विश्वव्यापी रूपमा गएको २०० वर्ष अमेरिकी लोकतन्त्रले मानक स्थापना गरेको थियो। त्यो मानक बिस्तारै खस्किँदै गएको हो कि भन्ने धेरैको मनमा परेको छ।
हामी यतिखेर आलेक्सि तोकोभिलले लेखेको डेमोक्रेसी इन अमेरिका नामक पुस्तकको चर्चा गर्दै छौँ। तोकोभिल सन् १८०५ मा फ्रान्समा जन्मिएका थिए र १८३१ मा उनले अमेरिका भ्रमण गरेका थिए। त्यहाँ गएर बसेको आधारमा उनले सन् १८३५ मा पुस्तकको पहिलो र सन् १८४० मा पुस्तकको दोस्रो खण्ड प्रकाशित गरे।
समाजशास्त्र र राजनीतिशास्त्रको एक प्रकारले कालजयी किताब हो यो। अमेरिकामा भर्खरै ट्रम्पको दोस्रो पुनरागमनपछि राजनीतिक संस्थाहरूमा उथलपुथल भइरहेको छ, अमेरिकी समाजमा अनेकन् परिवर्तन भइरहेका छन्। विश्वव्यापी रूपमा गएको २०० वर्ष अमेरिकी लोकतन्त्रले मानक स्थापना गरेको थियो। त्यो मानक बिस्तारै खस्कँदै गएको हो कि भन्ने धेरैको मनमा परेको छ। उदार विश्व अर्थव्यवस्था र उदार अन्तर्राष्ट्रिय राजनीतिक संस्थाहरू (यूएन, डब्लूएचओ, विश्वबैंक, अन्तर्राष्ट्रिय मानव अधिकार संगठनलगायत यावत संस्था) अमेरिकी अगुवाइमा दोस्रो विश्वयुद्धपश्चात् निर्माण भएका थिए र ती अहिले खलबलिएका छन्।
अमेरिकाको राष्ट्रपति आवधिक निर्वाचनबाट आउँछन् र ट्रम्पको यो दोस्रो कार्यकाल भएका हुनाले यिनी चार वर्षसम्म राष्ट्रपति रहन्छन्। चार वर्षसम्म कस्ता किसिमका उथलपुथल आउने हुन् र अमेरिकी लोकतन्त्रको भविष्य के हुने हो भन्ने चिन्ता सर्वत्र गरिँदै छ। विशेषतः विकासोन्मुख देशहरूमा अमेरिकी अन्तर्राष्ट्रिय संस्था–यूएसइडको अवसानपछि महामारी व्यवस्थापन, पौष्टिक आहार वितरण या विश्वव्यापी राजनीतिक र आर्थिक सन्तुलनका सम्बन्धमा अमेरिकाले गरेको नेतृत्व बिस्तारै विस्थापित हुँदै गएको अनुभव भएको छ।
२०० वर्ष बढी पुरानो लोकतन्त्र एउटा आवधिक निर्वाचनको कारणबाट यसरी विस्थापित हुनसक्छ भन्ने आशंकाले के देखाउँछ भने लोकतन्त्र सदैव हल्लिरहने (फ्रेजाइल) व्यवस्था हो। यसलाई बलियो बनाउन नागरिक समाजको भूमिकादेखि विभिन्न अन्य तत्त्व आवश्यक हुन्छन्।
त्यसै कारण एक पटक फर्केर अमेरिकी लोकतन्त्रको आधारभूत टेक्स्ट, अलेक्सिस तोकोभिलको किताब डेमोक्रेसी इन अमेरिकालाई पुनर्पठन गर्न मन लाग्यो। उनले भनेका केही कुराहरू अहिलेको विकसित सन्दर्भमा जोड्न मन लाग्यो। पुस्तक पठनको एउटा रमाइलोपन के हो भने फेरि फर्केर कुनै विद्वान लेखक, अन्वेषक या वैज्ञानिकले लेखेका कुरालाई यसमार्फत हेर्न पाइन्छ। जुन अनुभवबाट हामी गुज्रिरहेका छौँ, त्यसको आधारमा हेर्न र आफ्नै सोचाइको आधारमा पढ्न पाइन्छ।
