सन्दीपलाई कारागारमा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दर्ता भएको पुनरावेदन मुद्दा बिहीबारका लागि स्थगित भएको छ।

ललितपुर – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दा स्थगित भएको छ। लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दर्ता भएको पुनरावेदन मुद्दा बिहीबारका लागि स्थगित भएको हो।

बेरितको आदेश बदर गरी पाऊँ भन्दै लामिछानेका कानून व्यवसायीका तर्फबाट मंसिर २९ गते उच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको थियो। बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो। तर, लामिछानेका कानुन व्यवसायीका तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको छ।

नाबालिग जबरजस्ती करणी अभियोगमा कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि सुनधारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको थियो। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको किनारा नलागेसम्म आरोपित लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका थिए। जिल्लाको आदेशविरुद्ध लामिछानेले पुनरावेदनको मुद्दा दर्ता गरेका हुन्।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै नाबालिगले भदौ २१ मा प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसको भोलिपल्ट भदौ २२ गते प्रहरीले लामिछानेविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरू गरेको थियो। प्रहरीले असोज २० गते नाबालिग बलात्कार अभियोगमा लामिछानेलाई पक्राउ गरिएको थियो।

कात्तिक १४ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाट क्षतिपूर्ति भराउन माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय माग दाबी गरिएको छ।