थुनामा २२ महिना राखेपछि अमेरिकाको अदालतले उनको शरणार्थी दाबी अस्वीकार गरिदियो। उनी १० वर्षसम्म अमेरिका छिर्न नपाउने गरी डिपोर्ट भए। यद्यपि, नियमित उडानबाटै स्वदेश फर्कन पाए।
काठमाडौँ– परदेशमा दिनरात पसिना बगाउँदा पनि जिन्दगीले लय समातेको थिएन। मलेसियामा १६ वर्ष बिताउँदा आर्थिक हैसियत उस्तै थियो। बरु यता गाउँका साथीभाइ धमाधम अमेरिका जाने बाटोमा थिए, जिन्दगीको मिठो सपनाको यात्रामा थिए।
रुकुमपूर्वमा पर्ने सिस्ने गाउँपालिका–५ रुकुमकोटका रमेश (नाम परिवर्तन) आफ्नो अवस्थाबाट सन्तुष्ट थिएनन्। उनी मलेसिया छँदै गाउँमा अवैध रूपमा तल्लो बाटो हुँदै अमेरिका जाने लहर शुरू भइसकेको थियो। गाउँका युवा दलाल समातेर एकपछि अर्काे गर्दै अमेरिकाको बाटो पछ्याइरहेका थिए। उनीसँगैका साथी अमेरिका पुगेको कुरा परिवारले सुनाइरहेका हुन्थे।
रमेश मलेसियाबाट घर फर्किंदा गाउँ सुनसानजस्तै थियो। एकाधबाहेक युवा भेट्न मुस्किल थियो। “हरेक घरबाट कोही न कोही, कसै न कसैले अमेरिका जाने बाटो समाएका थिए,” उनी भन्छन्, “नगएकाहरू पनि जाने सुरमा थिए।”
उनले देखे, गाउँका युवाहरूको मनमा गढेको अमेरिका सपना। अमेरिका पुगकाहरूको बदलिएको जीवनशैली। “साथीभाइले महिनामै ३ देखि ४ लाख रूपैयाँ कमाएको देखेपछि अमेरिकाबाहेक अरू केही सोचिनँ,” रमेश सुनाउँछन्।
उनको मन पनि गाउँमा अडिएन। मलेसियाभन्दा बढी कमाउने र सामाजिक जीवन राम्रो बनाउने योजना बनाए। उनले सोचे– जिन्दगी मलेसियामा होइन, अमेरिकामा छ।
रमेशले गाउँका अन्य युवाले जस्तै स्थानीय दलाल समाते। २०७८ जेठमा तिनै दलाललाई ६० लाख रूपैयाँ बुझाएर निस्किए घरबाट।
अमेरिका पुग्न अवैध रूपमा महिनौँसम्म गर्नुपर्ने जोखिमपूर्ण यात्राबारे उनी जानकार थिए। यति हुँदा पनि उनले हिम्मत गरे। “त्यो बेला अमेरिका जानुपर्छ भन्ने मात्र सोचाइ आयो” उनी भन्छन्, “जस्तोसुकै दुःख र अप्ठ्यारो भए पनि त्यहाँ पुगेपछि जिन्दगी नै फेरिन्छ, सुखका दिन आउँछन् भन्नेमा ढुक्क थिएँ।”
रुकुमबाट काठमाडौँ आएपछि रमेशको अमेरिका यात्रा शुरू भयो। यात्रा पहिला हवाइजहाजबाटै शुरू भयो। तर उनी विमानस्थलहरूलाई ट्रान्जिट बनाउँदै विमानको यात्राबाट अमेरिका उत्रिन सक्दैन थिए। काठमाडौँ–दिल्ली र त्यहाँबाट मस्को हुँदै कोलम्बिया पुगे। कोलम्बियाबाट अब जमिनको यात्रा शुरू भयो।
रमेशलाई यात्रा कतिसम्म जोखिमपूर्ण होला भन्ने अनुमान चाहिँ थिएन। उनी आफैँ कोलम्बियापछि ‘मृत्यु मार्ग’मा हिँड्नुपरेको बताउँछन्।
त्यहाँबाट उनीसहितको समूह डंकर भनिने स्थानीय एजेन्टको पछि लाग्यो। उक्त समूहमा नेपालसहित भारत, पास्कितान र बंगलादेशका गरी २० जना थिए। उनीहरूलाई राति १ बजे एउटा सानो डुंगामा राखियो। “मोटर भएको डुंगामा राखेर क्यारेबियन सागरमा दौडायो,” उनी भन्छन्, “डुंगालाई समुद्रको छालले बेस्सरी हान्थ्यो।”
समुद्रमा आउने ठूलो छालले जतिबेला पनि डुंगा पल्टाउन सक्थ्यो। अर्काेतिर सुरक्षाकर्मीको डर हुन्थ्यो, राति पनि निगरानी गरिरहेका हुन्थे। पक्राउ गरे सिधै घर फर्काइदिन सक्थे। रमेश भन्छन्, “डुंगा लुकाएर कुदाउनुपर्छ। सुरक्षाकर्मीले देख्ने डरले चढ्दा र झर्दा छिटो गर्नुपर्छ। थोरै पनि ढिला भयो वा चिप्लियो भने समुद्रमा खस्ने हो। आफूसँगैका साथीहरू छुटे भने त्यहीँ छोडेर हिँड्ने हो।”
उनका अनुसार अमेरिका पठाउने एजेन्टहरूको नेटवर्क ठूलो हुन्छ। विभिन्न देश र ठाउँ नै पिच्छे उनीहरूका मान्छे लिन आउँछन्। सुरक्षाकर्मीसँग लुकाउँदै सीमा पार गराउँछन्। निश्चित पैसा लिएर आफ्नो जिम्माको काम पूरा गर्छन्। “लुकिछिपी सीमा पार गराउने यस्ता डंकरहरू बाटोमा प्रशस्तै हुन्छन्,” उनी भन्छन्, “निश्चित पैसा दिएपछि हामीजस्ता अमेरिका पुग्न हिँडेकालाई सीमा पार गराइदिन्छन्।”
डंकरहरू ठाउँ ठाउँमा फेरिन्छन्। एउटाले निश्चित ठाउँमा पुर्याउने जिम्मा लिएको हुन्छ। त्यहाँबाट फेरि अर्काे डंकर समातेर अघि बढ्नुपर्छ। उनीहरूले १५ देखि २०० डलरसम्म लिन्छन्।
कोलम्बियाको कपुरगानाबाट ड्यारिएन ग्याप पुग्नुपर्छ। यहीँबाट पानामा जंगलको यात्रा पनि शुरू हुन्छ। यसलाई अमेरिका पुग्न गरिने सबैभन्दा जोखिमपूर्ण यात्रा मानिन्छ।
कपुरगानासम्म आइपुग्दा उनीहरू ६५ जना जम्मा भए। तर पानामा जंगलसम्म पुग्दा २७ जना मात्रै थिए। कति बाटोबाटै फर्किए, कति अर्काे समूहमा बाँडिए।
उनका अनुसार पानामाको घना जंगल डरलाग्दो थियो। जताततै भिर। हिलैहिलो। धेरैजसो समय वर्षा भइरहने। दिउँसो कमै मात्र हिँड्न पाइन्थ्यो।
“दिउँसो सुरक्षाकर्मीले पक्रने डरले राति हिँड्नुपर्थ्यो,” उनी भन्छन्, “राति हिँड्दा लाइट बाल्न पाइँदैन। बाटो थाहा नहुँदा अनुमानका भरमा झार पन्छाउँदै हिँड्नुपर्छ। बाटोमा कसैले रुखमा कपडा बाँधिदिएका हुन्छन्, कसैले लट्ठीका टुक्रा र चाउचाउका खोलहरू राखिदिएका हुन्छन्। त्यही पछ्याउँदै अघि बढ्नुपर्छ।”
पानामा जंगलको यात्रा पाइलैपिच्छे मृत्युको यात्राजस्तो भएको रमेश बताउँछन्। समयमै बाटो भेट्टाइएन भने रासन सकिएर ज्यान गुमाउनुपर्छ। कयौँ दिन भोकै–प्यासै पनि हिँड्नु पर्छ। हिँड्न सकिएन भने साथीहरू छोडेर जान्छन्। बाटोमा उनले त्यसरी हिँड्न नसकेर ज्यान गुमाएकाहरूका थुप्रै कंकाल देखे।