यद्यपि, हामीले चर्चा गरिरहेको पुस्तक १८३५ देखि १८४० को बीचमा चार भागमा लेखिएको हो। यस पुस्तकलाई लिएर के पनि भनिन्छ भने अमेरिकाको १९औँ शताब्दीको सबैभन्दा सोच्न लायक विश्लेषण हो यो। यस पुस्तकले राजनीतिक मात्र नभएर आर्थिक विश्लेषण पनि गर्छ।
लगभग २०० वर्षपछि यिनको किताब हामी किन पल्टाउँदै छौँ? फ्रेन्च सम्भ्रान्त वर्गका तोकोभिलले ३०-३५ वर्षकै उमेरमा कूटनीतिक क्षेत्रमा काम गरे। उनी राजनीतिक दार्शनिक र इतिहासविद् पनि हुन्। फ्रान्सेली क्रान्ति, प्रतिक्रान्ति र विभिन्न आरोह-अवरोहबाट सम्भ्रान्ततन्त्रलगायत पुरानो सामाजिक व्यवस्था बिस्तारै खस्कँदै गइरहेको र नयाँ उदय हुँदै गइरहेको कालखण्डमा हुर्कँदै थिए। हामीले पुस्तक पढ्दै गर्दा त्यो ख्याल गर्नुपर्छ।
यसै बीचमा पनि अमेरिकामा अमेरिकी क्रान्ति भएर राजनीतिको बिस्तारका आधारमा गृहयुद्ध पनि सकिइसकेको थियो। त्यसपछि प्रशस्त रूपमा त्यहाँ नयाँ इन्स्टिच्युसनहरू बनेका थिए। युरोपको दृष्टिकोणमा अमेरिका नयाँ मुलुक थियो, जहाँ मानिसहरू सङ्गठित हुने, सामाजिक क्षेत्रमा काम गर्ने र राजनीतिक संस्थाहरूको निर्माण गर्ने गरिरहेका थिए। त्यो देखेर पनि टकोभिल अमेरिकी समाजलाई हेर्न निकै लालायित थिए।
तुलनात्मक अध्ययन किन जरुरी थियो र अहिले पनि जरुरी छ भने युरोप पुरानो समाज र पुरानो राज्य थियो भने अमेरिकामा त्यतिखेर राज्य बनिसकेको थिएन। अमेरिकामा खासगरी बेलायत, फ्रान्स र स्पेनी उपनिवेशहरू जानुअघि त्यहाँ आदिवासीहरू थिए। त्यस समाजलाई आधुनिक सन्दर्भमा राज्य भनिँदैनथ्यो। तर उनीहरूको पारम्परिक शासनव्यवस्थाचाहिँ थियो। यसरी नयाँ समाज र नयाँ राज्य उत्पत्ति हुँदै गरेको समयमा तोकोभिल अमेरिका पुगे।
समाज पहिले कि राज्य पहिले भन्ने सन्दर्भमा युरोप र हाम्रै इतिहास हेर्दा पनि हामी राज्य पहिला देख्छौँ, किनकि हामीसँग शासनव्यवस्थाको कामना छ। राज्यले नै शासनव्यवस्थालाई व्यवस्थित गरेको देखिन्छ। हाम्रो दिमागमा राज्यको चेतना यस्तो गढेर रहेको छ कि हामी समाजलाई पहिले भनेर कल्पनै गर्न सक्दैनौँ। तपाईँ केको सदस्य भनेर कसैले सोधे आफूलाई नेपाली राज्यको सदस्यको रूपमा आफूलाई चिनाउँछौँ हामी। कति परसम्म आफ्नो उपस्थिति र अवस्थितिलाई लिएर जाने भन्ने कुरा सैद्धान्तिक बहसको विषय हो। तर खुला रूपमा के भन्न सकिन्छ भने अमेरिका नयाँ समाज र नयाँ राज्य हो।
किनभने २०० वर्षभन्दा धेरै पुराना संसारका राज्यहरू हामी देख्छौँ। त्यसो हुँदा युरोप पुरानो शासन र पुरानो राज्य भएको व्यवस्था थियो। समाज विज्ञान-साहित्यमा त्यसलाई एन्सेन्ट रेजिम (प्राचीन राज्य) पनि भन्ने गरिन्छ।
