ठगीको आरोपमा ५ बांग्लादेशी नागरिक पक्राउ

बांग्लादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बांग्लादेशी नागरिकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। 

काठमाडौँ महानगरपालिका–९ कालीमाटीमा बस्ने बांग्लादेशको चट्टोग्राम मोबारक गोना घर भएका मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगन्ज घर भएका मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका अबु युसुफ एमडी हानिफ रहेका छन्। 

त्यस्तै, काठमाडौँ–८ गौशाला बस्ने मागुरा मागुरासदर थाना बेरोइलग्राम घर भएका  मिल्टन भन्नेकाजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा घर भएका अजिम मोलिकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

“बांग्लादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा निजहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरिएको हो,” उनले भने।

नेपाल हुँदै वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायत मुलुकमा पठाउन सहज हुने भनी एजेन्टमार्फत पर्यटक भिसामा बांग्लादेशी नागरिकलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितबाट ४५ हजार ५०० अमेरिकन डलर लिई सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूका साथबाट राहदानी १९ थान, मोबाइल चार थान, अमेरिकन डलर नौ हजार ८५०, बंगाली टाका ३९ हजार ९०५ र नेपाली रु २५ हजारसमेत प्रहरीले बरामद गरेको छ। उनीहरूलाई काठमाडौँ महानगर–९ सिनामंगलस्थित शिवसताक्षी गेस्ट हाउसबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता आचार्यले बताए।