आईपीएल : पन्जाबसँग लखनउ पराजित, राजस्थानविरुद्ध कोलकाताको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो।

काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो।

हिमाञ्चल प्रदेश रंगशालामा पन्जाबले दिएको २३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो। लखनउको लागि आयुष बडोनीले ४० बलमा ५ चौका र ५ छक्का सहित टिमको लागि सर्वाधिक ७४ रन जोडे। अब्दुल सामदले ४५ रन बनाए। बलिङतर्फ पन्जाबका अर्षदीप सिंहले ४ ओभरमा मात्र १६ रन दिएर सर्वाधिक ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो। प्राभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए। श्रेयस अय्यरले ४५ रन जोडे। लखनउका आकाश सिंह र दिगभेष राथीले समान २ विकेट लिए।

पन्जाब ११ खेलमा सातौँ जित सहित १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। यस्तै, ११ औँ खेलमा छैटौँ हार बेहोरेको लखनउ १० अंकसहित साताैँ स्थानमा रहेको छ।

राजस्थानविरुद्ध कोलकाताको रोमाञ्चक जित

आइतबार नै सम्पन्न पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा राजस्थानले निर्धारित ओभरमा सात विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो। टोलीलाई जितको लागि अन्तिम बलमा तीन रन आवश्यक थियो। तर, शुभम दुबेले दुई रन मात्र बनाउन सके। नन स्ट्राइकमा उभिएका जोफ्रा आर्चर रन आउट भए।

राजस्थानका कप्तान रियान परागले ४५ बलमा ९५ रन बनाए। उनले लगातार ६ बलमा ६ छक्का प्रहार गरे। रियानले मोइन अलीको ओभरमा पाँचौं छक्का र वरुण चक्रवर्तीको ओभरमा छैटौं छक्का प्रहार गरे। उनी आईपीएलको इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने। परागबाहेक यशस्वी जयसवालले ३४, शिमरोन हेटमायरले २९ र शुभम दुबेले अविजित २५ रन बनाए। कोलकाताका मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए।

कोलकताका आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र चार चौका प्रहार गरे। रिंकु सिंहले ६ बलमा १९ रन बनाएर अविजित रहे। यी दुईबाहेक अङ्क्रिश रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए। राजस्थानका जोफ्रा आर्चर, युधवीर सिंह, महेश थेक्षाना र कप्तान रियान परागले समान एक विकेट लिए।

कोलकाता ११ अंकका साथ छैटौं स्थानमा रहँदा ६ अंक रहेको राजस्थान आठौँ स्थानमा छ। आईपीएलमा सोमबार सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन्।