आईपीएल: मुम्बईमाथि बेंगलुरुको जित

बेंगलुरुले वाङ्खडे रंगशालामा मुम्बईलाई १० वर्षयता पहिलो पटक पराजित गरेको हो। २२२ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो।

काठमाडौँ– इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ। 

बेंगलुरुले वाङ्खडे रंगशालामा मुम्बईलाई १० वर्षयता पहिलो पटक पराजित गरेको हो। जारी सिजनमा चौथो खेलमा बेंगलुरुको यो तेस्रो विजय हो। मुम्बईले भने पाँचौँ खेलमा चौथो हार बेहोरेको छ।

जितका लागि २२२ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो। ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। तिलक वर्माले ५६, हार्दिक पाण्ड्याले ४२, विल ज्याक्सले २२ र सूर्य कुमार यादवले २८ रन बनाए। 

बेंगलुरुका क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए।

त्यसअघि मुम्बईले टस जित्दै फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बेंगलुरुले २० ओभरमा ५ विकेटको क्षतिमा २२१ रन बनायो। विराट कोहलीले सर्वाधिक ६७ रन बनाए। रजत पाटिदारले ६४  तथा देवदत्त पाडिक्कलले ३७ रनको योगदान दिए। 

मुम्बईका हार्दिक पाण्ड्या र ट्रेन्ट बाउल्टले समान २ विकेट लिए।