विश्व म्याराथनको बोर्ड बैठक जेठ तेस्रो साता काठमाडौँमा हुने

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक आगामी जेठ तेस्रो साता काठमाडौँमा हुने भएको छ।

काठमाडौँ– विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक आगामी जेठ तेस्रो साता नेपालमा हुने भएको छ। एम्सको बोर्ड बैठक जेठ २१–२२ (जुन ४–५) मा काठमाडौँमा हुने निश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले बताएका हुन्।

निरन्तरको लबिइङपश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको नेपालगन्ज म्याराथनका संस्थापकसमेत रहेका ठकुरीको भनाइ छ। “एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो,” उनले भने, “यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ। साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसरसमेत प्रदान गर्नेछ।”

एम्सको बोर्ड बैठकका लागि आतिथ्य गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन्। एम्सको बोर्ड बैठकमा युरोप, अमेरिका, जापान, थाइल्यान्डलगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ। सोही अवसरमा नेपालगन्ज म्याराथनले आयोजना गर्ने अन्य विशेष कार्यक्रममा पनि दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। 

विश्व समुदायसमक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएकाले यो प्रतिष्ठाको विषय रहेको ठकुरीले बताए। “तसर्थ सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेका छौँ,” उनले भने, “आशा छ, सबैबाट सकारात्मक साथ र सहयोग रहनेछ। यसमा व्यक्तिगत तथा संस्थागत सहयोग र सहकार्य गर्न सकिनेछ।” 

नेपालमा नियमित आयोजना हुँदै आएका सम्पूर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए। एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मूल आयोजक समिति गठन गरिनेछ। नेपालका प्रतिष्ठित म्याराथन आयोजकलाई उक्त मूल आयोजक समितिमा समेटिने उनको भनाइ छ। 

संसारभर वर्ल्ड एथ्लेटिक्ससँग समन्वय गरेर ‘रोड रेस’को नियमन तथा प्रवर्द्धन गर्ने एम्सको सञ्जाल १२० देशमा छ भने करिब ४५० रोड रेस आयोजक यसका सदस्य छन्