६४ मत ल्याएर देउवा कांग्रेस दलको नेता निर्वाचित, गगनलाई २५ मत

बुधबार बिहान भएको निर्वाचनमा देउवाले गगन थापालाई पराजित गरेका हुन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत मात्र पाए।

काठमाडाैँ– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। 

बुधबार बिहान भएको निर्वाचनमा देउवाले गगन थापालाई पराजित गरेका हुन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत मात्र पाए। कांग्रेसका कुल ८९ सांसद मतदानमा सहभागी थिए। 

कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था छ। डडेलधुराबाट २०४८ सालयता लगातार निर्वाचित हुँदै आएका देउवा २०५१ सालको मध्यावधि निर्वाचनपछि संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बनेका थिए। उनी २०५२ सालमा पहिलोपटक र २०५८ साउनमा दोस्रो पटक प्रधानमन्त्री बने।

२०६१ साल जेठमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनःस्थापित गरेका थिए। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनबाट पनि देउवा दलको नेता चुनिए। २०७४ जेठमा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए। सोही वर्ष भएको आमनिर्वाचनपछि पनि दलको नेता चुनिएका देउवा २०७८ असारमा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भए थिए। 

उता काठमाडौँ–४ बाट निर्वाचित थापा पहिलो पटक दलको नेतामा लडेका हुन्। थापा २०६४ सालयता लगातार सांसद छन्। गत वर्ष भएको महाधिवेशनबाट उनी पार्टीको महामन्त्रीमा विजयी भएका थिए।