लिटिल आदम पिकबाट पनि हामीले सूर्यास्त हेर्न पाएनौँ। कतिपयले भनेकै रहेछन्– ‘श्रीलंकाबाट सूर्यास्त राम्रो देखिन्छ तर बादलबाट प्रभावित नभएको सूर्यास्त भेट्न गाह्रो हुन्छ।’
एलामा गाह्रो रहेछ—टुकटुक (तीन पाङ्ग्रे टेम्पो) पाउन। यहाँको उकालो/ओरालो भूबनोटले पनि टुकटुक पाउन कठिन भएको होला। कोलम्बोमा हामी टुकटुकमै दौडियौँ। गालमा पनि टुकटुक सजिलै उपलब्ध भएको थियो। मिरिसामा हामीले टुकटुक चढ्नै परेन। खासमा मिरिसा हिन्द महासागरको किनारमा रहेको सानो पर्यटकीय बजार रहेछ। यहाँको सामुन्द्रिक बिच (किनारा) मा ‘सन बाथ’मा रमाउन र सूर्यास्तको दृश्यावलोकनका लागि भने गोरा पर्यटकहरू मरिहत्ते गर्दा रहेछन्। हामी मिरिसाबाट एला आइपुगेका छौं।
पहाडको गल्छी परेको यो पर्यटकीय बजारमा भने हामी टुकटुकको अभाव झेल्दै छौँ।
७ फाल्गुण २०८१ अर्थात् (१९ फेब्रुअरी, २०२५) का दिन एलामा ‘रावण गुफा’ र सीता मन्दिरको दर्शन गर्दा नगर्दै हामी भोकले हत्तु भएका थियौं। नेपालको पहाडी क्षेत्रमा नयाँ बिरौटो खेतमा धान रोप्ने तयारी चलेकै भान पार्ने किसिमले एलामा किसानहरू धान रोप्न खेत सम्म्याउन जुटेका छन्। एलाका किसानको यो तयारी रुचिकर लाग्यो। यहाँको धान खेतीको तौरतरिका र प्रविधिबारे चासो लाग्यो। तर यो दृश्य यस्तो समयमा देखिएको छ, जति बेला बिहानको ब्रेकफास्ट र बाटामा खाएको दही दुवैको म्याद गुज्रिसक्यो। यस्तो अवस्थामा सबैभन्दा सुन्दर लाग्ने भनेको खानासहितको प्लेट नै हो। तर अवस्था कस्तो छ भने, न ‘पिक मी’मा टुकटुक भेटिन्छ; न नजिकै होटेल छ। टुकटुक पाइयोस्/नपाइयोस्; हामीलाई होटेलचाहिँ चाहियो, चाहियो।
होटेल म्यापमा देखिएको छ—झन्डै ८०० मिटर पर। भोकले जतिसुकै हत्तु भए पनि पैदल हिँड्नुको विकल्प छैन— हाम्रासामु।
हिँड्दै तल झर्यौँ। तल भनेको हामी मिरिसाबाट आएकै सडकमा। अनि लाग्यौँ— तलतिर। म्यापमा होटेल त्यतै देखिएको छ। खाना खाएर बाहिर निस्किँदा पनि टुकटुक सम्पर्कमा छैन। अब सडकमा गुडिरहेका टुकटुकलाई रोकेर कुरा गर्नुको अर्को विकल्प रहेन। हामी नाइन आर्च ब्रिजमा पुग्न हतारिएका छौं।
एउटा टुकटुकले हामीलाई एलाको मुख्य बजारभन्दा पूर्वतर्फको डाँडामा पुर्याइदियो। अब नाइन आर्च ब्रिजमा जान यहाँबाट ओरालो झर्नुपर्छ। यस बाटोमा टुकटुक जाँदैन; पैदल जानुपर्छ। बाटो साँघुरो, चिप्लो र ठाउँ ठाउँमा ठाडो ओरालो पनि छ। कतिपय ठाउँमा त ‘माथि निर्माण कार्य चालु छ; ढुङ्गा झर्न सक्छ: होसियार रहनु होला’ भनेर सूचित गरिएको पनि छ। ओरालो झर्दा लाग्ने के भने, अहिलेको ओरालो भरे फर्किँदा उकालो हुन्छ; त्यो उकालो कसरी छिचोलिएला भन्ने डर! मानिसहरू ओरालो हिँड्दै छन्; मानिसहरू उकालो चढ्दै छन्। हामी पनि उनीहरूसँगै ओरालोमा छौं।
