चारदेशीय टी२० शृंखलाको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल चारदेशीय टी२०आई शृंखलाको उपविजेतामा सीमित भएको छ।

काठमाडौँ– नेपाललाई पराजित गर्दै कुवेतले चारदेशीय टी२०आई शृंखला विजेता बनेको छ। आइतबार सम्पन्न खेलमा कुवेतसँग नेपाल तीन रनले पराजित भएको हो।

टी२० मा कुवेतसँग नेपाल पहिलोपल्ट पराजित भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई पराजित गरेको थियो।

हङकङमा भएको खेलमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि बसिर अहमदले अर्धशतकीय इनिङ्स खेले। उनले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए। नन्दन यादवले १४ बलमा ३७ रन जोडे। बसिफ शेखले २१ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए।

यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएसन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए। क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिए। करण केसी र कुशल भुर्तेलका नाममा १/१ विकेट रह्यो।