पूर्वराजाको पूरा नहुने रहर

गणतन्त्रलाई मजबुत पार्ने हो भने हुन नसकेका कामहरू गरेर देखाउन अनिवार्य छ। तिमीभन्दा हामी बढी छौँ भनेर दिनैपिच्छे फरक दलले नारा जुलुस गरेर मात्र आक्रोश थाम्न सकिँदैन।

नेपालमा केही समययता पूर्वराजालाई पुनः सत्ताको बागडोर जिम्मा लगाउनुपर्छ भन्ने आवाज उठ्न थालेको थियो। गणतन्त्रका नेताहरू थप 'गन्हाउँदै जान थालेपछि' यस्ता स्वरहरू ठुलो सुनिन थालेको हो। एकपछि अर्को विवादित निर्णयहरू हुने, जनताको पक्षमा खासै काम नहुने कारणले गर्दा जनतामा उदासीनता देखिएको हो। उता, आफ्नै गलत निर्णयका कारण २४० वर्षको वंशीय शासन ज्ञानेन्द्र शाह आफैले अन्त्य गरेका हुन्। विशाल जनआन्दोलनका कारण उतिखेर बाध्य भएर ज्ञानेन्द्र गद्दी छाड्न तयार भए। 

तर अन्यत्रका राजाहरूले झैँ कारावास वा निर्वासनको जीवन भने उनले बिताउन परेन। ससम्मान सरकारी सुविधासहित बाँकी जीवन बिताउन गणतन्त्र नेपालले नै ग्यारेन्टी गरिदियो। तर शासन सम्हालेका नेताविरुद्ध जनता खुलेर नै बाहिर आउन थालेपछि मठमन्दिर घुम्ने बहानामा देश भ्रमणमा लागेका पूर्वराजामा पुनः शासनको भोक सवार भयो। प्रजातन्त्र दिवसको अघिल्लो दिन उनले बुझिने गरी यस्तो अभियानमा लागेको घोषणा गरे। उनलाई साथ सहयोग दिने मानिसको झुन्ड पनि अलि फराकिलो भएझैँ देखियो। तर आन्दोलनका नाममा चैत्र १५ गते राजावादीहरूले तीनकुनेदेखि भक्तपुरसम्म मच्चाएको तबाहपछि  भने नयाँ परिस्थिति  सिर्जना भएको छ।  

लामो सङ्घर्ष, बलिदानी र १० वर्षीय जनयुद्धको जगमा गणतन्त्रको घर ठडिएको हो। जनताको अपेक्षा अनुसार नेतृत्वले काम गर्न नसकेको कुरामा दुई मत छैन। स्वाभाविक परिवर्तनहरू नभएका पनि होइनन्, तर जन जीवन स्तर जुन रूपमा उकास्न आवश्यक र सम्भव थियो, त्यो नभएकै हो। अब गणतन्त्रलाई मजबुत वा स्थायित्व दिने हो भने हुन नसकेका कामहरू गरेर देखाउन अनिवार्य छ। तिमीभन्दा हामी बढी छौँ भनेर दिनैपिच्छे फरक फरक दलले नारा जुलुस गरेर मात्र आक्रोश थाम्न सकिँदैन। यसले झनै थप द्वन्द्व सिर्जना हुनसक्छ। सडकमा मानिस उतारेपछि भद्र तरिकाले मात्र त्यस्ता कार्यक्रम समापन हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। विग्रहले कुनै पनि बेला विध्वंस निम्तिन सक्छ। सुषुप्त रूपमा झनै ठुला असन्तुष्टि देखिन सक्छन्। त्यसैले अहिलेको अवस्थामा नेतृत्व वर्गले विशेष सतर्कताका साथ स्थितिलाई सही दिशानिर्देश गर्न आवश्यक छ।

देशमा राजा आउनेबित्तिकै समस्या समाधान हुने तर्कहरू सही होइनन्। राजतन्त्र आफैमा समस्या समाधानको उपाय हुन सक्तैन। २४० वर्षको इतिहास बोकेको राजतन्त्र नेपालबाट त्यत्तिकै हटेको पनि होइन। तिनका आफ्नै कर्तुतहरूका कारण फ्याँकिएको हो। देशको इतिहासमा १५-२० वर्षको अवधि पनि त्यति लामो होइन। नयाँ व्यवस्थाको व्यवस्थापनमा केही समय लाग्न सक्छ। विश्वका अन्य देशहरूको अवस्थाबाट पनि हामीले धेरै शिक्षा लिन सक्छौँ।

