सांसदको सपथपछि मात्रै माओवादीले दलको नेता चयन गर्ने

सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने माओवादी सांसद माधव सापकोटाले बताएका छन्।

काठमाडौँ– माओवादी केन्द्रले सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ।

नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने माओवादी सांसद माधव सापकोटाले जानकारी दिए। माओवादी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै चयन हुनेसमेत उनले दाबी गरे।

“दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो”, उनले भने, “संसदीय दलको नेता प्रचण्ड नै हो।” संसद् सचिवालयले पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ। प्रतिनिधिसभामा माओवादीबाट १८ प्रत्यक्ष र १४ समानुपातिक गरी ३२ जना सांसद छन्।

हालै बसेको माओवादी केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँने निर्णय गरेको थियो।