कुटपिटमा संलग्न ४ ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

एक पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाउँदै छानबिन थालेको जनाएको छ।

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक पुरुषमाथि भएको कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ।

ट्राफिक प्रहरीले एक जना पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि ती ट्राफिक प्रहरीको आलोचना भएको थियो। त्यसपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्न ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरी जारी गरेको विज्ञप्तिमा प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटना २०८१ मंसिर २३ गते काठमाडौँको सुन्धारास्थित आकाशे पुलमुनि भएको हो।

“उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइ आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।