एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ सीईओ को बन्ला भन्ने चर्चा भइरहेको छ।
एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने घोषणा गरेका छन्। ट्विटरको सीईओका रूपमा काम गर्ने व्यक्ति भेटिनेबित्तिकै आफूले पदबाट राजीनामा दिने मस्कले बताएका हुन्।
आफूलाई प्रतिस्थापन गर्ने व्यक्ति नआउँदासम्म आफू नै सीईओ रहने र त्यसपछि सफ्टवेयर र सर्भरको टोलीलाई आफूले सञ्चालन गर्ने भन्दै उनले बुधबार बिहान ट्विट गरेका छन्।
त्यसअघि मस्कले के म ट्विटरको सीईओबाट हट्नुपर्छ? भन्दै ट्विटरमा पोल गरेका थिए। यही पोलको नतिजाअनुसार नै आफू अघि बढ्ने बताएका थिए।
मस्क सीईओमा कायम हुनुपर्ने पक्षमा ४२.५ प्रतिशत र हट्नुपर्छ भन्नेमा ५७.५ प्रतिशत मत आएको थियो। पोलको नजिता आफ्नो विपक्षमा आएसँगै उनले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्।
गत अक्टोबर २७ मा ट्विटर किनेपछि यसको संरचना र कर्मचारीको संख्यामा व्यापक हेरफेर गर्ने मस्कको कदम विवादित बनेका थिए। विशेष गरी ट्विटरका सामग्री मध्यस्ततासम्बन्धी मस्कको निर्णयको आलोचना भएको थियो। यस्तै, ट्विटर भेरिफाइड चिह्न राखेबापत अतिरिक्त शुल्क लिने निर्णय पनि विवादित बनेपछि उनी त्यसबाट पछि हट्नुपर्यो।

यस्तै, अब ट्विटर प्रयोगकर्ताले प्रतिस्पर्धी सामाजिक सञ्जालहरूलाई लिंक गर्न पाउने छैनन्। ट्विटरको विज्ञप्तिमा भनिएको छ, "हाम्रा अधिकांश प्रयोगकर्ताहरू अन्य सामाजिक सञ्जालहरूमा पनि सक्रिय छन्। तर, अब कुनै विशेष प्ल्याटफर्महरूको निःशुल्क प्रवर्द्धन गर्ने काम ट्विटरले गर्ने छैन।”
कम्पनीले आइतबार ट्विटरमार्फत फेसबुक, इन्स्टाग्राम र मस्तोन्डनमा लिंक नगर्ने बताएको थियो। यी सामाजिक सञ्जाललाई ट्विटरले प्रतिबन्धित प्ल्याटफर्म भनेको छ।
यस्तै, ट्राइबेल, नोस्टर्, पोस्ट र अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको ट्रुथ सोसियल मिडियामाथि पनि प्रतिबन्ध लगाइएको छ। तर, पार्लेर, टिकटक र लिंकडेनमाथि भने प्रतिबन्ध लगाइएको छैन।
यता, सामाजिक सञ्जालका कम्पनीको आलोचनात्मक समाचार लेख्ने केही पत्रकारलाई ट्विटरबाट हटाइएको विषयमा राष्ट्रसंघ र युरोपियन युनियनले शुक्रबार मस्कको आलोचना गरेको थियो। राष्ट्रसंघले मस्कलाई लक्षित गर्दै ट्विट गरेको छ, "मिडिया स्वतन्त्रता कुनै खेलौना होइन।" यस्तै, युरोपियन युनियनले पनि ट्विटरमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।
ट्विटरका आधा जति कर्मचारीलाई बर्खास्त गर्ने र पहिले निःशुल्क रहँदै आएका सेवामा शुल्क उठाउनेजस्ता कार्यका कारण मस्कप्रति ट्विटर प्रयोगकर्ता आक्रोशित छन्।
को हुन् ट्विटरका सम्भावित नयाँ सीईओ
मस्कले सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका कारण अब छिट्टै नै सो पदमा नयाँ व्यक्ति आउने अनुमान लगाउन सकिन्छ।
फेसबुकको अप्रेसन विभागका पूर्वप्रमुख शेरल स्यान्डबर्ग, फेसबुककै अपरेटिङ विभागका पूर्वप्रमुख (इन्जिनियर तथा मस्कका विश्वासपात्र) श्रीराम कृष्नन र अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार तथा ज्वाँइ जरेड कुशनर लगायतलाई मस्कले ट्विटरको नयाँ सीईओ बनाउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।
हालै विश्वकप फुटबल हेर्न कतार पुगेका मस्क र जेरडलाई सँगै देखिएपछि कतै उनी नै ट्विटरका नयाँ सीईओ बन्ने त होइनन् भन्ने चर्चा भइरहेको छ। यद्यपि, मस्कले नयाँ सीईओ को हुने भन्ने बारेमा अहिलेसम्म मुख खोलेका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
