अमेरिकामा पक्राउ परेका ४० भन्दाबढी भुटानी शरणार्थीलाई भुटान ‘डिपोर्ट’ गरिएला?

डिसेम्बरमा अवैधानिक रूपमा क्यानडा र मेक्सिकोबाट भागेर अमेरिका पुगेका भुटानीका कारण अमेरिकाले आफ्नो ट्राभल–एडभाइजरी नवीकरण गर्दै भुटानलाई रेड–लिस्टमा राखेको छ।

काठमाडौँ– अमेरिकाका विभिन्न राज्यबाट हालै पक्राउ गरिएका ४० भुटानी शरणार्थीलाई जन्मस्थानका आधारमा भुटान वा नेपाल कता निर्वासित (डिपोर्टेसन) गरिएला भन्ने बहसले पुनर्वासमा तेस्रो मुलुक पुगेका १ लाखभन्दा बढी भुटानीमाझ तरंग उब्जाएको छ। 

अमेरिकी अध्यागमनको केन्द्रीय निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)’ले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पुरानो रेकर्ड तथा अदालती फैसलाका आधारमा पछिल्लो दुई महिनामा लगालग यस्ता व्यक्तिको पक्राउ गर्न थालेको हो। पुनर्वासमा अमेरिका गएका भुटानी शरणार्थीको हक–अधिकारमा बहस पैरवी गर्दै आएका अगुवा विश्व क्षेत्रीका अनुसार, अहिले पक्राउ गरिएका यी भुटानी आप्रवासी तत्कालको कुनै घटनाले नभई सन् २०१२ यताकै आपराधिक घटनाक्रममा मुछिएका व्यक्ति हुन्। “अमेरिकी प्रशासनले पछिल्लो समय आप्रवासी समुदाय र गैर–कानूनी तवरबाट बसोबास गरेका विदेशीलाई धरपकड गरेकै घडीमा भुटानी शरणार्थीबारेको समाचार आएर मात्रै अलिक बहस बढेर गएको हो, तर यो कुनै नयाँ घटना वा प्रकरणमा पक्राउ गरिएको होइन,” क्षेत्रीले अमेरिकाको पेन्सिलभेनियाबाट फोनमा उकालोसँग भने।

क्यानडाबाट भागेर अमेरिका छिरेका ३०० भुटानीबारेको ‘कुइन्सेल’ समाचार।

एरिजोना, टेक्सास, एक्रोन–ओहायो, सिनसिन्नाटी, पिटर्सबर्ग, हेरिसबर्गलगायत स्थानबाट आईसीईले पक्राउ गरेका सबै भुटानी मूलका व्यक्ति रहेका छन्। यसमध्ये पेन्सिलभेनिया राज्यबाट मात्रै ३० भन्दा बढी छन्। कुनै प्रकारको अध्यागमन कानून उल्लंघनभन्दा पनि घरेलु हिंसा, यौनजन्य कसुर, व्यक्ति हत्या प्रयास वा लागुपदार्थ काण्डमा परेका र विगतमा जेलमा बसिसकेका व्यक्तिहरू पक्राउ परेर आईसीई हिरासतमा रहेको क्षेत्रीले बताए। “पहिले नै आईसीई डिर्पोटेसनमा परे पनि विगतमा सरकारको प्राथमिकतामा यो विषय नरहेको हुनाले उनीहरू अधिकांश हाजिर जमानीमा बाहिरै रहेको स्थिति थियो। फेरि ‘डिर्पोटेसन’ नेपाल वा भुटान कता गर्ने भन्ने अन्योल छँदै थियो। त्यसमाथि नेपालले त अन्तर्राष्ट्रिय प्रावधान र आप्रवासनको पद्धतिमा अमेरिकालाई बुझाइसकेका भुटानी नागरिकको जिम्मा लिने भन्ने प्रश्नै थिएन,” क्षेत्रीले भने, “अर्कातिर, भुटानले मेरा नागरिक होइनन् भनेर जवाफ दिएपछिको अप्ठ्यारो यथावतै थियो, यसकारण अहिले देखिएको अवस्था आफैमा नयाँ भने होइन।”  