भनेपछि त्यतिखेर अमेरिका बन्दै थियो। चलायमान थियो। मानिसहरू विभिन्न कारणबाट युरोपबाट निर्वासन भएर गएका थिए। मौकाको खोजीमा गएका थिए। अमेरिका बन्ने जुन प्रयोग भइरहेको थियो, त्यसले युरोपियनहरूलाई खिच्नु स्वाभाविकै थियो। यसै सन्दर्भमा राजनीतिक परिवारका तीस वर्षीय टकोभिल के देख्थे भने आफ्नो कुलिन वर्गको अवशेष भएको छ, समानताको समय उदाउँदै छ।
राजनीतिक सिद्धान्तको हाम्रो समयको सबैभन्दा चुनौती स्वतन्त्रता र समानता हो। टकोभिल पनि समानताबाट तर्सिरहेका थिए, किनभने नयाँ युगले समानता ल्याइरहेको थियो। फ्रान्सेली क्रान्ति होस्, या अमेरिकन क्रान्ति, त्यसले समानताकै माग गरेको थियो। स्वतन्त्रता र समानतालाई कसरी लिएर जाने भन्ने सन्दर्भमा अमेरिकामा एउटा ठूलो प्रयोग भएको आकलन उनले गरे। फ्रान्सेली क्रान्तिपछि उथलपुथलहरू आएका थिए, नयाँ किसिमको दण्ड व्यवस्था थियो फ्रान्समा। अमेरिकामा उत्पन्न भइरहेको दण्ड व्यवस्थामा जुन जेलको व्यवस्था थियो, त्यसको पनि अध्ययन गरौँ भन्ने विचार तोकोभिलमा थियो। त्यसलाई 'पेनिटरी सिस्टम' भनिन्छ। अतः जेलको तुलनात्मक अध्ययन पनि गरेका छन् लेखकले।
अमेरिका चाहिँ स्वतन्त्रताको खोजीमा धार्मिक र जातीय बन्देजहरूबाट मुक्त हुन चाहने समाजका रूपमा विकास हुँदै थियो, जो युरोपको पुरानो सामन्तवादी व्यवस्था र धार्मिक अन्धविश्वासले जकडिएको समाजभन्दा फरक थियो। युरोपमा उदारवादीहरूबीच कस्तो किसिमको द्वन्द्व छ र 'नयाँ संसार'मा त्यो द्वन्द्व कसरी विकसित भइरहेको छ भन्नेबारे उनको आफ्नो विचार थियो।
यसैबीच, उनी र उनका साथी गुस्ताभ बोमो नौ महिना अमेरिकामा यात्रा गर्न निस्कन्छन्। १८३१ बाट १८३२ को ९ महिना। पेङ्गुइनले नयाँ रूपमा छापेको पुस्तक करिब ९०० पेजको छ। यस पुस्तकमा म आफैँ पनि सँगै पढेको आइज्याक क्रामनिक (कोर्नेल विश्वविद्यालयका प्रोफेसर) को परिचय छ। क्रेमेनिकचाहिँ समाजवाद र उदारवादको द्वन्द्व पढ्न चाहने विद्वान हुन्।
यस पुस्तकमा औद्योगिक क्रान्तिपछि १९औँ शताब्दीमा कस्तो किसिमको राजनीतिक र आर्थिक व्यवस्था उदय र कस्तो किसिमको संसार निर्माण हुँदैछ भन्ने उल्लेख छ। अमेरिकामा त्यतिखेर जस्ता अभ्यासहरू हुँदै थिए, त्यसलाई 'ग्रेट एक्सपेरिमेन्ट' पनि भन्ने गरिन्छ।