पुराना कुरा छाडौँ, अहिले पनि संसारका धेरै देशमा आन्तरिक र बाह्य समस्याहरू छन्। कतिपय देशहरूको त अस्तित्व  नै बाँकी होला कि नहोला भन्ने त्रास पनि छ। कुनै पनि देश रातारात व्यवस्था परिवर्तन भएर भोलिपल्ट नै बनेका होइनन्। लामो समय लगाएर बनेको देश क्षण भरमा तहसनहस हुन पनि सक्छ, विश्व मानचित्रबाट मेटिन सक्छ। आन्तरिक द्वन्द्व सामना गरेका अधिकांश देशमा शान्ति प्रक्रिया सुरु भए पनि व्यवस्थित हुन सकेका छैनन्।

मुख्य विषय देशको शान्ति सुरक्षा हो, जुन अहिले नेपालमा छ। शान्ति सुरक्षा बिनाको वैभवपूर्ण जीवनशैली कुनै पनि बेला चकनाचुर हुनसक्छ। विश्वका सुरक्षित देशहरूमध्ये नेपालको नाम अगाडी नै आउँछ। धेरै देशमा विभिन्न गिरोहहरूको समानान्तर सरकार चलिरहेका छन्। समृद्ध र विकसित देशहरूमा समेत शान्ति सुरक्षाको दयनीय अवस्था देखिन्छ। केही समय अगाडिसम्म नेपालमा पनि विभिन्न प्रकारका स्थानीय गिरोहहरूको बोलवाला थियो। त्यसलाई अहिले एक हदसम्म नियन्त्रणमा राख्न सकिएको छ। तर मौका पाउनेबित्तिकै यस्तो चरित्र प्रकट हुन्छ। राजधानीमा १५ गते त्यसको झलक देखियो नै। यसलाई 'राजावादीहरूले लुटे' भनेर पुग्दैन। त्यहाँ संलग्न अधिकांश व्यक्ति राजनीतिक रूपमा कसैका प्रतिबद्ध सदस्य होइनन्, मौकामा चौका हान्नेहरूको हुल मात्र हो। आन्दोलन नभएको बेलामा पनि बाटो र पार्कमा राखिएका बोटबिरुवा र दुबोसमेत मान्छेले चोरेका थुप्रै समाचार बेलाबेला सुन्न/पढ्न पाइएकै हो। 

विकसित अन्य देशहरू सहित प्रजातन्त्रको जननी बेलायतमा राजतन्त्र छ भन्दै तर्क गर्नेहरू धेरै छन्। एक थरी बेलायतमा बस्ने विद्वानहरू हामीलाई सामाजिक सञ्जालमा राजा भएको देशमा बसेर नेपालमा राजाको विरोध किन गरेको भनेर प्रश्न तेर्साउँछन्। तर बेलायत त राजाको घाँटी छिनाइएको देश पनि हो। बर्तमानमा पनि जनतालाई सबै पुगिसरी भएको यथार्थ पनि प्रश्न गर्नेहरूले बिर्सन्छन्। राज्यको उत्पत्तिपछि संसारभर राजा रजौटाहरूले नै शासन गरेका थिए। समाजमा चेतना र जागरणसँगै भौतिक समृद्धि हासिल हुँदै गर्दा राजतन्त्रहरू पनि अन्त्य हुँदै गएका छन्। विकसित देशहरूमा अहिले जे जति राजतन्त्रात्मक व्यवस्था छन्, त्यहाँको आर्थिक/सामाजिक अवस्था त्यति नराम्रो छैन। त्यहाँका राजाहरूले समयसँगै आफूलाई पनि परिमार्जित गर्दै लगेको कारण अहिले पनि शासन गरिरहेका हुन्। त्यस्ता देशमा राजामात्र छन्, तर राजतन्त्र छैन। राजतन्त्रको पुरानो स्वभाव र चरित्र फिटिक्कै छैन। 

