत हो भनिरहेका छन् भने कतिपयले अन्य कैफियत बिर्सिंदै यसलाई सकारात्मक रूपमा लिएका छन्।
फिफाका पूर्वअध्यक्ष सिप ब्लाटरले पनि कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णय गलत भएको बताएका थिए। फोर्ब्ससँगको कुराकानीका क्रममा नोभेम्बरमा ब्लाटरले भनेका थिए, “कतार सानो देश हो, विश्वकपको जिम्मेवारी उसका लागि निकै ठूलो हुन्छ।”
अर्बौं डलरका रंगशाला अब के हुन्छ?
कतारले विश्वकपका लागि भनेर अत्याधुनिक, सुविधासम्पन्न र वातानुकूलित रंगशालाहरू बनाएको छ। एकैपटकमा ४५ हजारभन्दा बढी दर्शक बसेर हेर्न मिल्ने अहमद विन अलि रंगशाला समेत कतारले बनाएको छ। योसहित उसले मुलुकभरका रंगशाला निर्माणमा अर्बौं डलर खर्चेको थियो।
तर, विश्वकप सकिएपछि कतारले ती रंगशाला कसरी प्रयोगमा ल्याउँछ भन्ने चासो अहिले सर्वव्यापी बनेको छ। कतारले भने यसअघि नै विश्वकप सकिएपछि रंगशालाहरूमध्ये केहीलाई पूर्ण रूपमा विस्थापित गरिने र संरचना निर्माणका लागि अन्य देशलाई दिने बताएको थियो।
यसैअनुरूप केही रंगशाला भत्काउने, केही पुनः उपयोग गर्ने, केहीको संरचनाको आकार घटाएर आवासीय क्षेत्र र सपिङ मलहरू बनाउने योजना कतारको छ।
जसमध्ये ४५ हजार सिट क्षमताको अहमद रंगशालालाई २० हजार सिट क्षमताको रंगशालामा परिणत गर्न कतारले जनाएको छ। यस्तै, ९७४ सिपिङ कन्टेनरबाट बनाइएको रस अबु अबौद रंगशाला पूर्ण रूपमा भत्काइने र यो बनेको क्षेत्र आसपासलाई तटीय व्यापार क्षेत्रका रूपमा बदलिने टाइम म्यागेजिनले उल्लेख गरेको छ।
यस्तै, बाँकी रंगशालाहरूको सिट क्षमता घटाएर आधा सिट संख्यामा झारिने छ। त्यसबाट बचेका कूल १ लाख ७० हजार सिट क्षमताका संरचनाहरू भत्काएर खेलका संरचनाहरू आवश्यक परिरहेका विकासशील मुलुकहरूलाई दिने तयारी भइरहेको रंगशाला निर्माण कमिटीका निर्देशक अलि दोसारीलाई उद्धृत गर्दै टाइमले उल्लेख गरेको छ। उनले भनेका छन्, “यसले विश्वभर फुटबल संस्कृतिको प्रवर्द्धन तथा विकास र खेलप्रतिको मायालाई बिस्तार गर्न सघाउनेछ।”
कतार विश्वकपबाट फिफाले कमायो अहिलेसम्मकै बढी रकम
फुटबलको नियामक निकाय फिफाले सन् २०२२ को कतार विश्वकपबाट अहिलेसम्मकै बढी साढे ७ अर्ब डलर आम्दानी गरेको छ। आफ्ना २०० भन्दा बढी सदस्य राष्ट्रहरूलाई जानकारी गराउँदै फिफाले आफ्नो आम्दानी सार्वजनिक गरेको हो। सन् २०१८ मा रुसमा भएको विश्वकपबाटभन्दा फिफाले कतारबाट १ अर्ब डलरभन्दा बढी कमाएको हो।
सन् २०१८ मा रुस विश्वकपबाट फिफाले ६ अर्ब ४० करोड डलर आम्दानी गरेको थियो। त्यसपछि फिफाले यो रकमबाट सन् २०२० मा कोरोनाका कारण असर पुगेको विश्वकप क्वालिफायर खेलहरूमा सहयोग गर्न विभिन्न राष्ट्रिय फुटबल टोलीलाई सहयोग गर्न खर्च गरेको थियो।
विश्वकपमा फिफाको आय आगामी ४ वर्ष अर्थात् सन् २०२६ मा १० अर्ब डलर पुग्ने सम्भावना छ। यसै सन्दर्भमा फिफाले महिला फुटबलका लागि नयाँ आर्थिक रणनीति ल्याएको छ। अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने भनिएको सन् २०२६ को विश्वकपमा ४८ वटा टोलीले सहभागिता जनाउने छन्। हालसम्म विश्वकपमा ३२ वटा राष्ट्रले भाग लिँदै आएका थिए।
सन् २०२२ मा विज्ञापन सम्झौता बढी हुँदा फिफाले यसअघिको विश्वकपभन्दा १ अर्ब डलर बढी आम्दानी गरेको फिफाले बताएको हो। सन् २०२२ को विश्वकपमा कतारको ऊर्जा कम्पनी टप–टायर, कतारी बैक ‘क्युएमबी’ र टेलिकम्युनिकेशन कम्पनी ‘ओरेदो’ नयाँ विज्ञापनदाताहरूका रूपमा थपिएका थिए।
सन् २०२६ को विश्वकपमा फिफाले पुराना विज्ञापनदाताहरू कोकाकोला, एडिडास र वान्डाको सम्झौतालाई निरन्तरता दिने बताएको छ। यस्तै, सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुन लागेको नवौँ महिला विश्वकपका लागि समेत छुट्टै विज्ञापन सम्झौता गरिरहेको फिफाले जनाएको छ।
विश्वकप आयोजक राष्ट्रको आयोजक कमिटी, विजेताहरूलाई दिइने रकम, फुटबल टोली तथा त्यसका सबै कर्मचारीहरूको भ्रमण र बसोबासको खर्च सबै फिफाले बेहोर्छ। विश्वकप विजेता राष्ट्रले पुरस्कारका लागि छुट्टाइएको ४४ करोड डलरको आर्थिक कोषबाट ४ करोड २० लाख डलर विश्वकप विजेताले प्राप्त गर्नेछ। यस्तै, विश्वकपमा दोस्रो हुनेले ३ करोड २० लाख डलर, तेस्राले २ करोड ६० लाख डलर र चौथोले २ करोड २० लाख डलर पाएका छन्।
यस्तै, क्वार्टरफाइनलमा पुग्ने टोलीले १ करोड ७० लाख र अन्तिम १६ मा पुग्ने टोलीले १ करोड ३० लाख र विश्वकममा सहभागी बाँकी १६ वटै टोलीले ९० लाख डलर पाएका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
