सभापोखरीमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना

सभापोखरी गाउँपालिकाको कार्यपालिका बैठकले सभाखोला र लंखुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना गर्ने निर्णय गरेको छ।

फाइल तस्वीर।

किमाथांका– संखुवासभाको सभापोखरी गाउँपालिकाले  करेन्ट लगाएर माछा मारे १ लाख रुपैयाँसम्म जरिबाना गर्ने निर्णय गरेको छ। गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लंखुवा खोलामा करेन्ट लगाएर माछा मारे जरिबाना गर्ने निर्णय गरेको हो।

सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लंखुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना गर्ने निर्णय गरिएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिए। 

त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई ५० हजार जरिबाना गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई पक्राउ गरी जरिबाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहन स्वरूप दिइने प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए। 

त्यसैगरी निषेधित क्षेत्रमा मार्ने व्यक्तिको बारेमा गोप्य सूचना दिनेलाई ५ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। जरिबाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानुनबमोजिम मुद्दा दर्ताको लागि सिफारिस गर्ने जनाएको छ।