भोजपुरको दुर्गम गाउँमा स्वास्थ्य सेवा, जीवनजल लिन घण्टौँ हिँड्नुपर्ने अवस्थाको अन्त्य

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयले सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ। गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो। 

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर  सेवा प्रवाह गरेको उनको भनाइ छ। 

सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुशी लागेको टेम्केमैयुङ– ५ का रमेश विष्टले बताए। “सामान्य स्वास्थ्य सेवा लिन नै समस्या थियो,” उनले भने,“अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ।” 

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भए पनि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीय देवबहादुर विष्टले बताए। स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनको लागि घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए।