काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्।

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण पहाडी भूभागमा साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गरेकाले ठाउँ–ठाउँमा वर्षा भइरहेको महाशाखाको भनाइ छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले सोमबार पनि बदलीको सम्भावना रहेको बताए। हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनको भनाइ छ। 

अधिकारीले भने, “कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना छ। अलि बढी कोशीमा पर्ने सम्भावना छ।” वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्। अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताए।