कास्की र पर्वत जोड्ने भुरुङ्दीखोला मोटरेबल पुल ९ वर्षदेखि अलपत्र

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ मंसिरमा निर्माण थालिएको पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको स्थानीयको भनाइ छ।

पर्वत– कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ। सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मंसिरमा निर्माण थालिएको उक्त पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको हो।

पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन। खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन। ६ करोड १३ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। अहिलेसम्म १ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएको छ। उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको थियो। 

सडक डिभिजन कार्यालय बागलुङले ठेक्का सम्झौता गरेको पुलको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ। निर्माण कार्य थाल्न स्थानीयले पटक–पटक दबाब दिँदै आएका छन्। तर पुल निर्माणले गति लिएको छैन। 

“धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम शुरू गरेको छ, तैपनि सम्पन्न हुने/नहुनेमा आशंका छ,” स्थानीय राजेन्द्र खड्काले भने। 

पक्की पुल निर्माण नहुँदा स्थानीय हैरानी बेहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताइन्। स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटक–पटक अटेर गरेकाले यस्तो समस्या भएको उनको भनाइ छ।