तल फेदीमा रहेको एउटा मामुली खोल्सो तरेर हामी पुल भएको ठाउँमा आयौँ। पुल वारि, पारि र पुलमाथि पर्यटकहरूको भिडभाड छ। सबैजसो पर्यटक फोटाका लागि पोज दिन तल्लीन देखिन्छन्। सबैलाई नाइन आर्च ब्रिजलाई पृष्ठभूमिमा राखेर फोटो खिच्नु छ। त्यसका लागि सुविधाजनक स्थलको छनोट महत्त्वपूर्ण हुन्छ। केही पर्यटक भने पुलमाथिको पर्खालमा चढेर खुट्टाबाहिर झारेर फोटो खिच्दैछन्। कस्तो डर नलागेको! उचाइ हामी बाबु/छोरा दुवैको कमजोरी हो; त्यसरी बस्न हामीलाई चाहिँ मनमुटुले साथ दिँदैन।
युट्युबमा श्रीलंकाको पर्यटकीय विवरण माग्दा झ्वाट्टै आइहाल्ने पर्यटकीय स्थलमध्ये एक हो—एलाको ‘नाइन आर्च ब्रिज’। श्रीलंकाको उपनिवेश कालमा बेलायती प्राविधिकहरूको पर्यवेक्षणमा स्थानीय जनशक्तिबाट निर्माण भएको संरचना हो यो। यो पुल ९१ मिटर लामो छ र यसको चौडाइ ७.६ मिटर छ। यसको उचाइ २४ मिटर छ। स्टिलको प्रयोग नगरीकन ढुंगा, इट्टा र सिमेन्टमात्र प्रयोग गरी निर्माण गरिएको पुल हो यो। यो पुल सिलोन गभर्मेन्ट रेलवेको रेलवे कन्ट्रक्सन डिपार्टमेन्टअन्तर्गत रहेको छ। यसमा प्रयोग भएको वास्तुकला र यस वरपरको हरियालीले पर्यटकहरूबीच यस पुलको लोकप्रियता बढ्दै आएको हो। यस पुलको निर्माण सन् १९१९ मा सम्पन्न भएको हो।
यो चालु अवस्थामा रहेको पुल हो। यो डेमोडारा रेलवेको खण्ड हो।
रेलको सिट्ठी बजेपछि र रेल कर्मचारीले हट्न संकेत गरेपछि सबै पर्यटकहरू सुरक्षित स्थान पुग्छन्। हामी पनि पुलको छेउमा रहेको सुरुङनेर उभिएका हुन्छौं। यसै बीचमा एउटा छरितो रेल सुरुङबाट छुकछुक गर्दै आउँदै गरेको देखिन्छ र बिस्तारै ओझेल पर्छ। पर्यटकहरू फेरि सामान्य अवस्थामा फर्किन्छन्।
एउटै पर्यटकीय स्थलमा रमाएर लामो समय बिताउने फुर्सद छैन हामीसँग। भोलि बिहानै हामीलाई एलाबाट यही पुल तरेर रेलमा क्यान्डी जानु छ। त्यसैले यहाँका दर्शनीय स्थलहरू हामीले आजै भ्याउनु छ। हामी केही समय अघिको ओरालोलाई उकालो बनाएर फर्किँदै छौँ अब। हाम्रो बाटोभन्दा अलिक माथि खोल्सामा रहेको बाँसको झ्याङमा हाम्रो दृष्टि पर्छ।
कति मोटा बाँस !
हामी छक्क पर्छौं। यो बाँसको फरक प्रजाति पनि हुनसक्छ। अथवा यस भूखण्डको हावापानी र माटोको प्रभाव पनि हुनसक्छ।
माथि बाटामा निस्केपछि केही समय हामीले ‘किङ कोकोनट’को खोजीमा बितायौँ। मिरिसामा जताततै देखिने किङ कोकोनट यहाँ देखिँदै देखिँदैन त! उत्पादनको राष्ट्रिय बजारमा सन्तुलित वितरण हाम्रोमात्र होइन; श्रीलंकाको पनि समस्या रहेछ। केही समय हिँडेपछि किङ कोकोनट देख्न त देखियो; तर मिरिसाको भन्दा धेरै महँगो!
अब महँगो भनेर भयो!
पसलबाट निस्केर हामी तेर्सो लाग्यौँ। अब हामीलाई सूर्यास्तको दृश्यावलोकन गर्न ‘लिटिल आदम पिक’ जानु छ।
लिटिल आदम पिकतर्फ उकालो लाग्दा रहरलाग्दो चियाबारी प्रारम्भ हुन्छ। अब प्रारम्भ भयो—‘रावण पुल क्लब’को एरिया। तलैबाट देखिन्छन् एक भव्य पर्यटकीय रेस्टुरेन्ट र जिपलाइनको स्टेसन। नजिकै छ, ‘फ्लाइङ रावण’को भव्य प्रतिमा पनि।
हामी चियाबारी छाडेर उकालो लाग्छौँ। हामी अघि पनि र पछि पनि गोरा पर्यटकहरू छन्। बाटो उकालो त छ नै; साँघुरो पनि छ। त्यसैले उछिनपाछिन हुँदैन।
लिटिल आदम पिकको टुप्पामा पुगेपछि थाहा हुन्छ—यहाँ मनग्गे पर्यटकहरू पहिल्यै रहेछन्। सूर्य अस्ताउने क्रममा देखिन्छ। उसो त यहाँबाट देखिने भौगोलिक दृश्यावली झनै मनमोहक छ। यहाँबाट देखिने डाँडाका थुम्काहरूमा अग्ला रुखहरू उति छैनन्; कपाल मुण्डन गरेको दुई महिनापछिको टाउकाका कपालजस्तै समान उचाइका एउटै जातका झारपातहरू छन्। जता फर्किएर हेरेँ पनि आँखा दुख्दैन; मन अघाउँदैन। पर्यटकहरू यो दृश्यलाई आफ्नो क्यामराको लेन्समा अटाउने प्रयासमा छन्।
हामी नजिकै एउटा कालो कपालवाला युवक छ। उनी वैशाखीमा छन्। हामी उनीबारे उत्सुक छौं। उनी आफैँ पनि हामीसँग बोल्न खोजेझैं देखिए, नाम रहेछ—डेल। फिलिपिन्सबाट आएका, डुली हिँड्ने। पेसाले कम्प्युटर इन्जिनियर । श्रीलंकापछि इन्डिया जाने, त्यसपछि नेपाल। उनी भन्दै थिए—‘क्यान्डीबाट म हिजो आइपुगेको हुँ– यहाँ। त्यस रुटमा रेलमा धेरै भीड हुने रहेछ; क्यान्डीबाट यहाँसम्म लगभग ७ घण्टा म रेलमा उभिएको उभियै आएँ। यो रेल यात्रा रमाइलो पनि भयो; कष्टकर पनि भयो।’
लिटिल आदम पिकबाट पनि हामीले सूर्यास्त हेर्न पाएनौँ। यहाँ पनि अस्ताउनै लागेको सूर्यलाई बादलले ढाकी दियो। कतिपयले भनेकै रहेछन्– ‘श्रीलंकाबाट सूर्यास्त राम्रो देखिन्छ तर बादलबाट प्रभावित नभएको सूर्यास्त भेट्न गाह्रो हुन्छ।’
बजारमा ओर्लेर हामीले डिनर गयौँ र एउटा टुकटुक पक्रेर ‘एला भ्यालु भिलेज’तिर उक्लियौँ। भोलि बिहान ६ बजे क्यान्डी जानका लागि हामीले रेल यात्राका लागि यही बजारमै रहेको रेलवे स्टेसन आउनुपर्छ। ‘एला भ्यालु भिलेज’देखि बजारसम्मको लगभग एक किलोमिटर ओरालो हामी दौडिएको दौडियै पनि आउन सक्छौँ। तर त्यसो गर्नु मूर्खतापूर्ण हुन पनि सक्छ, किनकि यो बिरानो ठाउँको सुनसान र एकलास बिहानसँग हाम्रो उचित स्तरमा चिनजान भएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
