काठमाडौँको आकाशमा हुस्सु, बिहानैदेखि उडान अवरुद्ध

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेपछि उडान तथा अवतरण हुन सकेको छैन।

फाइल तस्वीर

काठमाडौँ– देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ। काठमाडौँ उपत्यकासहित पहाडी तथा तराई भूभागमा हुस्सु/कुहिरोले ढाकेको छ।

उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ। जसका कारण उडानहरू अवरुद्ध भएका छन्। भिजिबिलिटी कम भएका कारण बिहान ८ बजेदेखि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

“बिहानैदेखि उडान र अवतरण हुन सकेको छैन। कम भिजिबिलिटीका कारण यहाँ अवतरण हुन नसकेपछि पाँचवटा जहाज जनकपुर र सीमरा डाइभर्ट गरेका छौँ”, सिटौलाले उकालोसँग भने, “अहिले मौसम सुधार हुने क्रममा रहेकाले उडान सुचारू गर्ने तयारीमा छौँ।”

उडान अवरुद्ध हुँदा देशको विभिन्न ठाउँमा यात्रा गर्नेलाई समस्या भएको छ। हुस्सु र कुहिरोका कारण काठमाडौँमा जाडो बढेको छ। नेपालको पूर्वी भूभागमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्ले बताएका छन्।

देशका अधिकांश क्षेत्रमा तापक्रम घट्दै जाने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।