संसारका चार देशमा मात्र विस्थापित भइसकेको राजतन्त्र पुनर्स्थापना भई अहिलेसम्म टिकेका छन्। स्पेनमा १९३१ मा राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरिएको थियो। पछि स्पेनमा गृहयुद्ध र फ्रान्सिस्को फ्रान्कोको अधीनमा एकल शासनको कठोर युग आयो। १९७५ मा फ्रान्कोको मृत्युपछि स्पेनी संविधानमा सुधार गरियो र राजा जुआन कार्लोस प्रथमलाई पुनः राजगद्दीमा फर्काइयो। उनले स्पेनलाई तानासाहीबाट संसदीय लोकतन्त्रतर्फ परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेले र राजतन्त्र पुनर्स्थापित गरियो।

१९७० मा कम्बोडियाले आफ्नो राजतन्त्र हटाई गणतन्त्र घोषणा गरेको थियो। तर १९७९ पछि खमेरुज शासनको पतन र राजनीतिक अस्थिरतासँगै १९९३ मा पेरिस शान्ति सम्झौताको आधारमा पुनः राजतन्त्र बहाल गरियो र राजा नोरोडम सिहानुकलाई राष्ट्रप्रमुखका रूपमा पुनर्स्थापना गरियो।

बेलायतबाट स्वतन्त्रता प्राप्त गर्दा लेसोथोले १९६६ मा राजतन्त्र स्थापना गरेको थियो, तर १९६८ मा राजतन्त्र हटाइयो। त्यसपछि केही समयको राजनीतिक अशान्तिका कारण १९९३ मा नयाँ संवैधानिक व्यवस्थाको साथ राजतन्त्र पुनः स्थापित गरियो र राजा मोसोसो दोस्रो पुनः राजगद्दीमा फर्काइए।

संयुक्त अधिराज्य बेलायतमा इंग्लिस गृहयुद्धपछि सन् १६४९ मा राजतन्त्र हटाएर गणतन्त्र स्थापना गरियो र ओलिभर क्रोमवेलको नेतृत्वमा देश शासित भयो। तर क्रोमवेलको मृत्युपछि १६६० मा राजा चार्ल्स द्वितीयको पुनरागमनसँगै राजतन्त्र पुनः स्थापित गरियो। गणतान्त्रिक सरकारको अस्थिरता र असन्तुष्टिका कारण राजतन्त्र पुनः स्थापित गरिएको थियो।

अहिले विश्वका ४३ स्वतन्त्र देशमा राजा छन्, तर तिनको भूमिका एकदमै सीमित छ। एसियामा १३, युरोपमा १२ र अमेरिका वरपर ९, ओसियानियामा ६ वटा राजतन्त्र छन्, अफ्रिकामा ३ वटा देशहरूमा राजतन्त्र छन्। यीमध्ये १५ वटा कमन वेल्थ देशहरूमा बेलायतका राजा चार्ल्स तृतीयलाई  राष्ट्रप्रमुखका रूपमा स्वीकार गरिन्छ। त्यसबाहेक इस्वाटिनीमात्र पूर्णतः निरंकुश राजतन्त्र भएको देश हो भने भ्याटिकन सिटीमा धर्म गुरु पोपलाई राजाजस्तै मानिन्छ। उनलाई कार्डिनलहरूद्वारा चयन गरिन्छ। आन्डोरामा चाहिँ फ्रान्स र स्पेनका प्रमुखहरूलाई पनि राज्य प्रमुखको रूपमा मानिने भएकोले राजतन्त्रको परिभाषाभित्र पारिएको हो।

यद्यपि, साउदी अरब, ब्रुनाई, ओमन कतारलाई पनि कतिले सक्रिय राजतन्त्रका रूपमा व्याख्या गर्छन्। यी राजाहरूमा धेरै शक्ति भए पनि सल्लाहकार परिषद्, संविधान तथा तेलजन्य अर्थतन्त्र र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले मूल रूपमा काम गर्ने गरेकाले यिनलाई शक्तिशाली र सक्रिय राजतन्त्र मान्न सकिँदैन।  

केही देशहरूले राजतन्त्र हटाएपछि पुनः स्थापना गर्ने प्रयास गरेका छन्, तर ती सबै प्रयासहरू सफल भएका छैनन्। फ्रान्समा १७९२ मा राजतन्त्र उन्मूलनपछि बोर्बन राजाको रूपमा पुनर्स्थापना भए पनि १८४८ को क्रान्तिपछि फ्रान्स फेरि गणतन्त्र बन्यो। अफगानिस्तानमा १९७३ मा राजतन्त्र उन्मूलनपछि केही समयको लागि पुनः स्थापना भए पनि १९७८ मा पुनः उन्मूलन गरियो। यसरी ती देशहरूमा दुई पटक राजसंस्थाको अन्त्य भयो।

