भ्रमणमा खर्चको यस्तो बेपरवाह छ कि पैसाको खोलै बगेको छ। नगरवधूका लागि लाखौँ खर्चिएका छन्। उपहार, सुनका गहना र उनको पहिरनको पनि त्यस्तै वर्णन छ।
नेपालको पहिलो राणा प्रधानमन्त्रीको बेलायतको भ्रमणलाई नै विषय बनाएर आर्थिक तथा वित्तीय मामिलामा कलम चलाउने पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको पुस्तक ‘जंगबहादुर इन इङ्ग्ल्यान्ड’ हात लाग्यो। जम्मा १११ पृष्ठको पुस्तक दुई बसाइँमा नै पढिसकियो। पुस्तकमा जंगबहादुरको बेलायत र फ्रान्स भ्रमणका विविध पक्ष र रोचक प्रसंग समावेश छन्। पुस्तकमा भूमिका लेख्दै इतिहासविद् त्रिरत्न मानन्धरले जंगबहादुरको सन् १८५०-५१ को इंग्ल्यान्ड र फ्रान्स भ्रमण नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण घटना भनी उल्लेख गर्नुभएको छ। आफै पनि कूटनीतिको विद्यार्थी र पेशेवर कूटनीतिज्ञ भएकोले यस पुस्तकप्रति विशेष चाख हुने नै भयो।
मुलुकको आजको भूगोल रहिरहन जंगबहादुरका कतिपय निर्णयहरू ऐतिहासिक छन्। लखनउ विद्रोह नियन्त्रणपछि जंगबहादुरलाई बेलायतले ‘१० लाख रुपैयाँ नगद लिन्छौ कि पश्चिम तराई (जुन नेपालले गुमाइ अवध राज्यअन्तर्गत थियो) को जंगल क्षेत्र लिन्छौ?’ भनेर सोध्दा सो रकम बराबरको भूमि रोजेर हालको बाँकेको नेपालगन्जमा व्यापारिक केन्द्र खोलेको प्रसंग किताबमा छ। पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई त्यस कारण पनि नयाँ मुलुक भनिएको हो। यो भूमि प्राप्तिमा उनको तीक्ष्ण तथा राष्ट्रवादी निर्णय क्षमता कारक रहेको देखिन्छ। अर्को रमाइलो पक्ष के पनि छ भने बेलायत भ्रमणको दौरान जंगबहादुर त्यहाँकी नगर बधू लौरा बेलसँग प्रेममा परेका थिए, र उनकै अनुरोधबमोजिम लखनउ विद्रोह दबाउन जंगबहादुर गएको किताबमा पढ्न पाइन्छ।
यो पनि: जंगबहादुरको अति महँगो 'रति क्रीडा'
सामान्य परिवारका जंगबहादुर राज्यसत्ताको बागडोर सम्हाल्ने कुरा सामान्य थिएन। सत्ता हत्त्याउने उद्देश्यसाथ आफ्नै मामा माथवर सिंहको हत्यासमेत गरेका थिए उनले। कोत पर्वबाट उदाएका उनी भण्डारखाल पर्वपछि त निर्विकल्प तानाशाहका रूपमा स्थापित भए। शाह राजा नाम मात्रका र शक्तिहीन हुन पुगे, जुन विसं. २००७ सालसम्मै रह्यो। विशेष गरी, सधैँ राजपरिवार भित्रको शक्तिसंघर्ष र एकले अर्कोविरुद्व खडा गर्ने षडयन्त्रको कारण पनि सधैँ अस्थिरता छाइ नै रह्यो। हालसम्म पनि शासनप्रणालीमा परिवर्तन आए पनि नेपालमा अस्थिरता भने पर्यायवाची यो वा त्यो रूपमा रही नै रहेको छ। त्यो बेलाजस्तो काटमार र हिंसात्मक षड्यन्त्र नभए पनि हामीले राजनीतिक स्थिरता र आर्थिक सम्पन्नता हासिल गर्नै सकेनौँ।
विसं. १९०६ माघ ४ गते जंगबहादुरले काठमाडौँबाट बेलायतको औपचारिक भ्रमण शुरू गरे। उनीसँगै करिब ८०० जनाको टोली प्रस्थान गरेको थियो। स्मरणीय छ, करिब १०० वर्षपछि मोहनशमशेर राणा भारतको औपचारिक भ्रमणमा जाँदा ४०० जनाको टोली लिएर गएका थिए। त्यसो हुँदा, नेपालको जम्बो सरकारी टोली विदेश भ्रमणमा जाने हाम्रो परम्परा नयाँ भने होइन रहेछ। उनी फागुन २९ गते कलकत्ता पुग्छन्। सन् १९१२ भन्दा अघि भारतको राजधानी कलकत्ता नै थियो, त्यहाँ अंग्रेज अधिकारीहरूले उनको भव्य स्वागत गरे। उनको टोलीको सत्कारमा फागुन ३० गते ८० वटा खसी, १० मुरी चामल, सोही अनुसारको च्यूरा, नुन, तेल, घिउ, बेसार, रोटी, अचार, दही, केरा, मसला र तरकारीलगायत सामग्री तयार पारिएको थियो।
त्यहाँ केही दिन बिताउने सिलसिलामा उनले जगन्नाथ मन्दिरको दर्शन पनि गरे र मन्दिरलाई उक्त समयको रु. पाँच हजार दानसमेत दिए। उनी कलकत्ताबाट बेलायततर्फ सात तला अग्लो करिब १२०० जना मानिस अट्ने पानीजहाजमा चढे। हिन्दूहरूले अरूले पकाएको खाना खान हुँदैन भनेर उनले पानीजहाजमा खानापिना, फलफूलदेखि दूध दिने गाई र त्यसका लागि घाँसपानीसमेत बोकेर लगिएको थियो। उनी समुद्रको लामो यात्रा गरी १९०७ जेठ १५ गते अर्थात् चार महिना ११ दिनपछि बेलायतको साउथह्याम्पटन बन्दरगाह पुगे।
बेलायतमा रहँदा जंगबहादुरले भेटघाटका अलावा घोडा खरिद, बेलायती गाईगोरु खरिद, भेडा कुकुर र प्रेस खरिद, सैन्य केन्द्र वुल्विचको यात्रा, वुलविच आर्सनलको भ्रमण, सेन्ट पल क्याथेड्रल र टावर अफ लन्डन तथा बैंक अफ इङ्ल्यान्ड, थिएटर, ओपेरा र ब्याले लगायतको भ्रमण पनि गरे।
त्यसै गरी, उनले औद्योगिक शहरको नाममा परिचित बर्मिङ्घम भ्रमण गरे, जसलाई उक्त समयमा संसारको कार्यशालाको नाममा चिनिन्थ्यो। सन् १८५० जुन १९ मा बेलायती महारानी भिक्टोरियासँग उनको भेटघाट भयो। उनी पुग्दा भिक्टोरिया सुत्केरी भएकोले केही समय पर्खनुपरेको देखिन्छ। महारानीले भेटमा नेपालका जनताको स्वास्थ्य र अवस्था कस्तो छ भनी सोधेको किताबमा उल्लेख छ। रानीले जंगबहादुरलाई पर्खाउन परेकोमा समेत क्षमा मागेकी थिइन्। जंगबहादुरले लिएर गएका उपहारबाट रानी बेखुसी रहेको थाहा भएपछि पुनः उपहार पठाइएको सन्दर्भ पनि पुस्तकमा उल्लेख छ। जंगबहादुरले बेलायतमा रहँदा त्यहाँको संसद्को समेत अवलोकन गरी संसदीय प्रक्रियाबारे अध्ययन गरेछन्, जुन उनका लागि बिलकुलै नौलो थियो। त्यसै गरी जंगबहादुरले स्कटल्यान्डको एडिनवर्ग शहरको पनि भ्रमण गर्न भ्याएछन्।
बेलायतबाट नेपाल फर्कनुअघि १९०७ भाद्र ६ गते महारानीसँगको बिदाइ भेटमा ‘कहिल्यै आवश्यक पर्दा मेरो देशका सेना र धन तपाईंको सेवामा उपलब्ध हुनेछन्, इङ्ल्यान्डको मेरो देशप्रति मित्रता सदैव कायम रहनेछ महारानी’ भनी रानीलाई आश्वस्त पारेका रहेछन्। भ्रमणका दौरान जंगबहादुरको प्रिन्स कन्सोर्ट (रानीका पति) राजकुमार अल्बर्टसँगको भेट अर्थपूर्ण छ। उनले आन्तरिक कुरा किन अरू मुलुकका प्रतिनिधिसँग गरे होलान् भन्ने पनि लाग्छ।
जंगबहादुरले आफू सत्तामा पुग्न धेरै संघर्ष र षड्यन्त्रकारी शक्तिहरूसँग भिड्नुपरेको र सत्तारुढ शासकको जीवन सधैँ सुरक्षाका दृष्टिले खतरा मोलेर अघि बढ्नुपर्ने रहेको उल्लेख गर्दै चुनौतीका पहाडहरू रहेको बताएका रहेछन्, पुस्तकमा यो उल्लेख छ।
बेलायत भ्रमणमा जंगबहादुरले त्यहाँको संवैधानिक व्यवस्था, प्रधानमन्त्रीको कार्य, सेना प्रमुखका कार्य, संसद् तथा संसद्को भूमिका बुझे। उतिखेर बेलायतको संसद्ले 'महिलालाई पुरुष र पुरुषलाई महिलाबाहेक सबै गर्न सक्ने'सँगै राजारानीसमेत हटाउन सक्ने सामर्थ्य राख्थ्यो भनेर हामीले स्कुल क्याम्पसमा पढेका थियौँ।
जंगबहादुरले बेलायत गई राज्यका जिम्मेवारीसँगै नागरिक जिम्मेवारीबारे पनि जान्ने बुझ्ने र देख्ने अवसर पाएछन्, तर के कति ग्रहण गरी नेपालमा पनि शुरूआत गरे, त्यो फरक कुरा हो।
बेलायतको भ्रमण सकी जंगबहादुर फ्रान्स भ्रमणमा जान्छन्। इंग्लिस च्यानलको प्रयोग गरी जंगबहादुर फ्रान्स गएका थिए। उनको टोलीलाई स्वागत गर्न करिब एक लाख पच्चिस हजार दर्शकहरू रेल्वे स्टेसन पुगेको पुस्तकमा उल्लेख छ। त्यति ठूलो जमात रेल स्टेसनमा साँच्चै अटाउन सक्थ्यो वा सक्थेन, त्यो अर्को प्रश्न भयो। जे भए पनि त्यहाँ उनको भव्य स्वागत भएको बुझ्न सकिन्छ। फ्रान्समा रहँदा उनले त्यहाँका ऐतिहासिक ठाउँ र धरोहरहरूको समेत भ्रमण गरे। फ्रान्स त्यस समयको अर्को शक्तिशाली साम्राज्य थियो। विशेषतः अफ्रिकातिर यसको बढी उपनिवेशहरू थिए भने एसियामा भियतनाम र कम्बोडियासमेत आएको थियो फ्रान्स।
नेपालसँग उतिखेर फ्रान्सको प्रत्यक्ष सम्बन्ध नरहे पनि विश्व शक्ति सम्बन्धमा त्यस देशको स्थान बुझेर जंगबहादुर फ्रान्स गएका हुन सक्छन्। उनको भ्रमणको समयमा फ्रान्समा राजनीतिक अस्थिरता थियो। भर्खरै सन् १८४८को फ्रान्सेली राज्य क्रान्तिपछि गणतन्त्र स्थापना भएको अवस्था थियो जंगबहादुर फ्रान्स पुग्दा। जहाँसम्म नेपाल र फ्रान्सको सम्बन्ध हो, पछि सिल्भा लेभीले त्यसमा इँटा थप्ने काम गरे। नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो चार मुलुकमध्ये फ्रान्स पनि एक हो।
फ्रान्सले पनि नेपाललाई 'हिमालयको एक युद्धप्रेमी राष्ट्र'को रूपमा जंगबहादुरको भ्रमणलाई महत्त्व दिएको हुन सक्छ। जंगबहादुरले फ्रान्सको लुभ्र सङ्ग्रहालय तथा भर्सेलिज दरबारको समेत भ्रमण गरेका थिए। सन् १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत भर्सेलिज दरबार त्यही थियो, जसलाई छाडेर सन् १७८९ को फ्रान्सेली क्रान्तिमा लुइस सोह्रौँ भागेका थिए। पहिलो विश्वयुद्धको अन्त्य गर्ने सन्धिमा यसै ऐतिहासिक दरबारमा हस्ताक्षर गरिएको थियो, जसलाई भर्सेलिज सन्धि पनि भनिन्छ। यसले लिग अफ नेसन्सको समेत स्थापना गर्यो। फ्रान्समै रहँदा उनले त्यहाँका ग्रामीण क्षेत्रहरूको समेत भ्रमण गरी किसानहरूको अवस्था बुझे। यसले उतिखेर फ्रान्समा निकै चर्चा पाएछ।
पेरिसबाट मार्से हुँदै अलेक्जान्ड्रिया (हालको इजिप्टको महत्त्वपूर्ण दोस्रो ठूलो शहर) हुँदै बेलायत स्वदेशतर्फ फर्केछन्। इतिहासमा अलेक्जान्ड्रिया विश्वविद्यालयको कारण पनि यो ठाउँ बढी प्रसिद्ध छ। समर प्यालेसको रूपमा चर्चित मुन्तजा प्यालेस अलेक्जान्ड्रियामै छ। ३० वर्ष (१९८१ देखि २०११ सम्म) शासन चलाएकै कारण चर्चामा रहेका होस्नी मुबारकको देश हो इजिप्ट।
स्वेज क्यानल पनि यसै क्षेत्रमा छ, जसले मेडिटेरियन सागर र रेड सागरलाई जोड्ने गर्छ। यो मानव निर्मित नहरको रणनीतिक महत्त्व हिजो र आज पनि उत्तिकै छ। यो देश मेडिटेरियन सागरसँगै रहेकोले अर्कोपटि युरोपको ग्रीस पनि देखिन्छ।
अलेक्जान्ड्रियाबाट कायरो हुँदै जंगबहादुर बम्बई बन्दरगाह आइपुगेछन्। फर्कने क्रममा रामेश्वर मन्दिरको दर्शन गरी त्यहाँ पाँच हजार रुपैयाँ दान गरेछन्। त्यसै गरी बनारसमा रहँदा त्यहाँको क्वीन्स कलेजको पनि भ्रमण गरी कलेजको कोषका लागि चार हजार रुपैयाँ सहयोग प्रदान गरेछन् भने बनारसमै उनले दोस्रो विवाह गर्नसमेत भ्याएछन्। हुन त शासकले चाहेमा नहुने र असम्भव के नै हुन्थ्यो र उक्त समयमा?
सन् १८५० जनवरी १५ मा बेलायतका लागि प्रस्थान गरेका जंगबहादुर राणा १८५१ फेब्रुअरी ६ मा काठमाडौँ आइपुग्छन् र काठमाडौँमा उनको भव्य स्वागत हुन्छ। एक वर्षभन्दा बढी समय उनी मुलुकभन्दा बाहिर रहे। यत्रो दुःख कष्ट र लामो समय लाग्ने यात्राका लागि उनले किन मरिहत्ते गरे होलान् र उनले चाहेको कुरा पूरा भयो कि भएन होला उक्त भ्रमणबाट, त्यो बेग्लै पाटो भयो।
बेलायत भ्रमण-अध्ययन अवलोकनपछि उनी थप सर्वशक्तिमान् रहेकोले उनीसँग नेपालका लागि धेरै गर्न सक्ने अवस्था र अवसर पनि थियो। उनले गिद्धे प्रेस ल्याए, न्यायिक सुधारको रूपमा मुलुकी ऐन, प्रशासनिक सुधार, सतीप्रथा तथा दासप्रथाको अन्त्य, जुवातास कम गर्ने प्रयास, अंग्रेजी शिक्षा, विवाह तथा स्वास्थ्यमा सुधार र हुलाक प्रणालीलगायतमा सुधार ल्याएको, ल्याउन प्रयास गरेको भनेर अन्य पुस्तकहरूमा पढ्न पाइन्छ।
तर त्यत्रो दुःख कष्ट सहेर बेलायत पुगेर फर्केपछि उनले समुन्द्रको महत्त्व किन बुझ्न सकेनन् होला? नेपाल भूपरिवेष्टित मुलुकबाट उन्मुक्ति हुने अवसर हुन सक्थ्यो उनको भ्रमण। उनले महारानी भिक्टोरिया वा इस्ट इन्डिया कम्पनीका दूतहरूसँग विशेष अनुरोध गर्न सक्ने पनि हैसियत राख्थे। त्यसो गरेको भए पक्कै पनि समुन्द्रसम्मको पहुँचका लागि समेत समेटेर नेपालले भूगोल पाउन सक्थ्यो र त्यसो भएको भए नेपालको अझ धेरै रणनीतिक महत्त्व र स्वतन्त्र निर्णय गर्ने क्षमता हुने थियो। भूपरिवेष्टित हुनुको पीडा शायद हामीले भोग्नुपर्दैनथ्यो।
उसो त जहाजमा यात्रा गर्दा उतिखेर सामुन्द्रिक डाँकुहरूको धेरै डर हुने र कतिपयले यात्रुहरूको हत्यासमेत गरिदिने हुनाले सोही खतरा जानी बुझेर समुन्द्रसँग शायद नेपाललाई जोड्न चाहेनन्। या, समुन्द्रसम्म पहुँच हुँदा बाह्य हस्तक्षेप र आक्रमण झनै सहजै होला भन्ने पो ठाने कि? जे होस्, उनले र उनलाई सल्लाह दिनेहरूले यस मामिलामा दीर्घकालीन सोच राख्न सकेनन् कि झैँ लाग्छ।
अर्को पक्ष, भ्रमणमा खर्चको यस्तो बेपरवाह छ कि पैसाको खोलै बगेको छ। नगरवधूका लागि लाखौँ खर्चिएका छन्। उपहार तथा सुनका गहना र उनको पहिरनको पनि त्यस्तै वर्णन छ। उक्त समयमा त्यति ठूलो रकम जंगबहादुरले कहाँबाट व्यवस्था गरे होलान्? अनि यति लामो भ्रमणको चाँजोपाँजो र सञ्चार व्यवस्थापन कसरी सम्भव भयो होला? आफै मालिक भएपछि आर्थिक व्यवस्था त सहज भयो होला, तर भ्रमणका लागि जंगबहादुरको इन्तजाम, हिम्मत तथा आत्मविश्वास चाहिँ प्रशंसालायक नै छ।
किताबको एउटा सन्दर्भ उल्लेख गरिहालौँ: अप्रिल ७, १८५०-जंगबहादुर राणाको नेतृत्वमा नेपालबाट बेलायततर्फ प्रस्थानको ऐतिहासिक यात्रा ब्रिटिस जहाज हेडिङ्टनमा आरम्भ भयो। अप्रिल ७ का दिन बिहान उनी आफ्ना अनुचरसहित सलामी खाएर पी एन्ड ओ कम्पनीको स्टिमर हेडिङ्टनमा चढे। पाँच हजार पाउन्डमा चार्टर गरिएको यो स्टिमरको लम्बाइ ३ सय फिट, चौडाइ ७५ फिट र उचाइ समुन्द्री सतहबाट १० फिट थियो। जहाजले बन्दरगाह छोडेपछि नेपालबाट सुरक्षाका लागि खटिएर आएका राइफल रेजिमेन्टका आठ सय जवान रुवाबासी गर्न लागे। कहिल्यै समुद्रबारे नसुनेका नदेखेका र समुद्र भनेको कालापानी हो भन्ने सुनेका ती जवानहरूलाई लाग्थ्यो- हाम्रा श्री ३ प्राइममिनिस्टर जंगबहादुर अब कहिल्यै फर्केर आउने छैनन्।
किताब संक्षिप्त छ, तर पुस्तकमा ऐतिहासिक विवरण दिँदा स्रोत उल्लेख गरिदिएको भए पाठकलाई थप ती स्रोतमा घोत्लिने र अतिरिक्त जानकारी, अध्ययन र अनुसन्धान गर्नका लागि सहयोगी हुने थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
