‘गोर्खा ट्रेल ब्लेजर’को उपाधि सुरज लिम्बू र पुष्पा सेर्मालाई

तेस्रो ‘गोर्खा ट्रेल ब्लेजर’ १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्पा सेर्माले जितेका छन्।

सुनसरी– तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्पा सेर्माले जितेका छन्। गोर्खा सिमेस्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिका–१८ को संयोजन र धरान उपमहानगरपालिकाको सहयोग रहेको थियो।

उपाधि विजेता सुरज लिम्बूले ३४ मिनेट ४५ सेकेन्ड र पुष्पा सेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पूरा गरे। विजेता दुवै जनालाई नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो। विजेता दुवै जनाले सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए।

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिताअन्तर्गत धरान–१८ स्थित रत्न चोकबाट शुरू भएको दौड मंगलबारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्क पुगेर समापन भएको थियो। प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटालगायत जिल्लाबाट ४०० बढीको सहभागिता रहेको अध्यक्ष राईले बताए।

प्रतियोगिताका अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्वब्रिटिस गोर्खा सैनिक दलबहादुर राई र धरान १८ रत्नचौक निवासी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।