प्रचण्डले भने– प्रधानमन्त्री को बन्ने सल्लाह गर्दैछौँ, राष्ट्रपतिबारे अहिले नसोध्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने, तर नेतृत्व कसले गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने बताएका छन्। अध्यक्ष दाहालले सरकारको नेतृत्व कसले गर्ने भनेबारे सल्लाह भइरहेको प्रतिक्रिया दिए।

बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिएलगत्तै उनलाई संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सरकारको नेतृत्वमा तपाईं कि शेरबहादुर देउवा भनी प्रश्न सोधेका थिए। उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने जवाफ दिएका हुन्।

अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिले नै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरे। शपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाइ थियो।

"सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो। आज शपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी बन्छ। र, काम अगाडि बढ्छ", उनले भने, "अब सरकार यही गठबन्धनको बन्छ। प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौँ। राष्ट्रपतिबारे अहिले नसोध्नुस्।"

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित गठबन्धनमा आबद्ध दलहरूसँगको छलफललाई तीव्रता दिएका छन्। त्यस्तै, एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत संवाद गरिरहेका छन्।

यता, प्रतिनिधिसभामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री दाबी स्वाभाविक नभएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। अध्यक्ष दाहालले मुलुकको समृद्धिका लागि आफूले एकपटक सरकारको नेतृत्व लिन चाहेको जिकिर गर्दै आएका छन्।