एसियाबारे हेर्दा यो पुरानो समाज र नयाँ राज्य थियो। भारतको समाज पुरानो हो र राज्यचाहिँ नयाँ। इन्डोनेसियाको बारेमा क्लिफोर्ड ग्रिज त्यसै भन्छन्। तर अमेरिकामा त राज्य र समाज एकैचोटि सिर्जना/निर्माण हुँदै थियो। १९औँ शताब्दीको मुख्य पृष्ठभूमिमा फ्रान्सेली क्रान्ति, १७८७ देखि लिएर १७८९ को औद्योगिक क्रान्ति भए। १९ औँ शताब्दीलाई परिवार, जग्गा (भूमि), सामाजिक वर्ग र आर्थिक वर्गबीचको तनाव, धर्मको चर्चा, समुदाय र राजसंस्थाबीचको द्वन्द्वलाई यी दुई परिवर्तनले हेर्ने कोसिस गर्यो।
यसरी हेर्दा अमेरिकामा १९औँ शताब्दीको अन्त्यतिर नयाँ संसार बन्दै थियो, त्यसले तीन-चार विषयको जटिल सम्बन्धलाई हेर्न खोजेको देखिन्छ। यो नयाँ संसारमा मान्छेको दर्जा (स्ट्याटस) के हुन्छ? बराबरी हुन्छ कि तलमाथि हुन्छ? उचनिच के हुन्छ? त्यस्तो समानताको आधारमा बनाउन खोजिएको संसारमा सत्ता र शक्ति कसरी सञ्चालन हुन्छ भनेर हेर्न पनि जरुरी थियो। जात र धर्मको आधारमा कसरी अब शासन हुन्छ? सबै बराबर भएर गएको ठाउँमा अब सम्पत्तिको निर्माण कसरी हुन्छ? त्यो पनि बडो महत्त्वपूर्ण चर्चाको विषय थियो, जसलाई तोकोभिलको किताबबाट हेर्न सकिन्छ।
सबैभन्दा ठूलो कुरा, १९औँ शताब्दीको शुरूआती वर्षमा आएका परिवर्तनसँगै अमेरिकाको उत्पत्ति भएको देखिन्छ। त्यतिखेर जनसंख्या बढ्दै गर्दा र स्रोतसाधनको कमी हुँदै गर्दा प्रशस्त रूपमा जनसंख्याबारे चिन्ता देखिन्छ समाजमा। आखिर, अमेरिकामा मान्छेहरू जग्गाको खोजीमा पुगेका छन्। माल्थस भन्ने प्रसिद्ध अर्थशास्त्रीले जमिन र जनसंख्याको सम्बन्ध विश्वव्यापी हुन्छ, जनसंख्यामा ज्यामितीय फड्कोमा बढ्छ भने जग्गा जहाँको त्यहीँ रहन्छ भने।
त्यो समय, जतिखेर अमेरिका बनिरहेको थियो, श्रमको अवस्थामा पहिलेभन्दा परिवर्तन भइरहेको थियो हुन्छ। मान्छेहरू उद्योग र खेतीमा काम गर्न जान्थे। यसले जनसंख्या, सम्पत्तिको बनोट अथवा उत्पत्ति र श्रमले आइडिया अफ् प्रपर्टी (कसको सम्पत्ति भन्ने अवधारणा) बारे प्रशस्त बहस हुन थालेको थियो। एक ठाउँबाट अर्को ठाउँमा मानिसहरू सरेसँगै श्रम, उत्पादन र अर्थ राजनीतिका कारण शहरीकरण शुरू हुन थालेको थियो। सबैको परिणामस्वरूप प्रविधिको आविष्कार र निर्माण देखिन्छ। जसका कारण नयाँ किसिमका फ्याक्ट्री र उत्पादन प्रणालीहरू बन्न थाल्छन्।
अमेरिकाको विकास हेर्दा १८औँ शताब्दीको तनावका रूपमा १९औँ शताब्दीमा जनसंख्या, श्रमको स्थिति, सम्पत्तिको बहस, न्युयोर्क र सानफ्रान्सिस्कोजस्ता शहरहरूको निर्माण (सहरीकरण) महत्त्वपूर्ण छन्। त्यसपछि प्रविधिले खेलेको भूमिका उल्लेखनीय छ। १९औँ र २० औँ शताब्दीको अग्रणी प्रविधिको निर्माण (यद्यपि, बाष्प इन्जिन बेलायतमा विकास भएको हो) अमेरिका बन्यो।
