कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

कांग्रेस संसदीय दलको नेता चयनका लागि बिहान ८ः३० बजेदेखि मतदान शुरू भएको छ।

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी छ।

बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका रहे पनि ८ः ३० बजेदेखि शुरू भएको हो। बुथमा मोबाइल लैजान दिने की नदिने भन्ने विषयमा विवाद हुँदा ढिलो भएको हो। मोबाइल लैजान नदिने सहमति भएपछि मतदान शुरू भएको हो।

दलको नेताका उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले पहिलो मतदान गरेका छन्। त्यसपछि लाइनमा बसेका अन्य सांसदले मतदान गरिरहेका छन्। मतदान भइरहेको संसदीय दलको कार्यालय सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापा उम्मेदवार छन्। आफूभन्दा ३२ वर्ष कान्छा थापासँग देउवा प्रतिस्पर्धामा छन्। संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित ८९ जना सांसद मतदाता छन्।

संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ। कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने व्यवस्था छ।