अहिले गैर कानूनी हैसियतमा बसोबास गर्ने र आपराधिक रेकर्ड रहेका जोकोहीलाई आईसीईले खोजी गर्ने क्रममा भुटानीसमेत परेको सूचनालाई सामाजिक सञ्जालमा ‘अपव्याख्या’ भइरहेकोबारे पुनर्वासमा आएका भुटानी समाज सचेत रहेको उनले बताए। नेपालमा देखिएको नक्कली भुटानी शरणार्थीको प्रकरणसँग अहिले पक्राउ परेका र डिपोर्ट गर्ने भनिएको व्यक्तिको कुनै सम्बन्ध नरहेको यथार्थ बुझाउनमा आप्रवासी भुटानी समाज लागिपरेको छ।

अरूभन्दा पनि यी भुटानी नागरिक ‘डिपोर्ट’ भएको अवस्थामा जाने ठाउँ कहीँ नरहेकोबारे चासो राख्दै आफूसहितको भुटानी अधिकारकर्मी समूहले कुनै प्रकारको सजाय वा कारावाससमेत अमेरिकामै उपलब्ध गराइदिन आग्रह गरिएको क्षेत्रीले जानकारी दिए। “भुटानबाट लखेटिएर नेपाल आएको र नेपालबाट आप्रवासनको अनुरोध/प्रबन्धमा अमेरिका आएका व्यक्ति एक प्रकारले अझै अनागरिक हैसियतमा छन्। डिपोर्ट गरिएमा जाने कहाँ?,” उनले भने। आईसीईले भने आपराधिक पृष्ठभूमि भएका यी व्यक्तिलाई भुटान डिपोर्ट गरिने भन्दै भुटानसँग अनुमति लिने प्रक्रिया अघि बढाएको सूचना बाहिर आइसकेको छ। कतिसम्म भने एक्रोन र सिनसिन्नाटीमा पक्राउ परेका तीन भुटानी शरणार्थीलाई मंगलबार भुटानको गेलेफु अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिपोर्ट’ गर्ने भन्ने सूचना समेत सम्बद्ध परिवारलाई दिइएको थियो। तर, ‘डिपोर्ट’ गर्ने तालिका क्रमशः पर सार्दै गएको छ। 

पेन्सिलभेनियामा पक्राउ परेका आफन्तजन भेटेपछि सम्बद्ध परिवार र भुटानी नेपालीभाषी समाजका प्रतिनिधि।

शरणार्थी समुदायमा ‘भय र अन्योल’
पुरानो अपराधको रेकर्ड र अदालती आदेशअनुसार अहिले आएर भुटानी शरणार्थीमाथि धरपकड तथा ‘डिपोर्ट’ गर्ने सम्मको सूचना बाहिर आएपछि अमेरिकास्थित भुटानी शरणार्थीको समुदायमा अन्योल छाएको छ। “हामी कुनै गैरकानूनी प्रक्रियाबाट पुनर्वासमा यहाँ आएका होइनौँ,” पेन्सिलभेनियास्थित नेपालीभाषी भुटानी समाजका प्रतिनिधि तिलक निरौलाले भने, “फेरि कुनै शरणार्थी प्रतिनिधिलाई आपराधिक गतिविधि गरेको आधारमा डिपोर्ट गर्ने अवस्था आए पनि भुटानमा लगेर कुनै प्रकारको सजाय नदिन र नियमपूर्वक नागरिकता दिएर जीविकोपार्जनको उपाय दिनसमेत हामीले अमेरिकी सरकारको सम्बद्ध निकायमा अनुरोध गरेका छौँ। भुटानबाटै लखेटिएर शरणार्थी बनेकालाई त्यहीँ डिपोर्ट गरिएको अवस्थामा उसको मानवअधिकार तथा सुरक्षा प्रत्याभूतिको जिम्मा पनि भुटानले लिनैपर्ने हुन्छ।”

भुटानी शरणार्थी समाजका प्रतिनिधि एवं न्यु–हेम्सफायरबाट निर्वाचित राज्यसभा सदस्य सुरज बुढाथोकीले भुटानले अनुमति दिएपछि अहिले पक्राउ परेकामध्ये केहीलाई गेलेफु ‘डिपोर्ट’ गरिने जानकारी आफूले पाएको बताए। तर यो निर्णय कार्यान्वयनमा आए/नआएको थाहा पाउन बाँकी रहेको उनको भनाइ छ।

भुटानी नेपाली समाजका अगुवा तथा अभियन्ता विश्व क्षेत्री भने भुटानको प्रलोभन देखाएर फेरि भारतमा लिएर छाड्ने हुन् कि भन्ने शंका व्यक्त गर्छन्। “जे जुनै अवस्थामा भए पनि आफ्नो घर फर्किन पाएको यो अवसरमा खुशी हुनेभन्दा बढी भुटानभित्रको मानव अधिकार र सुरक्षाको अवस्थामा हामीले बढी सरोकार राखेका छौँ,” क्षेत्रीले भने, “भुटान लगेर केही समय कतै आश्रय दिँदै फेरि विगतमा जस्तै जयगाउँ (भारत) ल्याएर छाडिने हो कि भन्ने भयसमेत पलाएको छ। त्यसो भएमा यहाँबाट डिपोर्ट गरिएका भुटानी शरणार्थी फेरि उही बाटोबाट नेपालका शरणार्थी शिविरमा पुग्न सक्ने सम्भावना बढेर गएको छ। यो झन् डरलाग्दो अवस्था हो।”

नेपालका शरणार्थी शिविर हुँदै अन्तर्राष्ट्रिय आप्रवासन संगठनको संयोजनमा अमेरिका पुगेका भुटानी शरणार्थीलाई नेपाल नै फर्काइने बारेमा कूटनीतिक तवरमा सोधपुछ भइरहेको जानकारी समेत आएको उनको भनाइ छ। “तर, यो कुरा सत्य होइन। नेपाल डिपोर्ट गर्न सकिनेबारे औपचारिक सूचना वा पत्राचार कुनै निकायबाट भएको छैन,” वासिङटनस्थित नेपाली नियोगका कार्यवाहक राजदूत शरदराज आरनले उकालोसँग भने, “यो हाम्रो सरोकारको विषय नै होइन।” 

भुटानी शरणार्थी पक्राउमा ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट(आईसीई)को भनाइ।

इन्हुरेड इन्टरनेसनल सम्बद्ध मानवअधिकारकर्मी गोपालकृष्ण सिवाकोटीले शरणार्थी आप्रवासनको नियम तथा प्रक्रियाअन्तर्गत अमेरिका सरकारको आग्रहमा नेपालका शिविरबाट अमेरिका पुगेका भुटानी शरणार्थीलाई फेरि नेपाल ‘डिपोर्ट’ गर्ने सम्भावना नरहेको बताए। “यो विषय अब अमेरिका र भुटानबीचको कुरा हो, त्यसमा बरु आप्रवासन संगठन (आइओएम)को सरोकार जोडिन सक्छ,” उनी भन्छन्।

अहिले पक्राउ परेकामा कोही पनि अमेरिकी नागरिक भई नसकेको र ग्रिनकार्डसमेत नरहेका (आपराधिक पृष्ठभूमिका कारण त्याग्नुपरेको) व्यक्ति रहेको क्षेत्रीले बताए। जानकारीमा आएअनुसार, अहिले पक्राउ परेकामध्ये तीन जनाले भने भुटान नै फर्किन इच्छा राखेका छन्। तर, तत्काल भुटान ‘डिपोर्टेसन’ गराउन नदिने पहलमा अमेरिकास्थित भुटानी शरणार्थीको आप्रवासी समाज लागिपरेको छ। यदि भुटानले आफ्ना नागरिक फिर्ता नलिएमा यिनलाई कता लगेर राखिनेछ वा ‘डिपोर्टेसन’ कहाँ गरिनेछ भन्ने अन्योल बढेर गएको छ। 

पछिल्लो समय अमेरिकाले भेनेजुएला, मेक्सिको, ग्वाटेमाला, होन्डुरस, इक्वेडर, ल्याटिन अमेरिका, भारत, नेपालसहितका मुलुकका गैरकानूनी हैसियतका आप्रवासीलाई चार्टड विमानमार्फत घरफिर्ती गर्दै आएको छ। अमेरिकी प्रशासनले भुटानीका हकमा तत्काल के गर्ने भन्ने निश्चित भइसकेको छैन। “हाम्रो सरोकार के मात्रै हो भने जबरजस्ती यी भुटानीलाई उनीहरूको देश लगियो भने स्थिति अझै अमानवीय बन्न सक्छ, अथवा भुटानबाट फेरि शरणार्थी शिविर खोज्दै नेपाल आउने अवस्था हुन सक्छ,” क्षेत्रीले भने, “पछिल्लो समयमा शरणार्थी मामलामा जस्तै विपद् आइपरे पनि नेपालले बोलेको देखिन्न। जस्तो, अहिले झापा–मोरङका शरणार्थी शिविरमा रहेका झन्डै ६ हजार ५०० भुटानी शरणार्थीका बारेमा पनि नेपालले केही बोल्न सकेको छैन। उल्टै परिचयपत्र समेत नवीकरण नगरी, जन्म–मृत्यु दर्ता हुन नदिएर र पारिवारिक मिलनमा आफै प्रबन्ध मिलाएर तेस्रो देश जान चाहँदा ट्राभल–डकुमेन्टसमेत रोक्का गर्दै शिविरमा थन्क्याएर राखेको स्थिति छ।”

रेड–लिस्टमा भुटान
अमेरिकाले मार्चको दोस्रो सातामा अद्यावधिक गरेको ट्राभल–लिस्टमा विश्वका ४३ देशलाई कडा वा नरम रूपमा अमेरिका भ्रमणमा रोक लगाएको छ। अमेरिका भ्रमणमा भिसा प्रतिबन्ध लगाइएको मुलुकको ‘रेड–लिस्ट’मा पहिलो पटक भुटानसमेत परेपछि यसबारेमा भिन्न बहस शुरू भएको छ। संसारकै सुखी मुलुक (ग्रस नेसनल ह्यापीनेस)को हवाला सुनाएर हिँड्ने भुटानलाई आखिर किन ‘ट्राभल रेस्ट्रिक्सन’? 

यसको पृष्ठभूमिमा गत डिसेम्बरमा क्यानडा र मेक्सिकोमा रहेका ३०० भन्दा बढी भुटानी (धेरैजसो विद्यार्थी) ‘तल्लो बाटो’ हुँदै अमेरिका प्रवेश गरेपछि ट्रम्प प्रशासनले यो गतिविधिलाई सूक्ष्म रूपमा हेरेको अमेरिकामा नेपाली समुदायमाझ कार्यरत एक कानूनकर्मीले बताए। “त्यसमाथि पछिल्ला १० वर्षमा २०० भन्दा बढी भुटानी नागरिक गैरकानूनी हैसियतमा अमेरिकामा रहेको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको रिपोर्ट बाहिर आएपछि पनि ट्रम्प प्रशासनले यस्तो गतिविधिमा थप कडाइ गरेको थियो,” उनले भने, यी सबै प्रकरणमा रहेका र कारवाहीको अदालती फैसला आएकालाई डिपोर्ट गर्न खोज्दा भुटान सरकारले अनुमति नदिएपछिको ‘बार्गेनिङ–चिप्स’ हो यो रेड–लिस्ट।” गैरकानूनी आप्रवासनको विरोधमा उत्रिएको ट्रम्प प्रशासनले भूटानलाई मात्रै नियमनको कडाइमा ल्याएको भन्न नमिल्ने उनको बुझाइ छ।  

अमेरिकाले सार्वजनिक गरेको भुटानसहितलाई यात्रा–अनुमति प्रतिबन्ध लगाउने ट्राभल–एडभाइजरी।

अर्कातिर, द भुटनिज, सहितका केही भुटानी मुलधारका मिडियाले नेपालको नक्कली शरणार्थी प्रकरणको ‘ब्याकड्रप’का रूपमा अमेरिकाले जारी गरेको भुटानमाथिको यात्रा प्रतिबन्ध (रेड–लिस्ट) आएको भनेर सूचना प्रवाह गरिरहेका छन्। “तर, यो नचाहिंदो कुरा हो। नक्कली भुटानी शरणार्थी प्रकरण सन् २०१७/१८ पछि शुरू भएको हो, जबकि अमेरिका पुनर्वासमा आउने हामी सबै सन् २०१७ अगाडी यहाँ आइसकेका छौँ,” क्षेत्रीले भने, “भुटानले चालेको यो नयाँ प्रोपोगान्डा मात्रै हो। हामीलाई कसरी भुटानी मूलको नागरिक हुनुबाट विच्छेद गराउन (डिस–वन) सकिन्छ भनेर भुटानले यो प्रपञ्च अघि सारेको हो।” 

यसरी शरणार्थीको नक्कली प्रकरणमा जोड्दै अहिलेसम्म लाञ्छना गरेर भुटानले बोलिरहँदा नेपाल चुप लागेर बस्न नमिल्ने भनाइ क्षेत्रीको छ। नेपालमा चलेको नक्कली भुटानी शरणार्थीको प्रकरणमाझ यही उपायबाट अमेरिका पुगेका व्यक्तिलाई पक्राउ तथा ‘डिपोर्ट’ गरिन लागेको भन्दै भुटानी मिडियाले चलाएको अफवाहले अमेरिकामा पुनर्वासमा आएका भुटानी शरणार्थी समुदाय पनि अनावश्यक सोधपुछमा पर्दै आएको उनले सुनाए। यस बीचमा भुटानले गरेको अनुरोधमा रेड–लिस्टबाट हटाएर भुटानलाई ‘येलो–लिस्ट’मा राखिएको र ६० दिनभित्र आफ्नो नियम/प्रावधान सहजीकरण गर्न सकेमा यो सूचीबाट अमेरिकाले हटाउन सक्ने सूचना पनि सार्वजनिक भएको छ। तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। 

“जे जसरी हुन्छ, जिम्मेवारी र उत्तरदायित्वबाट पन्छिने भुटानको चरित्रले अहिले पनि राम्रैसँग खेल्ने काम गरेको छ,” क्षेत्री भन्छन्, “यत्ति हो कि अमेरिकामा अहिले पक्राउ गरिएका भुटानी शरणार्थीको सन्दर्भ वा भुटान स्वयं रेड–लिस्टमा परेको विषयमा नेपालको केही लेनादेना छैन, यो बरु भुटान र अमेरिकाबीचको कुरा हो।”

पूर्वी नेपालमा सन् १९९० पछि शुरू भएको भुटानी शरणार्थी बसोबासको क्रममा यो समस्या समाधानका नाममा एकजना भुटानीको पनि अहिलेसम्म घरफिर्ती हुन सकेको छैन। अमेरिकाले तयार पारेको ट्राभल–एडभाइजरीको सूचीमा आफू ‘रेड–लिस्ट’मा परेपछि यसमा परिमार्जनको आग्रह गर्दै भुटानले बाध्य भएर अमेरिका पुगेका केही नागरिकलाई घर फर्काउन अनुमति दिएको खण्डमा यो प्रकरण आफैमा ‘अनौठो’ हुनेछ। “किनभने स्वैच्छिक घरफिर्तीको हाम्रो मुख्य एजेन्डालाई पन्छाएर तेस्रो देशमा बसोबासका क्रममा हामी यहाँ आएका थियौँ,” सामाजिक अभियन्ता निरौलाले भने, “आपराधिक गतिविधिमा संलग्न भए पनि आफ्ना नागरिकलाई म देश फर्काउँछु भन्नुको भुटानको अर्थ र अभिप्राय भविष्यका निम्ति पनि एउटा नजिर बन्नेछ।”