हंगेरीले १९४६ मा राजतन्त्र हटाएको थियो। सन् १९८९ मा राजतन्त्र पुनर्स्थापना गर्न केही प्रयास भए। ग्रिसले १९७३ मा सैनिक जुंटाले राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्‍यो र १९८० को दशकमा राजतन्त्रवादीहरूले पुनर्स्थापना गर्ने प्रयास गरे। टर्की (तुर्किए) मा १९२२ मा ओटोमन् साम्राज्यको पतनसँगै राजतन्त्र हटाइयो र पछि राजतन्त्र पुनःस्थापना गर्ने प्रयास गरे। सिरियामा १९६३ मा राजतन्त्र हटाइयो र निर्वासनमा रहेका राजकुमारहरूको नेतृत्वमा कहिलेकाहीँ राजतन्त्र पुनः स्थापनाका लागि आन्दोलन भए। मंगोलियाले १९२४ मा राजतन्त्र हटाएपछि राजतन्त्र पुनः स्थापनाका केही प्रयासहरू भए। मेक्सिकोमा सम्राट् म्याक्सिमिलियन पहिलोको शासकत्वपछि राजतन्त्र हटाइयो र गणतन्त्र स्थापना गरियो, तर राजतन्त्र पुनः स्थापनाका लागि ससाना आन्दोलनहरू भए।

पोर्चुगल  १९१० मा राजतन्त्र उन्मूलनपछि राजतन्त्र पुनःस्थापनाको प्रयास भयो। इजिप्टमा १९५२ को क्रान्तिपछि राजा फरौकको उन्मूलनसँगै राजतन्त्र पुनः स्थापना गर्ने प्रयास भए।   इराकमा १९५८ मा सैनिक विद्रोहले राजा फैसल दोस्रोको उन्मूलन गर्‍यो र राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास असफल भए। इरानमा १९७९ को क्रान्तिपछि शाह मोहम्मद रेजा पहलवीको राजतन्त्र उन्मूलनपछि पनि राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भए। तर ती प्रयासहरू सफल हुन् सकेनन्।

माल्टा, बुल्गेरिया, सर्बिया र मोन्टेनेग्रोजस्ता देशहरूमा राजतन्त्र पुनर्स्थापना गर्ने पक्षमा केही आन्दोलन अहिले पनि हुने गरेका छन्, तर यी आन्दोलन ठुलो राजनीतिक प्रभाव हासिल गर्न सकिरहेका छैनन्। यसले स्पष्ट देखाउँछ कि अधिकांश देशहरू जहाँ राजतन्त्र उन्मूलन भएर गणतन्त्र स्थापना भए, ती देशमा राजतन्त्रको पुनर्स्थापना हुने सम्भावना कम छ। राजतन्त्रको अन्त्यपछि सामान्यतः राजा तथा परिवारलाई कारावास वा निर्वासन पठाउने चलनका कारण पनि अवसानपछि उनीहरू आफ्नो शक्ति पुनः प्राप्तिको लागि त्यति सक्रिय हुन सक्दैन थिए।

नेपालका राजनीतिक दलका नेताहरूले बेलाबखत श्रीपेच खोलेर चुनाव लड्न आउन राजालाई चेतावनी दिने गरेका छन्। यसबारे बुल्गेरियाको इतिहास रोचक छ। सिमेओन द्वितीय (सिमोन साक्सकोबुर्गोत्स्की) १६ जुन १९३७ मा जन्मिएका थिए र ६ वर्षको उमेरमा नै आफ्नो पिताको मृत्यु भएपछि १९४३ मा ६ वर्षको उमेरका बुल्गेरियाको राजा (जार) बने। तर, दोस्रो विश्वयुद्धपछि बुल्गेरियामा कम्युनिस्ट शासन स्थापित भयो, जसले १९४६ मा जनमतसंग्रहमार्फत राजतन्त्र समाप्त गर्‍यो। त्यसपछि  परिवारसहित देश छोडेर करिब ५० वर्ष मिस्र, स्पेन र अन्य देशहरूमा निर्वासनमा बसे।

निर्वासनका दौरान उनले स्पेनमा शिक्षादीक्षा लिए, व्यापार र कूटनीतिमा संलग्न भए।  बुल्गेरियामा लोकतन्त्रको पुनर्स्थापनापछि १९९६ मा उनी स्वदेश फर्किए। त्यसपछि राजनीतिमा प्रवेश गरे। सन्  २००१ को संसदीय चुनावमा उनले नेसनल मुभमेन्ट सिमोन द्वितीय (एनएसडीभी) पार्टीको नेतृत्व गर्दै सहभागी भए र नभन्दै विजय प्राप्त गरे। बहुमतसहित प्रधानमन्त्री बनेपछि उनले युरोपियन युनियन र नाटोसँग बुल्गेरियाको सम्बन्ध सुधार्ने, अर्थतन्त्र मजबुत बनाउनेलगायत सुधारका विभिन्न कार्यक्रम लागू गर्ने प्रयास गरे। तर राजतन्त्र फिर्ता ल्याउनेतिर भने लागेनन्।

तर २००५ को चुनावमा उनको पार्टीको प्रभुत्व घट्दै गयो र उनले सरकार छोडे। त्यसपछि उनले राजनीतिबाट संन्यास लिए र पुनः व्यक्तिगत तथा सामाजिक कार्यमा संलग्न भए। सिमोन द्वितीय संसारकै इतिहासमा एक मात्र राजा हुन्, जसले गणतन्त्रात्मक प्रणालीमा लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्रीको रूपमा पनि सेवा गरेका थिए। उनले स्थापना गरेको पार्टीको नाम अहिले "नेसनल मुभमेन्ट फर स्टेबिलिटी एन्ड प्रोग्रेस"मा फेरिएको  र अझै अस्तित्वमा छ। तर अहिले बुल्गेरियाली राजनीतिक परिदृश्यमा यसको प्रभाव न्यून देखिन्छ।

वीरेन्द्रका परिवारका अधिकांश सन्तान मर्नेगरी भएको राजदरबार हत्याकाण्डपछि शाह परिवारको सार्वजनिक रेकर्ड पनि राम्रो छैन। त्यसमाथि, पहिले नै अनेक प्रकरणमा अल्झेको थियो शाहवंश। सार्वजनिक जीवन राम्रो झैँ लागे पनि राजनीतिक र कूटनीतिक आकलनमा कमसल पूर्व राजा ज्ञानेन्द्र आफै पनि उमेरले धेरै पाका भइसके, जो तेस्रो पल्ट सिंहासनमा बस्न पाउँछु कि भनेर आशा गरिरहेका थिए। (अब छन् कि छैनन्!)

ज्ञानेन्द्र नै अपेक्षा भएकाले कोमललाई बेलायतमा झैँ नेपाली राजतन्त्रवादीले रानी कल्पना गर्न सक्दैनन्। उनका छोरा पारसबारे त कुरै नगरौँ। केही सामाजिक कामहरूमा बेलाबेला जुट्ने गरेका कारण बुहारी हिमानीको सार्वजनिक छवि राम्रो छ, तर राजकाज चलाउन चाहिने शिक्षा दीक्षा, नेतृत्व क्षमता र सामाजिक समझ उनमा पनि भएझैँ लाग्दैन। वीरेन्द्रका नातिनी (छोरी श्रुतिका छोरी) हरूबारे त राजतन्त्रवादीहरूले चर्चा र कल्पनै गरेको देखिँदैन। तर यत्रा ठूला राजनीतिक परिवर्तनमा कहीँ कतै नबोलेका/नलेखेका र नदेखिएका तिनले अब हलचल ल्याउने कल्पना गर्न सकिँदैन। इतिहास सम्झेर केही मान्छेले रुवाबासी गर्दैमा राज्यसत्ता नै पल्टिन सम्भव हुँदैन। 

अतः महेन्द्रका कुनै छोराबुहारी या नातिनातिना चुनावमार्फत बुल्गेरियामा झैँ प्रधानमन्त्री भई राजनीति हाँक्न आउने सम्भावना अत्यन्तै कमजोर छ। राजाकै रूपमा फर्किने त कल्पना नै नगरौँ।