नेपाल–बांग्लादेश व्यापार: आयात ३ अर्ब, निर्यात २७ करोड

बांग्लादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ। नेपालबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ।

भद्रपुर– चालु आर्थिक वर्षको आठ महिनामा बांग्लादेशबाट २ अर्ब ९६ करोड ९१ लाख बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। 

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बांग्लादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ। यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधी, आलु, पेपर, ग्लास, फुड एन्ड वेभरेजका मालसामान छन्।

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ। समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बांग्लादेश निर्यात भएको छ। द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए।