नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ल नियुक्त

नेपाल क्रिकेट संघको भैरहवामा बसेको बैठकले अस्ट्रेलियाका पूर्वब्याटर ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। 

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वब्याटर स्टुआर्ट ल नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबार भैरहवामा बसेको बैठकले ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो। 

क्यानले फाल्गुण १८ गते मोन्टी देसाईको सम्झौता नवीकरण नगरेपछि मुख्य प्रशिक्षकको स्थान खाली रहेको थियो।

त्यसपछि मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको थियो। जसमा ७० प्रशिक्षकले आवेदन दिएकामध्ये १० जना सर्ट लिस्टमा परेका थिए।

५६ वर्षीय लले अस्ट्रेलियाबाट १ टेस्ट र ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। सन् १९९४ देखि १९९९ सम्म अस्ट्रेलियाबाट खेलेका उनीसँग प्रशिक्षणको लामो अनुभव छ। उनी गत वर्ष अमेरिकामा भएको टी२० विश्वकपमा अमेरिकाको प्रशिक्षक थिए।

यस्तै, सन् २००९ मा श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए। सन् २०११–१२ मा बांग्लादेशको मुख्य प्रशिक्षक, सन् २०१८ देखि वेस्ट इन्डिजको मुख्य प्रशिक्षक भएका थिए।