आईपीएल: मुम्बईको पहिलो जित

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालामा सोमबार राति भएको खेलमा मुम्बईले कोलकातालाई ८ विकेटले हराएको हो। जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालामा सोमबार राति भएको खेलमा मुम्बईले कोलकातालाई ८ विकेटले हराएको हो। जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। 

कोलकाताले जितका लागि दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। मुम्बईको लागि रायन रिकेलटनले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए। उनले सो क्रममा ४१ बलमा ५ छक्का र ४ चौका हिर्काए। यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए। मुम्बईले अतिरिक्त ३ रन प्राप्त गर्‍यो। कोलकाताका लागि आन्द्रे रसेलले २ विकेट हात पारे। 

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६.२ ओभरमा १० विकेट गुमाउँदै ११६ रन बनाएको थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुन् । 

कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले ५ रन बनाए। मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक ४ विकेट लिएका छन्। 

दीपक चाहरले २ विकेट हात पार्दा कप्तान हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान १/१ विकेट लिए।