“लगातारको हिँडाइले शरीर गलिसकेको हुन्छ। हिँड्न सकेन भने त्यहीँ छुट्ने हो। साथीहरूले छोडेर जान्छन्,” उनी भन्छन्, “हप्तौँ भोकै, प्यासै हिँडाइले खुट्टा पूरै सुन्निएको हुन्छ।”
पानामा जंगल हिँड्न थालेको तेस्रो दिन नै उनलाई मुस्किल भएको थियो। खुट्टा गलिसकेका थिए। हिलोमा हिँड्दा किरा र जुकाले खुट्टा खाएका थिए। हिँड्न नसके त्यहीँ छुट्ने अवस्था, जसोतसो यात्रा जारी राखे।
करिब नौ दिनको यात्रापछि पानामा सकियो। त्यति बेला ठूलै युद्ध जितेजस्तो भएको उनी बताउँछन्।

त्यसपछि, कतै हिँडे त कतै गाडीमा महिनादिनसम्म यात्रा गरे। दुःख यति मात्र थिएन। ठाउँ ठाउँमा लुटेरा समूहरू फेला पर्थे। “साथमा भएको पैसा, मोबाइलदेखि कपडासम्म लुटेर लैजान्थे,” उनी भन्छन्, “सबै लुटिएर फेरि अघि बढ्नुपर्थ्यो। हामी ८ जना पनि लुटेरा समूहको फेला परेका थियौँ।”
होन्डुरस, ग्वाटेमाला, म्याक्सिको हुँदै उनी २०७८ मंसिरमा अमेरिका छिरे। क्यालिफोर्नियाको सीमा क्षेत्रबाट अमेरिका पस्न सफल भएका थिए। तर सुरक्षाकर्मीले पक्राउ गरी हाले। त्यहाँबाट उनलाई ‘डिटेन्सन क्याम्प’मा लगियो।
उनले आफू सशस्त्र द्वन्द्वमा माओवादीबाट विस्थापित भएको भन्दै शरणार्थी बन्न निवेदन दिए। २२ महिनासम्म मुद्दा चल्यो। त्यतिञ्जेल उनलाई टेक्सास, मायामी, न्यूजर्सी, क्यालिफोर्नियाका डिटेन्सन क्याम्पहरूमा राखियो। मुद्दा लड्दा ‘स्पोन्सर’लाई ६ लाख र वकिललाई १२ लाख गरेर थप १८ लाख रूपैयाँ बुझाए।
“मुद्दा जिताउला भनेर त्यति बेलाको महँगो वकिल राखेँ,” उनी भन्छन्, “नेपालबाट माओवादीले विस्थापित गरे भनेर कागजात बनाउन लगाए। यति भएपछि अमेरिका बस्न पाउँछु भन्नेमा ढुक्क थिएँ।” तर उनले सोचेजस्तो भएन।
थुनामा २२ महिना राखेपछि त्यहाँको अदालतले उनको शरणार्थी दाबी अस्वीकार गरिदियो। १० वर्षसम्म अमेरिका छिर्न नपाउने गरी अमेरिकी सरकारले उनलाई नेपाल डिपोर्ट गरिदियो। तर उनी नियमित उडानबाटै आउन पाए, गत वर्ष नेपाल उत्रिए।
रमेश भन्छन्, “त्यति दुःख गरेर अमेरिका पुगे पनि म रित्तै फर्किएँ। फर्कंदा मसँग तनाव मात्र थिएन, अमेरिका जाँदा लागेको ऋण र त्यसको व्याज बढेर ७० लाख पुगिसकेको थियो।”
शुरूको ६ महिना त गाउँ फर्किन सकेनन्। त्यसपछि गाउँ पुगे, तर जीवन पहिले जस्तो सहज हुन सकेन। त्यसपछि उनी डिप्रेसनमा गए। “पहिले मेरो जीवन अर्कै थियो। जब म फर्केर आएँ, सबै कुरा बदलियो,” उनी भन्छन्, “अमेरिका जाने सपनाले जिन्दगी नै तहनहस भयो।”
घर फर्केपछि उनले जग्गा जमिन बेचेर ऋण तिरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
