आईपीएलमा दिल्लीको लगातार तेस्रो जित

आईपीएल २०२५ मा दिल्लीको यो लगातार तेस्रो जित हो। यससँगै ६ अंकका साथ दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २५ रनले पराजित गरेको छ। आईपीएल २०२५ मा दिल्लीको यो लगातार तेस्रो जित हो।

यस खेलमा पहिले ब्याटिङ गर्दै दिल्लीले निर्धारति २० ओभरमा छ विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। योसँगै चेन्नईले लगातार तेस्रो हार बेहोरेको छ। यसअघि, राजस्थान र बैंग्लोरूसँग पनि पराजित भएको थियो। 

चेन्नईका लागि विजय शंकरले सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले। शिभम दुवे १८ रनमा आउट भए। यस्तै, डेभोन कन्वे १३, रचिन रविन्द्र ३, कप्तान ऋतुराज गायकवाड ५ तथा रविन्द्र जडेजा २ रनमा आउट भए। महेन्द्रसिंह धोनी र शंकरले ८४ रनको नट आउट साझेदारी गरे। धोनीले २६ बलमा १ चौका र १ छक्काको सहयोगमा ३० रनमा नट आउट रहे।

दिल्लीका लागि भिपराज निगमले २ तथा मिचेल स्टार्क, मुकेश कुमार र कुलदिप यादवले समान १ विकेट लिए।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीका लागि ओपनर केएल राहुलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अभिषेक पोरेलले ३३ रन जोडे। कप्तान अक्षर पटेल १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रनमा आउट भए।

चेन्नईका लागि खलिल अहमदले २ तथा मथिशा पथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान १ विकेट आफ्नो नाममा गरेका थिए।

दिल्लीले ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो।

उता, चौथो खेल खेलेको ५ पटकको च्याम्पियन चेन्नईको २ अंकका साथ आठौं स्थानमा रहेको छ। चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो।