‘मलाई यो आन्दोलनको नेतृत्व गरिदेऊ भनेर राजाले भनेको होइन। विभिन्न पार्टी, राजा चाहिनेवाला संघसंगठन सबैले भनेका कारण म स्विकार्य व्यक्तिको रूपमा आएको हुँ। तर एकदुई जनाले विवाद निकालिदिए।’
तत्कालीन राष्ट्रिय पञ्चायतमा लामो समय अध्यक्ष भएका नवराज सुवेदी पटकपटक मन्त्री पनि भए। बहुदलीय व्यवस्थापछि राप्रपामा संलग्न उनी अहिले पार्टीमा सक्रिय थिएनन्। तर राजतन्त्र फर्काउन भन्दै बनाइएको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक बनाइएपछि उनी चर्चामा आए। यही विषयमा सुवेदीसँग उकालोका लागि किरण दहाल र आदित्य नेपालले गरेको कुराकानीः
तपाईंले आफ्नो आत्मकथामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ओमेगासँग जोडेर चर्चा गर्नुभएको छ। तपाईंले राजावादी आन्दोलनको नेतृत्व गरेपछि त्यसको खुब चर्चा भइरहेको छ। ‘ओमेगा’लाई चर्चित बनाइदिनु भयो है?
फाल्तु कुरा। मेरो किताबमा त अरू धेरै कुरा छन्। अरूचाहिँ ल्याउँदैनन्। त्यही ओमेगाको प्रसंग उप्काएर ल्याउँछन्। मेरो र राजाको टसल परोस् भनेर मिडियाले यस्तो गरेका हुन्। ६० वर्ष पहिला आएका कुरा अहिले पुनः के कोट्याइरहेको? पुस्तकमा अरू कुरा पनि बाहिर ल्याए भयो नि! ओमेगाको कुराले अहिले मलाई केही फरक पार्दैन।
तपाईं लामो समयदेखि सक्रिय राजनीतिबाट बाहिर हुनुहुन्थ्यो। पूर्वराजा ज्ञानेन्द्र शाहसँग तपाईंको सम्बन्ध खास सुमधुर पनि होइन। अहिले अचानक राजतन्त्रको कुरा कसरी आयो?
अहिलेका नेताहरूको करतुतले राजतन्त्र आवश्यक छ भनेको हो। के मुलुक राम्रोसँग चलेको छ? गणतन्त्रको नामले मात्रै मुलुक नचल्ने रहेछ। मुलुक त बेहाल छ, न्यायपालिका पनि भ्रष्ट बनाए। जनतालाई गाह्रो भयो। एउटा अदालतको कुरा मात्रै होइन, सबैतिर उस्तै छ।
राजतन्त्रको अन्त्य भएको १८ वर्ष भयो। त्यति बेला जन्मेका बच्चा अहिले १८ वर्षका भए। ती १८ वर्षका केटाकेटी पनि सडकमा उफ्रेर ‘राजा आऊ देश बचाऊ’ भनेको छ। जसलाई राजतन्त्रमा के हुन्छ थाहा नै छैन, ऊ पनि राजा ल्याउनुपर्छ भनिरहेको छ। यो अहिलेको व्यवस्थाको असफलता हो। अहिले हामीले धेरै केही भनेकै छैनौँ, २०४७ सालको संविधान, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, संघीयता खारेज गर्ने हाम्रो माग हो।
पञ्चायतकालमा तपाईं सक्रिय भएको बेला तपाईं र राजा ज्ञानेन्द्रको सम्बन्ध त्यति राम्रो थिएन। अहिले कुन तत्वले तपाईंहरूलाई जोड्यो?
मलाई यो आन्दोलनको नेतृत्व गरिदेऊ भनेर राजाले भनेको होइन। यो त विभिन्न पार्टी, राजा चाहिनेवाला संघसंगठन वा राजावादीहरू सबैले तपाईं भए हुन्छ भनेका कारण म सबैलाई स्विकार्य व्यक्तिको रूपमा आएको हुँ। तर एकदुई जनाले फेरि विवाद निकालिदिए। अहिले (विवाद) धेरै साम्य भइसक्यो, हामी मिलिरहेका छौँ। त्यसैले म आफैँ पनि आन्दोलनको नेतृत्व लिन तयार भएँ।
राजसंस्था फर्किनुपर्छ भन्ने मेरो लाइन हो। नेपाललाई हिन्दू राष्ट्र पनि बनाउनुपर्छ, यो त नेपालकै लागि गौरवको विषय हो। संसारमा मुस्लिम मुलुक हुन हुने, ईसाइ मुलुक हुन हुने, तर नेपाल हिन्दू राष्ट्र हुन नहुने कुनै कारण छैन।
यो आन्दोलनको तयारी पुरानै हो?
होइन।
तपाईंको नेतृत्वमाथि पनि अन्य राजावादीले प्रश्न उठाइरहेका छन् नि! आन्दोलन शुरू नहुँदै तपाईंहरू विभाजित भइसक्नु भयो त?
होइन, होइन। अहिले सबैजना मिलिसके। कमल थापा, राजेन्द्र लिङ्गदेन पनि मिल्ने भइसके। सबैलाई मिलाउन सक्ने भएरै मलाई कमान्ड दिएको हो।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न आएका १०–१२ हजार समर्थकहरूको भीड देखेर तपाईंहरू हौसिनुभएको हो?
हामी हौसिएका छैनौँ। १० हजार मात्रै थिए र? एयरपोर्टबाट निर्मल निवास पुग्न साढे चार घन्टा लाग्यो। १० हजारको भीडलाई छिचोल्न त्यति समय लाग्छ? त्यति मासले पनि हामी हौसिएका होइनौँ। देशको हालतै खराब भयो नि! यिनिहरूले त लुटेरै खाए। यिनीहरूले स्विट्जरल्याण्डमा राजाको पैसा छ भन्थे, हामी सत्तामा आएपछि त्यो पैसा ल्याएर नेपाललाई सिंगापुर बनाउछौँ भन्थे। खोई त? कहाँ गयो त्यो कुरा? अहिलेका नेताहरूले राजाको ट्रस्टमा राखिएको जग्गा र जायजेथा पनि कौडीको भाउमा बेचे। त्यो कसैले देख्दैन। गणतन्त्र भएपछि पुग्यो। अहिले देश पूरै लुटिएको छ।
राजतन्त्र आइहाल्यो भने प्रधानमन्त्री पाइन्छ भन्ने तपाईंको लोभ हो?
मलाई पद दिए पनि लिन्नँ। पुग्यो। ८६ वर्षको भएँ। यही चैत २० गते ८७ हुन्छु। अब मलाई किन चाहियो प्रधानमन्त्री? चाहिएन। मैले जति सक्थेँ, विगतमै गरेँ। २४ वर्षको उमेरमा राजा महेन्द्रले मन्त्री बनाए। ११ वटासम्म मन्त्रालय चलाएँ। म दुई घन्टा सुत्थेँ, २२ घन्टा काम गर्थें। त्यो तागत थियो। अब नयाँ पुस्ता आउनुपर्छ।
प्रधानमन्त्रीको बारेमा सोच्नु भएको छैन?
त्यस्तो मैले सोचैकै छैन। मेरो चाहना चाहिँ युवा पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने हो। साँच्चै भन्ने हो भने म त बालेन देशको प्रधानमन्त्री हुनुपर्छ भन्छु। एनर्जेटिक, आइडिया भएको, एक्टिभ मान्छे चाहिन्छ।
बालेनसँग तपाईंको कुरा भएको छ?
भएको छैन।
तपाईंको यो बीचमा राजासँग कहिले भेट भयो?
राजा नभेटेको धेरै भइसक्यो। ६ महिना भइसक्यो राजा नभेटेको।
फोनमा पनि कुरा भएको छैन?
त्यही ६ महिनाअगाडि भएको हो।
अन्तिमपटक राजासँग भेट हुँदा के कुरा भएको थियो?
राजासँग भएको कुरा भन्न मिल्दैन।
राजावादी अन्य नेताहरू पनि पूर्वराजाको बारेमा प्रश्न गर्दा ६ महिनाअगाडि भेटेको बताउँछन्। अधिकांशको जवाफ यही हुन्छ। ‘मसँग नभेटेको ६ महिना भयो’ भन्नु भनेर राजाले नै सिकाउँछन् कि के हो?
अरूको त मलाई थाहा छैन, मेरो ६–७ महिनाअगाडि भेट भएको हो। भेट्न सकिन्छ। मैले आज समय मागेँ भने भोलि नै भेट्न सकिन्छ। तर मेरो उहाँसँग कामै छैन, अनि किन भेट्नु? अहिले राजा भेटेँ भनेँ उहाँले नै मलाई कमान्डर बनाएको भनेर तपाईंहरू नै पहिला लेख्नुहुन्छ। त्यसकारण किन भेट्ने?
ज्ञानेन्द्र अहिले के चाहिरहेका छन्? यत्रो देशदौडाहा केका लागि?
केही पनि चाहेका छैनन्। उहाँ आनन्दले बस्नुभएको छ। उहाँ धार्मिक मान्छे हो, देशभरिका मन्दिरमा जानु स्वभाविक हो।
यसरी आनन्दले बसेको मान्छेले बेलाबेला ‘अब बेला भयो’ भन्दै जनताको साथ किन मागेको?
आज युवक जति सबै बेल्चा चलाउन अरब, मलेसिया पुग्या छन्। दिनको दुई हजार युवा बिदेसिन्छन्। यहाँ कसैले काम पाउँदैनन्। हामी खाद्यान्य निर्यात गर्थ्यौं पहिला। अहिले आयात गर्छौं। मुलुकको आर्थिक स्थिति बिग्रेर खत्तम भइसक्यो। विकास शून्य छ भने पनि हुन्छ। देशको दुर्गति छ। महँगी पाँच दिन पहिला एउटा भाउ छ, पाँच दिनपछि अर्को भाउ। कसैलाई मतलबै छैन। त्यसकारण यी सबै कामले गर्दा राजालाई देशको माया भएर अब मलाई साथ देऊ, म उद्धार गर्छु मुलुकको भनेर भन्नुभएको हो।
भनेपछि राजा आए भने रातारात सबै परिवर्तन भएर नयाँ युगको शुरूआत हुन्छ?
रातारात होइन। बिस्तारै बिस्तारै हुन्छ। रातारात के हुन्छ र?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
