चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।
अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ। चिसोले जनजीवन प्रभावित हुँदा बिहीबार र शुक्रबार मात्रै अमेरिकाभर ५३ सय उडान रद्द भएको हवाई ट्र्याकिङ साइट ‘फ्लाइटअवेयर’ले उल्लेख गरेको छ।
वर्षको सबैभन्दा व्यस्त रहने समयमा मौसमका कारण उडानहरू रद्द भएका हुन्। सिकागो र डट्रोइटस्थित विमानस्थलहरूमा मौसमका कारण उडानमा ढिलाइ र स्थगित हुनसक्ने भनिएको छ।
अमेरिकामा हिमपातका कारण सडक यातायात पूर्ण रूपमा प्रभावित बनेको छ भने अधिकांश स्थानमा आपत्काल घोषणा गरिएको छ। धेरै स्थानमा कार, ट्रकहरू चिप्लिएर दुर्घटना भएका घटनासमेत बाहिरिएका छन्।
टेक्सस, केन्टकी, न्युयोर्क, नर्थ क्यारोलाइना, वेस्ट भर्जिनिया, जर्जिया र ओक्लाहामालगायतका राज्यमा आपत्काल घोषणा गरिएको हो। यस्तै, विन्स्कनसीनमा इन्धन आपत्काल घोषणा गरिएको छ। कोलोराडो राज्यको डेनभरमा एक घण्टाको अवधिमै ३७ डिग्री सेल्सियससम्म तापक्रम घटेको बताइएको छ।
हाल त्यहाँको तापक्रम माइनस २० डिग्री सेल्सियस छ। केही स्थानको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म मापन भएको अमेरिकी मौसम विभागले जनाएको छ। कतिपय स्थानको तापक्रम ५० डिग्री सेल्सियससम्म घट्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ।
विशेष गरी वासिङ्टन डिसी, फिलाडेल्फिया, न्यूयोर्क र बोस्टनमा ठूलो आँधी, वर्षा र हिउँको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ। फ्लोरिडामा ३० वर्षयताकै चिसो क्रिसमस हुने अनुमान छ।
अत्यधिक चिसो र हावाहुरी चलेका कारण यस वर्षको क्रिसमसमा दशकौँपछि बरफैबरफको मौसम बन्ने अनुमान गरिएको छ। मौसमविद्हरूले जाडोयामको आँधी ‘बम साइक्लोन’ बन्नसक्ने भनेका छन्। ‘बम साइक्लोन’ एक विस्फोटक आँधी हो जसको मध्यभागमा हावाको चाप चौबिस घण्टामा २४ मिलिबारको हिसाबमा घट्ने गर्दछ।
अत्यधिक चिसो बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सानो छँदा हिउँ पर्ने दिनजस्तो नभएर यो गम्भीर विषय भएको बताएका छन्। बाइडेनले स्थानीय सतर्कता सूचनाको पालना गर्न सबै नागरिकलाई आग्रह गरेका छन्। अमेरिकीहरूले एक पुस्तामा एकपटक अनुभव गर्नेजस्तो हिउँको हावाहुरी र चिसोको सामना गरिरहेको बताइएको छ।
यता, क्याडानामा अत्यधिक चिसोका कारण अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ। क्यानडाको वातावरण विभागले मौसमसम्बन्धी सूचना जारी गर्दै मुलुकभरका सबै प्रान्त र क्षेत्रमा चिसोबाट बच्न आग्रह गरेको छ।
विशेष गरी ओन्टारियो, भ्यानकुभर, किबेक र एटलान्टिक क्यानडामा अत्यधिक मात्रामा कम तापक्रम मापन भएको छ। यी क्षेत्रमा कठिन मौसमी प्रणाली रहेको बताइएको छ।
भ्यानकुभरमा एकै रातमा २५ सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने प्रक्षेपण गरिएको छ। केही स्थानमा १२० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउनसक्ने प्रक्षेपण छ।
वातावरण तथा जलवायु परिवर्तन विभागले ओन्टारियोको दक्षिणी क्षेत्रहरूमा आँधीको बढी सम्भावना रहेको भनेको छ। यस्तै, टोरन्टोमा पनि ९० किलोमिटर प्रतिघण्टाको वेगमा हिउँसहितको आँधी आउने बताइएको छ।
हाल क्यानडाको राजधानी ओटावा र अर्को शहर मोन्ट्रियलको तापक्रम माइनस २ डिग्री सेल्सियस, भ्यानकुभरको माइनस ६ डिग्री सेल्सियस र ओन्टारियो र टोरन्टोको तापक्रम ४ डिग्री सेल्सियस छ।
शक्तिशाली आँधी र हिउँका कारण क्यानडामा विद्युत् आपूर्तिमा अवरोध आउने भन्दै सतर्क रहन भनिएको छ।
अत्यधिक चिसो र हिउँका कारण शरीरको नाङ्गो छाला ५ देखि १० मिनेटमै जल्ने भन्दै विज्ञहरूले सतर्कता अपनाउन भनेका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