फ्याक्ट्रीका मोडेलहरू अमेरिकामा बने। अन्ततः यसले आम विकास (डेभलेपमेन्ट अफ् मासेस) तर्फ लिएर जान्छ। सामान्य मान्छेहरूको संख्या ठूलो भएर जान्छ। न कुलीन वर्ग हुन्छ, न किसान वर्ग। सबै मिलेर एक किसिमको 'राइज अफ् मासेस' बन्छ। सामान्य मान्छेहरूको संख्या र उनीहरूको आकांक्षा र इच्छा बढेर जान्छ। अमेरिकामा पनि त्यही भइरहेको थियो।
लोकतन्त्र जब तलतल जान्छ, त्यसले आम मान्छेको आकांक्षालाई उर्लँदो रूपमा लिएर आउँछ। त्यसै कारण, तोकोभिललाई ‘यति ठूलो देश बन्दै छ, यसमा सहभागिता र राजनीतिक प्रणाली कसरी चल्छ’ भन्ने कुराले एकदमै आकर्षित गर्छ। उनी ९ महिनामा लेक अन्टारियोदेखि मिसिसिपी नदीको डुंगामा तलसम्म पुग्छन्। विभिन्न टाउनहल र मिटिङ हलहरूमा पुगेर कार्यक्रमहरूमा भाग लिन्छन्। कंग्रेसमेन र सिनेटरहरूलाई भेट्छन्। राजनीतिक प्रक्रियामा साथ दिने सवालमा समाज उत्तिकै जागरूक भएकोमा उनी अचम्ममा पर्छन्।
अहिले हामी नागरिक समाजबारे सुन्ने गर्छौं। युरोपमा नागरिक समाजको मान्यता एकातिर छ भने अमेरिकामा अर्को। त्यतिखेर अमेरिकामा चर्च र स्वयंसेवी समूहहरू आफैँ समाज निर्माण गर्दै थिए, किनभने राज्य धेरै पर थियो। राज्यको उति ठूलो उपस्थिति पनि थिएन। भर्खर संविधान बनेर राजनीतिक प्राधिकारहरूको अभ्यास हुन थालेको छ। न्यायिक अभ्यास पनि समुदायमै हुन्छ।
पोल्यान्डबाट कोही बसाइँ सरेर आएको छ भने उनीहरू सिकागोको उत्तरमा बस्छन् भने उनीहरूले आफ्नो चर्च र शिक्षा आफैँ व्यवस्था गर्छन्। यो एउटा उदाहरण हो। त्यसो हुँदा, अमेरिका थुप्रै समाजहरूबाट बनेको राज्य हो। धेरैले शुरूमा यसलाई धेरैले 'मेल्टिङ पट' भने। अमेरिकी समाजमा जुन किसिमको विविधता थियो, पछि त्यसमा राजनीतिक व्यवस्था लागू गर्दा भाषिक रूपमा एउटै हुनुपर्ने भयो। बीचमा त्यो बाध्यता थिएन।
अहिले फेरि, ट्रम्प आएर फेरि सञ्चारको लागि एउटै भाषा हुनुपर्छ भन्दै छन्।
टकोभिल त्यहाँ पुग्दा समाजको तल्लो तहबाट नयाँ समाज बनाउने कुरा हुँदै थियो, त्यस्तो व्यवस्था अराजक हुन्छ कि भन्दै केन्द्रीय प्राधिकार बनाउनेबारे चर्चा भइरहेको सन्दर्भ उक्काउँछन् उनी। अहिले फर्केर हेर्दा, अमेरिकामा केन्द्रीकृत र धेरैलाई पकड्न सक्ने एउटा प्राधिकार छैनजस्तो लाग्थ्यो हामीलाई। ट्रम्पको उदयपछि कताकता अमेरिकीहरूको अन्तकुन्तरको कुण्ठामा नियन्त्रणको भावना हामी देख्छौँ।
पुस्तकलाई राम्रोसँग हामीले पढ्यौँ भने अमेरिकन इतिहास र अहिलेबीच तुलना गर्न सक्छौँ। इतिहासलाई ऐनाका रूपमा हेर्न सक्छौँ। तर शतप्रतिशत विश्लेषण यसले गर्दैन।
अमेरिका नयाँ मुलुक बन्दै गर्दा तोकोभिललाई सबैभन्दा ठूलो चिन्ता यो देखिन्छ–स्वतन्त्रताको नाउँमा बनेको मुलुकले स्वतन्त्रतालाई 'स्याक्रिफाइस' नगरीकन कसरी सिर्जनात्मकता अघि बढाउला भन्नेबारे चर्चा गर्छ। किनभने सधैँ रहँदा बस्दा अनेकन् समाजबीच सन्तुलन ल्याउनुपर्ने हुन्छ।
अमेरिकाको प्रयोगचाहिँ संसारका लागि चाखलाग्दो छ। केन्द्रीकृत प्राधिकार (सेन्ट्रलाइज्ड अथरिटी) सँग स्वतन्त्रतालाई सन्तुलित गर्ने चुनौती हामीले देखिराखेका छौँ। तोकोभिलको यो पुस्तक पढ्दा यहाँहरूले पाउनुहुन्छ कि कुनै बेला सबैभन्दा ठूलो 'अर्गनाइजिङ कन्सेप्ट' इक्वलिटी अफ कन्डिसन थियो। अमेरिकामा सबै व्यक्ति/परिवार पहिलो भएर आएका थिए। मेरो यो नयाँ हो, मेरो यो पहिले हो भनेर दाबी गर्ने त्यहाँ कोही थिएन।
त्यहाँ भएका आदिवासीहरू पाखा लागिसकेपछि त्यहाँका सबै बासिन्दाहरू बाहिरबाट आएकाहरू नै हुने भए। त्यसो हुँदा इक्वलिटी अफ कन्डिसन (सबैको अवस्था बराबर) थियो। कहिलेकाहीँ अचम्म लाग्छ, एउटै पुस्तामा अन्डरग्रयाजुएट फेल भएको मान्छे अरबपति हुनसक्ने सम्भावना अमेरिकामा देखियो। र, कतिपय आजका अरबपतिले आफ्नो पैतृक सम्पत्ति लिएको पनि देखिँदैन। बिल गेट्स र मार्क जुकरबर्गका बाआमा अरबपति थिए भन्ने हामीलाई थाहा छैन। यहाँसम्मकी बाराक ओबामाले आफ्नो कुनै भाषणमा उल्लेख गरेअनुसार हरेक अन्डरग्राजुएटको अनुभवचाहिँ डाइनिङ हलमा भाँडा माझ्नु हुन्छ।
समान अवस्था, स्वास्थ्य र शिक्षामा पहुँच र सम्भावनाको खोजी थियो उतिखेर अमेरिकामा। यति हुँदाहुँदै पनि 'सेन्ट्रलाइज्ड टेन्डेन्सी अफ् ह्युमन बिइङ' अर्थात् मान्छे शक्ति केन्द्रीकृत हुन्छ भनेर हामीले बुझ्नुपर्छ। शक्ति कहिल्यै छरिएर रहँदैन। त्यो अधिक शक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले नै अमेरिकन संविधानले 'चेक्स एन्ड ब्यालेन्स' (परीक्षण र सन्तुलन) लिएर आयो। र, त्यसलाई व्यवस्थापन गर्ने प्रयास गर्यो।
तर टकोभिल यस पुस्तकमा समाजहरूको सञ्चालन कसरी सम्भव हुन्छ, राजनीतिक प्राधिकार कसरी उदाउँछ भन्नेबारे अमेरिकन समाजमा कताकता केओस् (अराजकता/अव्यवस्था) को डर छ भन्छन्। यसमा विशृंखलता र अराजकता आउँछ भनेर कताकता चिन्ता व्यक्त गर्छन्। उनले 'माइल्ड डेस्पोटिजम' (हल्का निरंकुशतावाद) भनेका छन् त्यसलाई। अव्यवस्थाका कारण नरम् खालको अधिनायकवाद देखिन सक्छ भनेका छन्।
त्यति बेला उनी संसारमा दुई प्रकारको शक्तिको उदय हुनेछ भन्छन्। अमेरिकाचाहिँ मुक्त संसार (फ्रि वर्ल्ड) को प्रतिकका रूपमा र त्यतिखेर सोभियत युनियन नबनिसकेको रसियाचाहिँ तानाशाही व्यवस्था/संकीर्णवादको रूपमा उदाउँछ भन्ने आकलन गरेका छन्। यी सबै कुरा नियाल्दा अमेरिकामा अहिले केन्द्रीकृत प्राधिकारको कामना भइराखेको ख्याल गरौँ।
डेमोक्रेसी नियमित भयो, यसले 'डेलिभर' गर्न थाल्यो। त्यसो भइसकेपछि कताकता 'अब त भयो' भन्ने खालका भावना जनसमुदायमा आउने हुँदा तोकोभिलले यात्राको आधारमा नरम निरंकुशताको सामान्य भविष्यवाणी गरेका छन्। उतिखेर समाजको आकाङ्क्षा व्यवस्थापन गर्न राज्य निर्माण गरिएको थियो। कन्फेडरेसनबाट फेडरेसनतर्फ लगिएको थियो। र, त्यो बिउ अझै पनि देखियो।
टकोभिल जाँदा अमेरिकामा दुई पार्टी प्रणाली भर्खर भर्खर उदाउँदो थियो। ज्याक्सन नामका राष्ट्रपतिले पछि दुई दलीय प्रणाली विकसित गरेका हुनाले त्यसलाई ज्याक्सोनियन डेमोक्रेसी पनि भनिन्छ। रिपब्लिकन र डेमोक्र्याट्स भनेर जुन विभाजन आयो, त्यसले अमेरिकाको बहुलतालाई समेट्न सक्छ कि सक्दैन भन्नेबारे तोकोभिलले पुस्तकमा चिन्ता गरेका छन्।
समानता र त्यसका नीतिबारे कुरा गर्दा स्वतन्त्रता र समानतालाई कसरी लिएर जाने? त्यसको परिणाम के होला? उदाहरणका लागि समानता समेट्न अमेरिकामा बहुलता र समावेशी अपनाइयो। त्यसले हाम्रो सिर्जनाशीलतालाई सीमित बनायो र खास वर्ग र समुदायलाई लक्षित गर्यो भन्दै छन् कतिपय मान्छे अमेरिकामा। तोकोभिलले त्यही बेला यो चिन्ता प्रकट गरेका थिए।
अर्कोचाहिँ शक्तिको केन्द्रीकरणको खतरा।
एउटा राष्ट्रपतिमा धेरै शक्ति भएपछि सारा कुराहरू भत्काउन सक्ने देखिएको छ। तोकोभिलले यस सन्दर्भलाई जोड्दै 'डेन्जर्स अफ् सेन्ट्राइलाइज्ड पावर' भन्ने च्याप्टर नै राखेका छन् पुस्तकमा।
राजनीतिक प्रतिनिधित्व गर्ने संस्थाहरू कंग्रेस, सिनेट र स्टेटहरूको तोकोभिलले तारिफ पनि गरेका छन्। भन्दाभन्दै, उनी आफैँ पुरानो संसार (ओल्ड अर्डर) बाट आएका हुनाले अमेरिकाको प्रणाली कसरी अगाडि बढ्छ भन्दै प्रश्न गरेका छन्। अति महत्त्वाकांक्षी नागरिकले समानताको नाममा पछि अमेरिका आउने समुदायलाई रोक्छ कि रोक्दैन भन्दै 'गेटकिपिङ'को कुरा पनि पुस्तकमा उठाएका छन्।
अमेरिका अहिले विश्वको सबैभन्दा ठूलो शक्ति हो। त्यसको प्रभाव हामी सबैले देखिराखेका छौँ। त्यही बेला नै उनले भविष्यमा उदय हुने शक्तिहरूबारे चर्चा गरेका छन्।
यसले के देखाउँछ भने शक्तिहरू आउँछन् र जान्छन्। तर तिनको प्रभाव कसरी हामीमा पर्छ भन्नेबारे जान्न पनि आवश्यक छ। लेखकले बुँदागत रूपमा भविष्यमा रसिया र अमेरिकाबीचको तनाव हुने बताएका छन्, जबकि त्यतिखेरसम्म रसियन क्रान्ति र शीतयुद्ध भएकै थिएन।
अर्को रमाइलो कुरा, अमेरिका भन्नेबित्तिकै हामी शिक्षा र प्रविधिको ठाउँ भनेर बुझ्छौँ। उनी 'लोकतन्त्रमा मूल्य हुने किसिमको शिक्षा अमेरिकामा आइरहेको' बताउँछन्। त्यसले व्यक्तिलाई प्रतिस्पर्धी बनाउने र बजारमा स्थापित गर्ने बताउँछन्। शुरूमा मैले १९औँ शताब्दीको जुन प्रविधिको कुरा गरेँ, त्यसले मान्छेलाई सक्षम बनाउँछ। तर सही रूपमा ती मानिसलाई प्रविधि र शिक्षाले इन्ट्रिन्सिक भ्याल्यु (दयामाया र करुणा भएको) भएको र मानवतामुखी बनाउँछ कि या बजार या राजनीतिक प्रक्रियाका लागि तयार गर्छ भन्ने प्रश्न पनि उठ्छ।
त्यही भएर कताकता अहिले लोकतन्त्रको अभ्यासको सन्दर्भमा एउटा बहस चलेको छ कि अमेरिकन शिक्षाले उच्च चेतना र संवेदना भएका मान्छे नबनाएर मध्यम स्तरका मान्छे बनायो।
अहिले प्रविधिका मान्छेहरू हाबी भइराखेका छन्। सबै कुरा एआईमार्फत सम्भव हुँदैछ भनिँदै छ। इलन मस्कको 'एटिच्युड' हेर्नुस्। जेफ बेजोजले लिबर्टी र फ्रि इन्टरप्राइजेजको कुरा गर्दा व्यक्तिगत स्वतन्त्र हो या सामूहिक हो स्पष्ट पार्न सकेका छैनन्।
प्रविधिले कुनै कुरो प्राप्त गर्न सहज बनाउँदो रहेछ। तर समानता, सहिष्णुता, समानुभूति (इम्पथी) लिएर नआउने शिक्षाले के गर्छ?
तोकोभिलले त्यही भन्छन्–शिक्षाले कताकता मिडियोक्रेसी (मध्यम/औसत स्तरको शासन) ल्यायो कि? युरोपियन चिन्तनबाट आएका हुनाले उनले दर्शन र शिक्षासहितको कम्प्लिट ह्युमन (पूर्ण मान्छे) बनाउनेबारे सोचेका होलान्।
अहिले प्रविधिको पहुँच व्यापक हुँदै गरेको हामी देख्छौँ। अहिले इफिसियन्सी (सहजता) को नाममा जे भइराखेको छ, त्यही इफिसियन्सी नै 'मिडियोकर' हो कि? तोकोभिलले प्रश्न गर्ने ठाउँ दिन्छन्।
२०० वर्षपछि तोकोभिलको पुस्तकको आजको आधुनिक व्याख्या के हुनसक्छ? स्वार्थको पुनरुत्पत्ति, स्वतन्त्रता बनाम समानतालगायत विषदेखि राजनीतिक दर्शन र समाजशास्त्रको इन्टरसेक्सनमा रहेर हेर्न पनि पुस्तकले मद्दत गर्छ। राजनीतिक दर्शन र समाज कसरी अघि बढ्छ भन्नेबारे केही बताउन सक्छ।
तोकोभिलले अमेरिका, फ्रान्स र बेलायतको तुलनात्मक अध्ययन गरेका छन्। समाजशास्त्रको दृष्टिकोणबाट यो पुस्तक राम्रो तुलनात्मक अध्ययन हो। तुलना ठाउँ विशेषको पनि हुनसक्छ र समय विशेषको पनि। तोकोभिलको अमेरिका र अहिलेको अमेरिकासँगै त्यो बेला लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र मुक्तिको खोजी गरिरहेका अरू औपनिवेशिक मुलुकहरूलाई पनि हामी यस पुस्तकमार्फत नियाल्न सक्छौँ।
यसो गर्दा, डेमोक्रेसी इन् अमेरिकालाई 'फाउन्डिङ टेक्स्ट'का रूपमा लिन सकिन्छ।
(उकालोका लागि गरिएको 'किताब चर्चा'बाट उद्धृत।)
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
