वैभवको कीर्तिमानी शतकमा राजस्थानको जित

१४ वर्षीय वैभवले ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी र सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन्। 

काठमाडौँ– इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। वैभव सूर्यवंशीको शतकमा राजस्थानले घरेलु मैदानमा गुजरातलाई ८ विकेटले हराएको हो। 

जयपुरमा गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। १४ वर्षीय वैभवले ३५ बलमा शतक पूरा गरेका थिए। उनले ३८ बलमा ७ चौका र ११ छक्काको मद्दतमा १०१ रन बनाए। यससँगै उनी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने भने सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बने। 

यशस्वी जैसवालले नटआउट ७० रन बनाए। उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे। त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो। कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। जोस बटलरले ५० तथा साई सुदर्शनले ३९ रन जोडे।

जितसँगै राजस्थान आठौँ स्थानमा उक्लिएको छ। पहिलो स्थानमा उक्लिने मौका गुमाएको गुजरात भने तेस्रो स्थानमा झरेको छ।