सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज ९.६६ अंक बढेर २,६७६.२८ विन्दुमा पुगेको छ।

काठमाडाैँ– शेयरबजार परिसूचक नेप्सेमा बुधबार सामान्य अंकको वृद्धि भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज ९.६६ अंक बढेर २,६७६.२८ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.४४ अंकले बढेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको १ करोड ७३ हजार कित्ता शेयर खरिदबिक्रीमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको हो।

आज नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढ्दा दुई उपसमूहको परिसूचक भने घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, लगानी र उत्पादन तथा प्रशोधन  उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। बैंकिङ र व्यापार उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ।