यस किताबमा प्रयुक्त ‘लाटी’ नितान्त पिरतीको लाटी हो, जो एकदमै पियारी र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा यहाँ लाटीको प्रयोग भएको छ।
कवि पल्लविबले छोटोछरितो कविता किताप ‘लाटी’ लिएर आएका छन्। नेपाली बृहत् शब्दकोशले बोल्न नसक्ने, शब्द उच्चारण गर्न नसक्ने र मूर्ख आदि भनेको छ। शब्दकोशकै यो परिभाषा पनि आजको युग सुहाउँदो होइन। बोल्न नसक्ने या कुनै शारीरिक बौद्धिक समस्या भएको व्यक्तिलाई लाटो या लाटी भनेर सार्वजनिक जीवनमा कसैलाई भन्न पाइँदैन, उचित होइन। काव्यशास्त्रअनुसार वैदर्भी र पाञ्चाली रीतिका बिचको एक रीति पनि हो लाटी।
तर यस किताबमा प्रयुक्त ‘लाटी’ भने नितान्त पिरतीको ‘लाटी’ हो, जो एकदमै पियारी छ र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा लाटीमा शब्दको प्रयोग भएको छ। भारतको व्यावसायिक प्रकाशन 'बुकान्ट'ले कविलाई रोयल्टी दिएर प्रकाशित गरेको पहिलो कवितासंग्रह लाटी, पल्लविबको पहिलो कृति हो। कविताको पहिलो रियालिटी शो– द पोयट आइडलबाट धेरै अघि छाइसकेका पुरानै कवि हुन् उनी। उनका पाठक-स्रोताभन्दा दर्शकदीर्घा दह्रा छन्। साहित्य यति बेला सञ्जालमा फुक्काफाल छ।
कविता यति बेला पढिनेभन्दा हेरिने स्वादमा दरिएको छ। कमेन्टमा समेत कविता भेटिन्छन् अचेल। कविता लेखनमा चुनौतीका चाकाचुली धेरै थपिएका छन्। कविताका एक मात्र नभएर अनेक 'फर्म'हरू छन्। कवितालाई मञ्चनमा न्यानो स्वागत गरिएको समय हो यो। कविताको नयाँ फर्मलाई पल्लविबलगायत पुस्ताले पर्फमेन्स गरिरहेका छन्, जसले कविलाई पनि सेलिब्रेटी बन्ने अवसर प्रदान गरेको छ। यसको प्रभाव दार्जिलिङमा पनि जोडदारले परेको छ।
दार्जिलिङे साहित्यले अहिले आख्यानको ध्यान गरिरहेको छ। जुन 'ध्यानोपलब्धि'को एउटा सफल उदाहरण हुन् छुदेन काविमो। कविताको प्लेटफर्ममा भने पल्लविबले पावरफुल एन्ट्री मारेका छन्। पल्लविबका कविता यति बेला फेसबुकबाट टेक्स्टबुकमा आएका छन्। कविता जिरिखिम्टिँदै गएको दीर्घ दिनको दार्जिलिङे सिर्जनात्मक प्रसूति ज्वर बिसेक भएको पाठक अनुभूति पल्लविबको पिरतीमय प्रवेशले दिलाएको छ। लाटीले काव्यिक लहरलाई लयदार बनाएको छ। फेरि एकचोटि काव्यवाटिका नयाँ वासनासित फले-फुलेको महसुस भएको छ। जुन महसुस मगमगिएको एउटा हरफबाट थाहा लाग्छ:
जम्मै जम्मै ताराहरूलाई
हीराको शिरबन्दी दिएको छु
तेरो आँखामा नबिझोस्
तिनीहरूको उजेली
मैले सिसाको आकाश किनेको छु
ओइ लाटी,
मैले नि
ब्रह्माण्डमा लाखौँको लगानी गरेको छु।
लाटीलाई माया र मायालुको प्रतीक बनाएर विम्बको विराटता सुझाउने 'बाठा' कवि हुन् पल्लविब। वास्तवमा प्रेम अमूर्त कुरा हो। यद्यपि मानिस त्यसलाई मूर्त बनाउन चाहन्छ। यो पिरती कविता पल्लविबको मुलायम मूर्तता र प्रेम पेन्डोरा हो। उनको लाटी कविता शान्त छ, तर चुपचाप छैन। पल्लविबको पिरती कवितामा पिर पनि प्रेममा परेको छ। प्रेम नै हो भने त्यो कहिल्यै बदलिँदैन, बरु प्रेम गर्नेहरू बद्लिन्छन्। तर यहाँ न पल्लविब बद्लिएका छन् न त उनको लाटी नै। दुवैले प्रेम नै गरिरहेका छन्, छुटेर होस् वा भेटेर।
लाटीसितको प्रेममा उनी फुइँ लाउँदैनन्, मात्र फिलमा हुन्छन्। उनी प्रेममा 'स्याडिस्ट' नभई जहिल्यै 'स्याटिस्' भेटिन्छन्। प्रेमप्रतिको कलात्मक क्यारेक्टर हो यो उनको। १७ औँ शताब्दीका दार्शनिक बरुख स्पिनोजा भन्छन्- 'प्रेम शक्तिको परम स्रोत हो।' पल्लविबको हकमा पनि शक्तिको स्रोत उही लाटी हुन्। यी प्रेम कविता पढिरहँदा लाग्छ कि उनले विचारले प्रेम गरेनन्। प्रेममा विचार पनि गरेनन्। यसै गरे त्यसै परे। जे गरे उनले बेसै गरे, बेस्सरी नै गरे। इन्द्रबहादुर राई भन्थे-प्रेम जम्मै भावहरूको माऊ हो।
सधैँ मुस्कुराइहने स्वभावमा रहिरहने पल्लविबसित मायाको माऊ छ, जो मलिलो र थोरै कलिलो छ। प्रेम भएपछि अनन्त हुन्छ रे। बिच बिचमा जे जसो भए पनि अन्ततः लाटी यही अनन्तको अनन्तता हो।
प्रतिभा, व्युत्पत्ति अनि अभ्यासको त्रिकोणात्मक सहसम्बन्धको शक्तिमा पल्लविब समान्तर रूपमा सशक्त देखिएका छन्। उनमा भावावेगको प्रगाढता पाइन्छ। समाजपरक साझा मूल्यमान्यताभन्दा उनका कवितामा सचेतनासहित अनन्त संवेदनाको प्रस्फुटन अधिक भेटिन्छ। पल्लविबका भावाव्यक्ति सामूहिक भावभन्दा वैयक्तिक कुण्ठा-कोठातिर नै कैद बनेका देखिन्छन्। कवितादेखि ठूलो जमात तर्किँदै-झर्किँदै गएको अवस्थामा पल्लविबद्वारा पल्लवित पंक्तिमा गेयात्मकता ज्यादा छन्। मन छुने मखमल भाव भूमिभित्रको नोस्टालजियामा छन् कवि। आफूलाई सधैँ भुईंमान्छे भन्न रुचाउने उनका कविता भुईं तहबाट उठेको बह हो।
इलिफ सफाक भन्छन्, 'बहावसँगै नबग। आफैँ बहाव बन।' प्रवाहसँगै नगई यो आफै बग्छ, लाटीको ग्लो यही हो। पल्लविबको कवितामा चित्रात्मक गहिराइ भेटिन्छ। पल्लविबको काव्यात्मक वैशिष्ट्य नै हो यो। सरल, सुललीत र सुगठित शब्द संयोजनमा उद्वेलित हृदय उद्गार हुन् यी कविता। पल्लविब सरलतालाई यसरी लिएर जान्छन्, जसरी जलपूर्ण नदी बग्छ। काव्यात्मक तीक्ष्णताका साथ भाषा र भावको समायोजन मिलाउने खप्पिस कवि हुन् उनी।
लाटीमाथि उनले पिरतीको उपार्जनद्वारा कविताको लगानी गरेका छन्। उनका प्रत्येक कवितामा मायाप्रतिको नयाँपन कहिल्यै पुरानो हुँदैन। पल्लविबको यो काव्यिक प्रेमोपहारले जोन किट्सको ‘अ थिङ अफ ब्युटी’ कविताको पहिलो पंक्ति स्मरण हुन्छ, ‘सौन्दर्यको कुरा सदासर्वदा खुशीको कारण हुन्छ। यसको सुन्दरता बढेको बढ्यै गर्छ, कहिल्यै नष्ट हुँदैन।’
कवि पल्लविब लाटीसित, ‘सिच्वेसनसिप’मा होइन रिलेसनसिपमा छन्। जोसित केही आशा छ त केही बाचा पनि। पल्लविबको पर्सनालिटी लाटीमा लपक्कै उजेलिएको छ। कौतुकमय भाषा कौशलमा कविताले ठट्टा-रमाइलो खालका पुट पनि भरेका छन्। चुप्पा, पिर्थिबी, सपक्क, सिनित्त, गोक्तेजस्ता लोपोन्मुख झर्रा शब्द प्रचुर मात्रामा प्रयोग भएको छ भने उनका प्राय: कविता संवाद–शैलीमा छन्। क्यारिसम्याटिक कवि पल्लविबका कवितामा सिनेम्याटिक विचार पाइन्छ। यस कवितासंग्रहमा कवि जीवनका कठोरतालाई कोमलताले कोट्याउँदै लान्छन् र मनोवेदना सुनाउँछन्। कवि तिखा अनि टेसिला-तेजिला भेटिन्छन्। कवि पल्लविब देखिनुमा जति छुकछुके छन्, त्यति नै नभए पनि कवितामा छुटपुट मात्रामा हतारिएका भेटिन्छन्।
कविताको आन्तरिक संरचना विधानमा अझ ध्यान दिन सकेको भए रचनागत रसायन अझ मजबुत हुने थियो। ५४ वटा कविताको सँगालो लाटीको रसास्वादनमा एकरसता अनुभूत हुन्छ। साधनाको विशेषता क्रम राखे पल्लविबमा थप परिपक्वता आउन सक्छ, जो नित्य अभ्यासमा निर्भर गर्छ। आवरणमा रोहिनी गुरुङले लाटीको चुल्ठोमा गुराँस सिउरिएर लाछा लगाउँदै कोरीबाटी गरेकी छन्, जुन प्रशंसनीय छ। प्रेम कविताको पाठ्यक्रममा पल्लविबको लाटी संग्रह प्रेमिललाई सन्दर्भस्रोत बन्न पुगेको छ।
प्रेमी र प्रेमिकाबीचको प्रेम मात्रै के प्रेम? पल्लविबको पिरती कविता पनि गोक्ते र लाटीको मात्र होइन। डाँडाकाँडा, पाखा-पर्वत, गुराँस गुलाब, शिरीष, पारिजात, मकैबारी, झरी-बतास, बगर, जून-तारा आदि-इत्यादिसहितको पुष्ट प्रफुल्ल प्रेम हो। पल्लविबका छोटा कविता ढिलो–ढिलो पढ्दा पनि छिटो सकिन्छ। कवितासङ्ग्रह कथा भएर कविता बनेको छ भने कतै कविता भएर कथा बनेझैँ लाग्छ।
कवितामा सौन्दर्यचेत उनकै ठेट लोकलवज र गाउँ भेगबाट नै सिर्जित पाइन्छ। उनको प्रेमप्रतिको दृष्टिकोणको क्षेत्र बिलकुलै पृथक् छ। प्रेमी पल्लविब आफ्नी प्रेमीकालाई लाटी भन्छन् भने आफूलाई लाटोको साटो 'गोक्ते' भन्न रुचाउँछन्। प्रेमप्रसंगमा गोक्ते र लाटी ग्रिक मिथकको ‘कुपिड’ र ‘साइकी’जस्तै लाग्छन्। कवितामा गोक्ते र लाटीको जीवनमा बलियो गरेर बसेको दर्शनको जग नै मायाले संसार थाम्दैन भन्ने होइन, थाम्छ भन्ने हो। लोकनिर्मित प्रचलित धारणाको विनिर्माण पनि हो यो दर्शन, जसमा कविको बलशाली विश्वास अडेको छ भने विचार गडेको छ। पल्लविबको मुख्य शक्ति भनेको 'एस्थिटिक कल्चरलिजम्'को उल्ट्याइ हो। जिन्दगीमा जिन्दाबाद राजनीतिमा मात्र हुँदैन, पिरतीमा पनि हुन्छ। त्यसैले पल्लविब आफ्ना पिरती कविताको यो भवसागरमा सार स्वरूप सुनाउँछन्, ‘पिरती जिन्दाबाद।’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
