प्रतिनिधिसभा निर्वाचन : कुन दलका कति उम्मेदवार?

आसन्न निर्वाचनका लागि देशैभरबाट २५२६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २२९१ जना पुरुष रहेका छन् भने २३५ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ५२६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २ हजार २९१ जना पुरुष रहेका छन् भने २३५ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ। 

यसअघि २०७४ सालको निर्वाचनमा १४५ जना महिलाले उम्मेदवारी दिएकोमा यसपटक २ प्रतिशत बढी महिलाले प्रत्यक्षमा उम्मेदवारी दिएको देखिएको छ। यस्तै, पछिल्लो निर्वचनमा ५५ वटा दलले भाग लिएकोमा यसपटक ५७ दल निर्वाचनमा भाग लिँदैछन्।

कुन दलका कति उम्मेदवार?
आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सबैभन्दा बढी उम्मेदवारी परेको छ। राप्रपाबाट देशभरमा १४५ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्। जसमध्ये १३७ जना पुरुष छन् भने ८ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देशभरमा १४४ जनाको उम्मेदवारी परेको छ। देशैभरबाट उम्मेवारी दिने दलहरूमध्ये एमाले दोस्रो स्थानमा छ। एमालेबाट उम्मेदवारी दिनेहरूमा १३२ जना पुरुष तथा १२ जना महिला रहेका छन्।

यस्तै, तेस्रो सबैभन्दा धेरै उम्मेदवार खडा गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ। रास्वपाबाट देशभरिमा १३३ जनाको उम्मेदवारी परेको छ। जसमध्ये १२१ जना पुरुष रहेका छन् भने १२ जना महिला छन्। देशभरबाट उम्मेदवारी दिनेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) चौथो बनेको छ। नेमकिपाबाट १०७ जनाले उम्मेदवारी दिएका हुन्। जसमध्ये ९५ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेको आयोगले जनाएको छ।

यस्तै, नेपाली कांग्रेसबाट ९२ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ८७ जना पुरुष रहेका छन् भने ५ जना महिला रहेका छन्। 

त्यसैगरी मंगोल अर्गनाइजेसनबाट ८८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ७८ जना पुरुष रहेका छन् भने १० जना महिला रहेका छन्।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट ८१ जनाको उम्मेदवारी परेकोमा ७४ जना पुरुष छन् भने ७ जना महिला छन्। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट ५२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूमा ४९ जना पुरुष छन् भने ३ जना महिला छन्।

नेकपा माओवादी केन्द्र तथा नेपाल समाजवादी पार्टीले ४७ जना उम्मेदवार उठाएको छ। जसमध्ये ३९ पुरुष तथा ८ जना महिला रहेका छन्।  

नेकपा एकीकृत समाजवादी पार्टीबाट २५ जनाको उम्मेदवारी परेकोमा २४ जना पुरुष तथा १ जना महिला रहेका छन्। 

बाँकी ४९ वटा पार्टीबाट भने ६६९ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ६०१ जना पुरुष तथा ६८ जना महिला रहेका छन्।

कति छन् स्वतन्त्र उम्मेदवार?
गत स्थानीय तहको निर्वाचनमा ठूला शहरमा स्वतन्त्र तथा बागी उम्मेदवारले समेत जित हात पारेपछि त्यसैको प्रभावस्वरूप आम निर्वाचनमा पनि ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार खडा भएका छन्। 

यस्तोमा अगामी प्रतिनिधिसभा निर्वाचनमा ९४३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारी दिनेहरूमा ८५८ जना पुरुष रहेका छन् भने ८५ जना महिला रहेका छन्।