राष्ट्रिय खुला टी–२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी शुरूआत

पोखरा रंगशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ।

कास्की– पोखरा रंगशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ।

पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी शुरूआत गरेका छन्। आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्‍यो। खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा १६२ रन बनाएको थियो। पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रन बनाउन सक्यो।

स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे। उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। किरण भट्टराई २३ रनमा अविजित रहे। पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुई/दुई विकेट लिए भने सुवाष बाँस्तोला र मार्सल बरालले समान एक/एक विकेट लिए।

यसैगरी, दोस्रो खेलमा काठमाडौँले हेटौँडालाई ११ रनले पराजित गर्‍यो। १५२ रनको विजयी लक्ष्य पाएको हेटौँडा २० ओभरमा १४० रनमा ‘अलआउट’ भयो। हेटौँडाका लागि शुभ कङ्शाकरले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन। उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।

पहिला टस जितेर ब्याटिङ गरेको सीईसी काठमाडौँले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रन बनाएको थियो। काठमाडौँका लागि पृथु बाँस्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले। उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षकसमेत रहेका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो।

आगामी बैशाख ५ गतेसम्म सञ्चालन हुनेप्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जनाएका छन्। प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले ३० हजार, बेस्ट बलर, बेस्ट ब्याटरले जनही १० हजार र ‘म्यान अफ दि म्याच’ले पाँच हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ।